NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

स्थानीय तहको चरम लुट : ३० रुपैयाँ पर्ने लाइफबोय साबुनको ३८ सयको बिल

जनताका लागि महामारी बनेको कोभिड केही जनप्रतिनिधिका लागि भने कसरी मौका बनिरहेको छ, एउटा अर्को उदाहरण सप्तरीको बोदेबरसाइन नगरपालिकाले प्रस्तुत गरेको छ । यो नगरपालिकाले ३० रुपैयाँ पर्ने लाइफबोय साबुनलाई तीन हजार तिरेको विवरण तयार पारेको छ । त्यस्तै, क्वारेन्टिन व्यवस्थापनका नाममा किनिएका दर्जनौँ सामग्रीमा ढुकुटीबाट लुट मच्चाइएको छ ।  कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरूले गरेको खर्च सार्वजनिक गर्न केन्द्रबाट ताकेता भएपछि बोदेबरसाइन नगरपालिकाले बुधबार खर्च सार्वजनिक गरेको थियो । नगरपालिकाले कुल दुई करोड २१ लाख रुपैयाँको विवरण सार्वजनिक गरेको थियो । जसमा एउटा लाइफबोय साबुनको तीन हजार आठ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो । २२ चैतमा ९५ पिस साबुनमा नगरपालिकाले तीन लाख ६३ हजार नौ सय ८५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको थियो ।  यो विषयमा प्रश्न उठेपछि बोदेबरसाइन नगरपालिकाका नगरप्रमुख आतेशकुमार सिंह यादवले प्रस्टीकरण दिँदै भनेका छन्, ‘९५ थान होइन, ९५ कार्टुन साबुनको विवरण हो, यो प्रिन्ट मिस्टेक भएछ ।’  एक कार्र्टुनमा एक सय ४४ थान साबुन हुन्छन्, नगरपालिकाले ९५ कार्टुन साबुन किनेको हो भने एक थान साबुनको २६ रुपैयाँ तिरेको ठहर्छ । तर, नगरपालिकाले २६ चैतमा फेरि १० कार्टुन (१,४४० थान) साबुन किन्दा चार लाख ३१ हजार नौ सय ५५ रुपैयाँ भुक्तान गरेको विवरण प्रस्तुत गरेको छ । यो हिसाबले नगरपालिकाले एक थान साबुनमा दुई सय ९९ रुपैयाँ भुक्तान गरेको विवरण तयार पारेको छ ।  नगरपालिकाले ३१ चैतमा ६ हजार नौ सय १२ थान साबुन खरिद गर्दा दुई लाख ३८ हजार ६ रुपैयाँको बिल बनाएको छ । यो हिसाबले भने एक थान साबुनको २९ रुपैयाँ परेको छ ।  यसरी गोलमाल हिसाब बनाएर बोदेबरसाइन नगरपालिकाले कोरोना महामारी नियन्त्रणका नाममा दुई करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पन्जालगायतका सामग्री खरिदमा हिसाब गोलमाल पारिएको छ । नगरपालिकाले २८ वैशाखामा ७५ पिस पिपिई गाउन (सिम्पल) किनेको छ, जसको मूल्य २७ लाख ५२ हजार पाँच सय राखिएको छ । यस हिसाबले एक सेट पिपिईको मूल्य ३६ हजार सात सय रुपैयाँ परेको छ, जुन बजार मूल्यभन्दा १० गुणा महँगो हो । त्यस्तै, एक पिस सर्जिकल मास्कको मूल्य झन्डै ८० रुपैयाँ छ भने पन्जाको मूल्य सात सय राखिएको छ । त्यस्तै, १५ थान सिरानीको खोलका लागि २२ हजार पाँच सयको विवरण बनाइएको छ । यो हिसाबले सिरानीको एउटा खोलको मूल्य १५ सय रुपैयाँ परेको छ ।  नगरपालिकाको लेखा शाखाले बनाएको यो विवरणमा प्रशासकीय अधिकृतले छाप र हस्ताक्षरसहित प्रमाणित गरेका छन् । तर, विवरणमाथि नागरिक समाजले प्रश्न उठाएपछि नगरपालिकाले थानलाई कार्टुन भनेर संशोधन गरेको छ । यसरी कोरोना महामारी नियन्त्रणमा दुई करोड २१ लाख खर्च भएको भनेर बुधबार विवरण प्रस्तुत गरेको नगरपालिकाले २४ घन्टापछि सबै सामानको मूल्य घटाएर कुल एक करोड २७ लाख २९ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ । यसरी नागरिक खबरदारीले एउटा नगरपालिकाको ९४ लाख रुपैयाँ जोगिएको छ । तर, संशोधित हिसाबमा पनि चियापानीमा मात्र १४ लाख ५१ हजार रुपैयाँ खर्च भएको विवरण छ । त्यसैले अख्तियारप्राप्त निकायले छानबिन गरेमा भ्रष्टाचार पूरै उदांगो हुने स्थानीय अगुवाहरूको भनाइ छ ।  बोदेबरसाइन नगरपालिकाका नगरप्रमुख आतेशकुमार सिंह यादवले नगरपालिकाको लेखा अधिकृतको बुबालाई कोरोना लागेपछि बिदामा गएको र नयाँ कर्मचारीले हिसाब निकाल्दा त्रुटि भएको दाबी गरे । ‘हामी बैंक स्टेटमेन्ट देखाउन पनि तयार छौँ, खुद्रामा ३५ रुपैयाँ पर्ने साबुन हामीले २८ देखि ३० रुपैयाँको बीचमा खरिद गरेका छौँ,’ उनले भने, ‘कोरोनाको खर्च तत्काल सार्वजनिक गर्न दबाब आएको र नयाँ कर्मचारीले काम गर्दा प्रिन्ट मिस्टेक भएको हो ।’  तर, विरोध भएपछि नगरपालिकाले एउटा मात्र होइन, दर्जनौँ सामानको मूल्य संशोधन गरेको छ । २६ चैतमा लाइफबोय साबुन १४४० पिस खरिद गर्दा चार लाख ३१ हजार नौ सय ५५ खर्च देखाएको थियो । अब भने सच्याएर ३८ हजार दुई सय ३० रुपैयाँ मात्र देखाएको छ । त्यस्तै, २१ चैतमा सगरमाथा ट्रेडर्स राजविराजबाट दुई लाख सात हजारमा ६ हजार आठ सय १२ पिस साबुन खरिद गरिएको भनिएको थियो । अब भने यो खरिदमा एक लाख ८३ हजार आठ सय ५९ रुपैयाँ खर्च देखाइएको छ । सिरानीको एउटा खोलको २८ सय, तन्नाको आठ हजार रुपैयाँको अनुसन्धान गर्दै अख्तियार यसअघि गत साउन अन्तिम साता सिराहा नगरपालिकाले तीन लाख १९ हजार दुई सय ७५ रुपैयाँमा एक सय ११ थान तकियाको खोल खरिद गरेको विवरण जिल्ला कोभिड नियन्त्रण समितिलाई बुझाएको थियो ।  विवरणअनुसार एउटा तकियाको खोल २८ सय ७६ रुपैयाँ परेको थियो । त्यस्तै, पाँच सय ५८ थान तन्ना खरिद गर्दा ४५ लाख तीन हजार सात सय ७५ रुपैयाँ खर्च भएको विवरण नगरपालिकाको छ । यसरी एउटा तन्नाको आठ हजार ७१ रुपैयाँ पर्छ । नयाँ पत्रिकामा खबर छ ।