NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

धरहराको ठेक्का पाएको रमन कन्स्ट्रक्सनविरुद्ध सवा २१ करोडको भ्याट छली मुद्दा

काठमाडौं । धरहरा निर्माणको ठेक्का पाएको रमन कन्स्ट्रक्सनविरुद्ध करिब २१ करोडको भ्याट छली मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले मंगलवार उक्त कम्पनीविरुद्ध पाटन उच्च अदालतमा मूल्य अभिवृद्धि कर (भ्याट) छली मुद्दा दायर गरेको हो । निर्माण क्षेत्रमा ‘क’ बर्गको यो कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको आरोप विभागको छ । उक्त कम्पनीले २० करोड ८७ लाख भ्याट छलेको विभागको अभियोगपत्रमा उल्लेख छ । भ्याट छलेबराबरको रकमलाई बिगो कायम गरी विभागले मुद्दा दायर गरेको छ । उक्त कम्पनीविरुद्ध कैद सजायको मागदावी पनि गरिएको छ । वस्तु तथा सेवाको खरिद नै नगरी नक्कली बिल÷बिजक लिई त्यस्तो बिल/बिजकबाट खरिद देखाई राजस्व छली गरेको विभागले अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ । उक्त कम्पनीले भ्याटतर्फ सात करोड ५४ लाख, आयकरतर्फ १२ करोड ११ लाख र लाभांशकर तर्फ एक करोड ७५ लाख ७२ हजार राजस्व चुहावट गरेको विभागले जनाएको छ । उक्त कमपनीविरुद्ध विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा १ र ३ तथा सोही ऐन (पहिलो संशोधन २०७६) को दफा २३ (१), २३ (१) को खण्ड ‘घ’ र दफा २३ (४) बमोजिम सजाय मागदावी गरेको छ । रमन कन्स्ट्रक्सन यसअघि नै कालोसूचीमा परिसकेको कम्पनी हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ साउन ०७६ मा एक वर्षका लागि उक्त कम्पनीलाई कालोसूचीमा राखेको थियो । सडक, पुल जस्ता भौतिक निर्माणका क्षेत्रमा यो कम्पनीका दर्जनौं ठेक्का छन् । यही कम्पनीले अहिले धरहरा पुनर्निर्माण गरिरहेको छ ।