ट्राफिक जरिवाना अब अनलाइनबाटै तिर्न सकिने

काठमाडौँ । सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम अब अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो । महाशाखा प्रमुखबाट हालै प्रहरी प्रधान कार्यालय सरुवा भएका एसएसपी भीम ढकालले सोमबार आयोजित पत्रकार सम्मेलनमा ७ महिना अघिबाटै सफ्टवेयर निर्माण गर्न सुरु गरिएको र केही साताभित्र यसलाई प्रयोगमा ल्याउन लागिएको बताए । उनले आफ्नो स्थानमा सरुवा भएर आएका एसएसपी जनक भट्टराईलाई जिम्मेवारी हस्तान्तरण गर्दै प्रविधिको विकासबाट सवारी व्यवस्थापन गर्दा थप प्रभावकारी र कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए । सफ्टवेयरको नाम टीभीआरएस (ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम) राखिएको छ । यो प्रविधिलाई तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समाबेस गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुने छ । ‘जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू हुन लागेको छ, ७ महिना अघिबाट सुरु भएको सफ्टवेयर प्रयोगमा आएपछि चालक ट्राफिक प्रहरी कार्यालयमै जानु पर्दैन ।’ यसअघि सवारी र सवारी कागजातपत्र हराएमा अनलाइनबाटै उजुरी दिन सकिने व्यवस्था लागू भइसकेको छ । यो प्रविधिको विकास भएसँगै दैनिक सरदर ४ सय जनाले अनलाइनबाटै सिफारिस लिन थालेका छन् । यसअघि लाइनमा बसेर दिनमा डेढ सयले सिफारिस लिन्थे । अनलाइनबाट कागजात र सवारी हराएको सिफारिस पत्र मात्रै ३ हजार बढीले लिएका छन् । छिट्टै बिमा दाबी सम्बन्धी कागजपत्र सिफारिस पनि अनलाइनबाटै दिने गरी प्रविधिको प्रयोग गर्न लागिएको महाशाखाले जनाएको छ । कान्तिपुरमा खबर छ ।
ताजा अपडेट
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
-
रविको पद प्राप्ति र समाप्तिमा दोषी को ?
-
चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा
प्रतिक्रिया