NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मन्त्रीहरू योगेश भट्टराईदेखि घनश्याम भुषालसम्मको सम्पत्ति लुकाइयो

काठमाडाै । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरेको छ । वर्तमान सरकार गठन हुँदा एक पटक प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति सार्वजनिक भएपछि अद्यावधिक विवरण र नयाँ मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्न रोकिएको हो । सरकारका मन्त्रीहरुमाथि भ्रष्टाचार आरोप बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत तीनै आरोपलाई बल पुग्नेगरी सम्पत्ति विवरणहरु सार्वजनिक गर्न बन्द गरेको हो । मन्त्रिपरिषद्का २२ मध्ये १० जना मन्त्रीको मात्र सम्पत्ति विवरण सार्वजनिक छ । त्यो पनि पहिलो पटक मन्त्रिपरिषद विस्तार हुँदा उनीहरुले बुझाएका हुन् । त्यसपछि सम्पत्ति विवरण अद्यावधिक गरिएको छैन । त्यसपछि मन्त्री भएका योगेश भट्टराई देखि घनश्याम भुषालसम्मले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । संबैधानिक बाध्यता नभएपनि मन्त्री भएपछि हरेक आर्थिक बर्षमा सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन चल्दै आएको छ । यस्तो असल अभ्यासलाई वर्तमान सरकारले वेवास्ता गरेको हो । सम्पत्ति विवरण सार्वजनिक नगर्ने मन्त्रीहरु भ्रष्टाचार निवारण ऐनअनुसार हरेक आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने छ । कानुनी रूपमा सम्पत्ति विवरणमा व्यक्तिगत गोपनीयतासम्बन्धी कानुन लागू हुने भए पनि मन्त्रीहरूको पारदर्शिताका लागि सम्पत्ति सार्वजनिक गर्ने प्रचलन छ । तर अहिलेसम्म संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको सम्पत्ति सार्वजनिक गरिएको छैन । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गंगा श्रेष्ठ, सञ्चारमन्त्री पार्वत गुरुङ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेको पनि सम्पत्ति सार्वजनिक भएको छैन । तीनजना राज्यमन्त्रीको पनि सम्पत्ति वितरण गोप्य छ । उद्योग राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत तथा सहरी विकासमन्त्री रामवीर मानन्धरको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री ओलीसहित ०७४ मा नियुक्त मन्त्रीको सम्पत्ति विवरण एकपटक सार्वजनिक गरिएको भए पनि पछि नियुक्त कुनै पनि मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन । सम्पत्ति सार्वजनिक गरे हुन्थ्यो : प्रवक्ता मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नभएकोबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता शंकर नेपालले अनविज्ञता जनाए । नेपालवाचसँगको कुराकानीमा उनले मन्त्रीको सम्पत्ति सार्वजनिक गर्नु नपर्ने कुनै कारण नभएको बताए । ‘मन्त्रीको सम्पत्ति सार्वजनिक गर्न कुनै समस्या छ जस्तो लाग्दैन तर यो मन्त्रिपरिषदको विषय भएकाले हामीलाई जानकारी हुने कुरा भएन’ प्रवक्ता नेपालले भने । उनले प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषदको भूमिकामा प्रधानमन्त्रीको सचिवालय र क्याविनेट महाशाखा भएकोले त्यसको जानकारी प्रवक्तालाई नहुने बताए ।