NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आजका ‘गुड न्युज’ : बढ्यो निर्यात, आयात घट्यो

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट विभिन्न खाले समाचारहरू संप्रेषित भए । त्यसमा नकारात्मक समाचारको बाहुल्य थियो । नकारात्मक समाचारकाबीच केही सकारात्मक समाचारहरू पनि सञ्चारमाध्यमबाट संप्रेसित भए ।नेपालवाचले नियमित रुपमा दिनभर सञ्चारमाध्यमबाट संप्रेषित सकारात्मक समाचारको सूची तयार गरेर प्रकाशित गर्दै आएको छ । आज दिनभरका सकारात्मक समाचारहरू : बढ्यो निर्यात, आयात घट्यो लकडाउन खुकुलो भएसँगै यसको प्रभाव वैदेशिक व्यापारमा देखिन थालेको छ । कोरोना संक्रमणकाबीच पनि नेपालको निर्यात सकारात्मक देखिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांकअनुसार पछिल्लो चार महिनामा निर्यात १० प्रतिशतले बढेको छ । त्यही अवधिमा आयात भने १० प्रतिशतले घटेको छ । विभागको तथ्यांकअनुसार पछिल्लो चार महिनामा ४० अर्ब २० करोड मूल्य बराबरको वस्तु विदेश निर्यात भएको छ । त्यस्तै, सोही अवधिमा चार खर्ब दुई अर्बको विदेशी वस्तुको आयात भएको छ । पाँचथरको फालोटमा सशस्त्रको बीओपी स्थापना पाँचथरको फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बीओपीको उद्घाटन गरेका हुन् । सरकारले एकैसाथ धेरै स्थानमा बीओपी स्थापना गरी सीमा क्षेत्रलाई सुरक्षित पार्ने प्रयास थालेको उनले बताए । ६५ अंकले बढ्यो नेप्से नेप्से परिसूचक बुधबार झन्डै ६५ अंकले बढेको छ । बुधवार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा रोकिएको छ । आज दिनभर १ सय ९३ कम्पनीको ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको १ करोड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्से परिसूचक दिनदिनै बढ्न थालेपछि लगानीकर्ताले लगानी बढाएका छन् । नागढुंगा–कलंकी सडकखण्डमा सिसीटिभी क्यामेरा जडान चन्द्रागिरी नगरपालिकाले नागढुंगा–कलंकी सडकखण्डमा अत्याधुनिक प्रविधिको सिसीटिभी क्यामरा जडान गरेको छ । काठमाडौँ उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढंगले सञ्चालन गर्न लागि मुख्य राजमार्ग क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरेको हो । तीन महिनामा १२.६ प्रतिशतले बढ्यो रेमिटेन्स चालु आर्थिक वर्ष २०७७७८ को पहिलो तीन महिनामा रेमिटेन्स १२.६ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार तीन महिनाको अवधिमा रेमिटेन्स आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई २५८ अर्ब ८६ करोड पुगेको छ ।