NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

स्वेता खड्काको अर्को पाटो : जुन संवेदना र सद्भाव मात्रैभन्दा माथि छ

काठमाडौं । फिल्म खेल्दै गर्दा चलेको अफेयरपछि विवाह गरेका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्का लामो समय सँगै बस्न पाएनन् । विवाहकाे १ महिनामैं श्रेष्ठकाे मृत्यु भयाे । क्यान्सरका कारण श्रेष्ठको असामयिक निधन भयो । नायिका खड्कालाई धेरैले तिनै स्वर्गीय नायक श्रेष्ठसँगको विवाहपछिको छोटो समयलाई लिएर चर्चा र परिचर्चा गर्छन् । जहाँ संवेदना, भावना र सद्भाव बढी व्यक्त गरिन्छन् । उनीहरुको विवाहको छोटो समयमैं श्रेष्ठको निधन भएपछि सामाजिक संजालदेखि मिडियासम्म खड्काप्रति यसैगरी संवेदना र सद्भाव देखियो । दुःख र पीडामा सद्भाव देखाउने नेपाली समाजको विशेषता पनि हो । दुःखमा संवेदना र सद्भावले पनि पीडालाई केही शीतल बनाउँछ । उनले सोमबार विवाह गर्दा पनि यसरी नै उनीप्रति संवेदना र सद्भाव देखाउनेको ताँती सामाजिक संजालमा लागेको छ । इतिहासको कालखण्डमा असामयिक रुपमा गहिरो चोट बोकेकी श्वेताप्रति यसरी निरन्तर संवेदना देखिनु अन्यथा होइन । तर, उनको परिचय संवेदना र सद्भाव देखाइरहनमा मात्रै सीमित छैन । मानवीय सेवामा उनले गरेका कर्म उत्तिकै प्रसंशायोग्य छ । मानवीय कर्ममा चुपचाप जोडिएर भत्केका बस्ती उठाउन उनले गरेको सेवा निक्कै उचो छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ भीमटारका माझी बस्ती भूकम्पले ढलेपछि उनीहरुको सबै सपना भत्किन पुगे । तर, तिनै भत्किएका घर ठड्याउन तिनै नायिका चुपचाप गाउँ पसिन । श्वेताश्री फाउन्डेसनमार्फत उनी सामाजिक कर्ममा जुटेकी हुन् । केही कलाकार सेलिबे्रटीहरुले निक्कै रोइकराई गर्दै गर्दा भूकम्पपीडितका लागि श्वेताले फाउन्डेसनमार्फत चुपचाप काम गरिन् । भूकम्पले भत्किएका माझीबस्तीका ५३ घरहरु ठडिनै लाग्दामात्र उनले सामाजिक संजालमार्फत अभियान सार्वजनिक गरिन् । उजाडिएको बस्ती जहाँ खुसी थपिन् । सिन्धुपाल्चाेक नायक श्रेष्ठ जन्मिएकाे जिल्ला हाे । अरुले जस्तो सहयोग जुटाउन उनले न रोइकराई गरिन् न मिडियामार्फत प्रचार नै खोजिन । बरु चुपचाप सामाजिक अभियानमा जुटिन् । अन्तिममा मात्रै सामाजिक संजालमार्फत अधुरा केही काम गर्न भने बाँकी छ भन्दै सहयोगको उनले सामाजिक संजालमार्फत अपिल गरेकी थिइन् । जुन अपिलमा नमूना माझी बस्तीमा गर्न बाँकी कामलाई सहयोग गर्न उनको आग्रह थियो । शान्त, मिजासिली उनै नायिका खड्काको फेसबुक स्टाटसपछि उनको अलग पाटो र सत्कर्मबारे धेरैले थाहा पाए । त्यसपछि उनले आफूलाई हौसला थपिएको बताएकी थिइन् । यसरी ढलेको माझी बस्ती ठड्याउन श्वेताले चार झण्डै करोड हाराहारी खर्च गर्दा आफ्नो घर नै धितोमा राखेको बताएकी थिइन् । सामाजिक काम गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्नेभन्दै उनले आफू फेरिफेरि पनि यस्ता सत्कर्ममा जोडिने बताउँदै आएकी छिन् । वर्षौसम्म भाषण गर्ने तर जनताको घरदैलो र जिविकासँग नजोडिने भाषणवाज नेताका अगाडि चुपचाप माझीहरुको नमूना बस्ती ठड्याएर श्वेता नमूना नै बनिन् । जुन अरुका लागि प्रेरणा पनि बन्न सक्छ । क्यान्सर अस्पतालमा पनि जोडिइन् क्यान्सरले आफ्ना पति नायक श्रीकृष्ण श्रेष्ठको मृत्यु भएपछि श्वेता क्यान्सर अस्पताल निर्माणको अभियानमा पनि जुटिन् । कम शुल्कमा क्यान्सरको उपचार गर्ने गरी गोदावरीको छम्पीमा अस्पतालको शिलान्यास २०७६ फागुनमा भइसकेको छ । अस्पताल नेसनल सेन्टर हस्पिटलले निर्माण गर्न लागेको हो । जसको लागि गोदावरी नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । जसमा श्वेता पनि सेयरहोल्डर हुन् ।