NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

लकडाउन खुलेपछि एक महिनामै १२२ पर्यटकले हिमाल चढे

काठमाडौं । लकडाउन खुलेपछिको एक महिनामै एक सय २२ जनाले हिमाल आरोहण गरेका छन् । लकडाउनपछि पहिलोपटक गत १ कात्तिकदेखि पर्वतारोहण र पदयात्रा खुला गरिएको थियो । पर्यटन विभागका अनुसार हिमाल आरोहण गर्नेमा ५७ विदेशी र १० स्वदेशी छन् । त्यस्तै, नेपाल पर्वतारोहण संघकोे तथ्यांक अनुसार ४० जना विदेशी र १५ जना नेपालीले हिमाल आरोहण गरेका छन् । संघले ६ हजार पाँच सय मिटरसम्मका २७ वटा हिमालको आरोहण अनुमति दिन्छ भने अन्य हिमालको अनुमति विभागले दिन्छ । संघका अनुसार चालू शरद्कालीन सिजनमा लोबुचे हिमालमा पर्यटकको सबैभन्दा बढी आकर्षण देखिन्छ । ६ हजार एक सय १९ मिटर उचाइको यो हिमालमा ३५ जना स्वदेशी तथा विदेशी पर्यटकले आरोहण अनुमति लिएको संघको तथ्यांक छ । त्यस्तै, अमादब्लम हिमाल आरोहणको अनुमति लिनेको संख्या २० रहेको विभाग बताउँछ । यो हिमालको उचाइ ६ हजार आठ सय १२ मिटर छ । मनास्लु हिमाल पनि पर्यटकको रोजाइमा परेको विभागको तथ्यांकले देखाउँछ । हालसम्म १८ जनाले यो हिमाल आरोहण गरेका छन् । विभागको तथ्यांकअनुसार हिमाल आरोहणमा जाने स्वदेशी तथा विदेशीबाट हालसम्म ३३ लाख सात हजार ४ सय ८३ नेपाली रुपैयाँ रोयल्टी संकलन भएको छ । गत वर्ष यही सिजनमा संघबाट मात्रै हिमाल आरोहण अनुमति लिनेको संख्या ९ सय ९१ थियो । कोरोना महामारीका कारण पर्यटक आगमन घटेपछि आरोहण गर्नेहरू पनि कम भएका हुन् ।