NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

हुम्लामा मन्त्रीबाट अस्पताल शिलान्यास गराउन चार्टर हेलिकप्टरको भाडा स्थानीय तहलाई तिराइयो

हुम्ला । सोमबार हुम्ला जिल्लाका ४ वटा स्थानीय तहमा आधारभूत अस्पतालको एकसाथ शिलान्यास गरिएको छ । ताँजाकोटमा १० शैय्या, अदानचुली, सर्केगाड र नाम्खामा १५ शैय्याका अस्पतालको एकसाथ शिलान्यास गरिएको हो । हुम्लाको सर्केघाढ गाउँपालिकाको अस्पताल कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सुर्खेतबाट हेलिकोप्टर चार्टर गरेर सिलान्यास गरे । ताँजकोट र अदानचुली गाउँपालिकाको अस्पताल उपाध्यक्ष मञ्जु बुढा र सौमती ऐडिले गरे । यसैगरी नाम्खा गाउपालिकाको अस्पताल शिलान्यास गाउपालिकाका अध्यक्ष बिष्णुबहादुर तामाङले गरेका छन् । अदाचुली र ताँजकोट गाउपालिकासंगै सर्केगाड गाउपालिकाको अस्पताल उद्घाटन गर्नका लागि केहि दिन अघि सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्षहरुसँग परामर्शमा लागेका मन्त्री रावलले उद्घाटन गर्न सुर्खेतबाट तीनवटै गाउपालिका केन्द्रसम्म हेलिकप्टर लिनुपर्ने बताएका थिए । र हेलिकप्टरको चार्टर बापतको खर्च गाउपालिकाले व्यहोर्नुपर्ने बताएका थिए । तर, हेलिकप्टर चार्टर गरेर अस्पताल शिलान्यास गर्नुभन्दा सो रकमले पालिकाको अन्य कुनै काममा खर्च गर्ने भन्दै अदाचुली र ताँजकोट दुवै गाउँपालिकाका उपाध्यक्षले अस्पतालको शिलान्यास गरे । अध्यक्ष पालिकाको कामको सिलसिलामा सुर्खेतमा रहेकाले अस्पतालको शिलान्यास उपाध्यक्ष सौमती ऐडि र मन्जु बुढाले गरेको अदानचुली गाउपालिकाका अध्यक्ष दल फडेराले बताए । हेलिकोप्टर लिएर मन्त्रीसहितका गाउँपालिकाका पदाधिकारी सुर्खेतबाट जाने र तीनवटै पालिकामा निर्माण हुने अस्पतालको भवन सिलान्यास गर्न मन्त्री रावलले पटकपटक संवाद गरेका थिए । तर, पनि अदाचुली र ताँजकोट गाउपालिकाले मन्त्री नबोलाइ आफ्नो अस्पताल आफ्नै उपाध्यक्षको हातबाट गराए । यसभन्दा अगाडि कर्णाली प्रदेशका विभिन्न जिल्लामा भवन उद्घाटन र अनुगमनका क्रममा मन्त्रीहरु सवार हेलिकप्टरकोे भाडा अहिलेसम्म भुक्तानी गरिएको छैन । हेलिकोप्टर कम्पनीले उडान भर्न अस्वीकार गरेपछि हुम्लाको सर्केघाढ गाउँपालिकाकाले हेलिकप्टर चार्टर गरेर अस्पताल शिलान्यास गर्न कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई निम्त्यायो । सर्केगाड गाउँपालिकाका नागरिक तथा प्रदेश सांसदसंगै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीसमेत भएकाले अस्पताल शिलान्यास गर्न जाने भने पछि गाउँपालिकाले नैं हेलिकोप्टर चार्टरमा लाग्ने रकम व्यहोर्न बाध्य भयो । गाउँपालिकाकाले खर्च बेहोरेपछि मन्त्री रावल, गाउपालिकाका अध्यक्ष कृष्णबहादुर रोकाया (करुण) र उपाध्यक्ष जोशी धामीसहितको टोली हेलिकप्टरमा सर्केघाढ पुगी अस्पताल शिलान्यास गरी पुन सुर्खेत फर्किएको सर्केघाढ गाउँपालिकाका उपाध्यक्ष धामीले बताए । पालिकाका लागि बजेटको व्यवस्था गर्नुपर्नेमा अस्पतालको भवन सिलान्यास गर्न पालिकाको लाखौ खर्चेर हेलिकोप्टरको प्रयोग गर्नु गलत रहेको स्थानीय बताउँछन् । नेपाल सरकारको काममा आफ्नो नाउँ जोड्न प्रदेश सरकार पुग्र्नै पर्ने र पग्दा स्थानीय तहको बजेट खर्च गर्नु पर्ने प्रवृत्तिले गलत परम्परा बसेको सर्केघाढ ४ का स्थानीयवासी धनराज शाहीले बताए । गाउँका स्वास्थ्य संस्थामा सिटामोल समेत छैन, जनता रोगबाट पिडित छन्, मन्त्री र गाउपालिकाका जनप्रतिनिधि गाउँपालिकाको रकममा आफ्नाे प्रभाव जमाउन हेलिकोप्टरको प्रयोग गर्छन स्थानीयको भनाई छ ।