NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

स्वस्थ हुँदै विश्वकर्मा, अर्को हप्ता डिस्चार्जको तयारी

काठमाडौं । कोरोना संक्रमणबाट स्वास्थ्य अवस्था जटिल बनेपछि ग्रान्डी अस्पतालमा उपचाररतः कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माको स्वास्थ्यमा राम्रो सुधार आएको छ । स्वास्थ्यमा सुधार आएपछि विश्वकर्मालाई एक दुई दिनमा ननकोभिड वार्डमा सारेर केही दिनपछि डिस्चार्ज गर्ने तयारी रहेको उनकी छोरी सरुमाले जानकारी दिइन् । ‘बाबाको स्वास्थ्यमा राम्रो सुधार भएको छ । सुधार आए पनि आइसियुमा हुनुहुन्छ । तर, उहाँ कोभिडबाट मुक्त भइसक्नुभएको छ’ उनले भनिन, ‘अब केही दिनमैं ननकोभिड वार्डमा सारेर केही दिन अब्जरवेसनमा राखेर डिस्चार्ज गर्ने जानकारी पाएका छौं ।’ कोभिडबाट मुक्त भए पनि विश्वकर्मालाई अक्सिजन भने नियमित दिनुपरेको छ । अस्पतालबाट डिस्चार्ज भए पनि एक दुई महिना अक्सिजन नै दिएर राख्नुपर्ने परिवारको भनाई छ । स्वास्थ्यमा सुधार आएपछि विश्वकर्मा घरबाटै लगिएको खाना खान थालेका छन् । विश्वकर्मालाई १ कात्तिकमा कोरोना पुष्टि भएको थियो । त्यसपछि ८ दिनसम्म उनी होम आइसोलेसनमा नै बसेका थिए । ९ कात्तिकमा वीर अस्पतालमा भर्ना भएर तीन दिन बसे पनि स्वास्थ्यमा सुधार नभएपछि उपचारका लागि विश्वकर्मालाई ग्रान्डी अस्पताल लगिएको थियो । १५ कात्तिकदेखि एक हप्ता भेन्टिलेटरमा राखेर निकालिएपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै आएको थियो । पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने निर्णय केही दिन अघि गरेको थियो ।