NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

क्रुर र हिंस्रक युगाण्डाका इदि अमीन जस्तै भए ओली : कांग्रेस नेता पौडेल

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले युगाण्डाका सैनिक तानाशाह इदि अमीन र केपी ओलीमा कुनै फरक नभएको टिप्पणी गरेका छन् । तनहुँमा बुधवार प्रशासनले रोकेको पुल उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य पौडेलले केपी ओलीले ‘संविधान कानुन सबै आफैं हुँ’ भन्ने अहंम देखाउन थालेको भन्दै इदि अमीन र उनीमा कुनै फरक नभएको आरोप लगाएका हुन् । उनले तनहुँका सिडिओ सागर आचार्यलाई तत्काल तनहुँबाट सरुवा मागेर जान पनि सुझाव दिए । उनले सिडियो आचार्यसंग सिडिओ हुने योग्यता नपुगेको आरोप लगाए । ‘सिडिओ साव अब तनहुँमा नबस्नुहोला । रामचन्द्र पौडेल जतिको मान्छेलाई मैले पुल उद्घाटन गर्नबाट रोक्न मिल्दैन भनेर माथिल्लो निकायमा भन्न सक्नुभएन ।’ उनले भने, ‘हिजो पुल उद्घाटन गर्नबाट रोक्न निषेधाज्ञा जारी गर्नुभयो, रामचन्द्र पौडेललाई पक्राउ गर्नुभयो । आज खै सकेको ? जनसागर देखेर डराउनुभयो । त्यसैले तपाईसंग सिडिओ हुने योग्यता रहेनछ, अब तनहुँमा नबस्नुहोला ।’ उनले रामचन्द्र पौडेलमाथि योग्यता नपुगेको केटाकेटी सिडिओ र लोकतन्त्रका लागि कहिल्यै नलडेकोहरुबाट आक्रमण भएको आरोप लगाए । केपी ओलीले नियतवस पौडेलमाथि प्रहार गरेको आरोप उनकाे थियाे । उनले तनहुँका सांसद किसान श्रेष्ठ एक दिन पनि कष्टडीमा नपरेको, पंचायतमा होइन गणतन्त्रमा पनि नलडेको आरोप लगाए । सम्पति शुद्धिकरण विभाग ओलीको कब्जामा हुदैनथ्यो भने छानविन सांसद श्रेष्ठबाटै सुरु हुने उनको दाबी थियो । को हुन् इदि अमीन ? युगाण्डाको पूर्व राष्ट्रपति इदि अमीन संसारका क्रुर शासकमा पर्छन् । उनले सन् १९७१ देखि १९७९ सम्म युगाण्डामा सैन्य नेता तथा राष्ट्रपतिका रुपमा शासन गरेका थिए । अमीनको शासनमा मानव अधिकारको चरम दुरूपयोग भएको थियो । उनको पालामा चरम राजनीतिक दमन जातीय उत्पीडन, गैरकानुनी हत्या, पक्षपात, भष्टाचार तथा आर्थिक कुप्रबन्धन थियो । अन्तर्राष्ट्रिय प्रक्षेपक तथा मानव अधिकारकर्मीहरूका अनुसार उनको शासनकालमा एक लाख देखि पाँच लाख मानिसको हत्या गरिएको थियो । साथै, युगाण्डाबाट पचास हजार एसियनलाई देश निकाला गरिएको थियो । युगाण्डाको कसाई भनेर समेत चिनिने इदी अमीन विश्व इतिहासमा सबैभन्दा क्रुर शासकमा गनिन्छन् । युगाण्डाको मेजर जनरल तथा कमान्डर समेत भएका उनले केही समयको अन्तरालमा देशको प्रमुख पदमा रहेर आफूलाई फिल्ड मार्सलको रुपमा पदोन्नती गरेका थिए ।