NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

वायुसेवा निगमको प्रगतिमा यतीका एजेन्टको ‘नोट अफ डिसेन्ट’

९ मंसिरमा बसेको नेपाल वायुसेवा निगम सञ्चालक समितिको बैठकमा जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्तिको मापदण्ड संशोधनको एजेन्डा थियो । निगम व्यवस्थापनले न्यूनतम ५ वर्षको अनुभव भएको संस्था–संगठित संस्थालाई मात्रै जिएसए नियुक्त गर्ने मापदण्ड प्रस्ताव गरेको थियो । तर, निगमको बोर्ड सदस्य रहेका फुरगेल्जे शेर्पाले अनुभव नै नभएका नयाँ कम्पनीलाई पनि जिएसएका लागि आवेदन दिन पाउने मापदण्ड बनाउनुपर्ने भन्दै विरोध गरे । उनलाई यती ग्रुपका अर्का एजेन्ट ईश्वरी पौडेलले पनि मौन समर्थन जनाए । तर, निगम व्यवस्थापन र सरकारी प्रतिनिधिसहित बहुमत बोर्ड सदस्य नयाँलाई होइन, अनुभवीलाई नै जिएसए नियुक्ति गर्नुपर्ने विषयमा सहमत भएपछि त्यही निर्णय पारित भयो । जिएसए कार्यविधिमा आफूअनुकूल निर्णय नभएपछि यतीका एजेन्ट शेर्पाले ‘नोट अफ डिसेन्ट’ नै लेखेका छन् ।  निगमका विदेशस्थित जिएसएमा यतीकै नजिकका कम्पनीहरूलाई नियुक्त गर्न सके निगमको टिकट बेच्दा हुने नाफा मात्रै होइन, हिमालयमा व्यापार बढाउन सकिने देखेर बोर्डमा बसेर उनीहरूले नीतिगत विषयमा हस्तक्षेप गर्ने गरेका छन् । सोही रणनीतिअनुसार नयाँ खडा भएका कम्पनीलाई पनि जिएसए दिनुपर्ने भन्दै शेर्पाले नोट अफ डिसेन्ट लेखेका हुन् । नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा निजी क्षेत्रका तर्फबाट नियुक्त तीनजनामध्ये यती समूहका बहुमत अर्थात् दुईजना बोर्ड सदस्य छन् । गत १५ असारमा यती समूहकै लगानी रहेको अल्टिच्युट एयरका अध्यक्ष फुरगेल्जे शेर्पालाई नियुक्त गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १९ कात्तिकमा पुनः यती समूहकै सहयोगी ईश्वरी पौडेललाई पनि निगमको सञ्चालक समितिमा नियुक्त गरेका छन् । यतीका एजेन्टको विरोध हुँदाहुँदै पनि बोर्डले जिएसए नियुक्तिमा ७ वटा मापदण्ड तय गरेको छ । बोर्डबाट पारित भएको जिएसए नियुक्तिको सोही मापदण्ड निगमले कार्यान्वयनमा ल्याउनेछ ।   निगमको सञ्चालक समितिमा हरेकपटक यतीका एजेन्ट नियुक्त हुने गरेका छन् । यसअघि पनि अल्टिच्युटकै प्रबन्ध निर्देशक निमानुरु शेर्पा निगम सञ्चालक समितिमा नियुक्त भएका थिए । निगमको जिएसए नियुक्तिदेखि मार्केटिङ र अपरेसनसम्म यतीका सञ्चालकले हस्तक्षेप गर्ने गरेको निगमका एक उच्च अधिकारीले बताए । ‘आन्तरिक तथा बाह्य दुवै क्षेत्रमा प्रतिस्पर्धी कम्पनीका एजेन्टलाई निगमको निर्णायक ठाउँमा नियुक्त गर्नु भनेको निगमलाई डुबाउने खेलबाहेक केही होइन,’ उनले भने । निगमको बोर्डमा यतीका एजेन्टको प्रभाव यस्ता निर्णयमा मात्रै सीमित छैन । निगमको समग्र व्यवसाय नै घटाई यती र हिमालयको बढाउने खेलमा उनीहरू सक्रिय हुने गरेका छन् । गत १ नोभेम्बरदेखि ६ डिसेम्बारसम्म अन्तर्राष्ट्रिय उडानतर्फ निगम र हिमालयले गरेको व्यवसाय हेर्दा त्यो स्पष्ट हुन्छ । ठूला जहाजमा  यात्रु पाउन समस्या छ : डिमप्रकाश पौडेल प्रबन्ध निर्देशक, नेपाल वायुसेवा निगम निगमका ठूला जहाज भएकाले यात्रु नपाउँदा थोरै उडान गर्नुपरेको छ । २ सय ७४ सिट क्षमताको ३३० जहाज भएकाले यात्रु नपाउँदा उडान कम भएको हो । यता कार्गोतर्फ भने निगमको भाडा अलि महँगो भएकाले पनि कम उडान भएको हो । बिस्तारै अब कार्गो उडानमा पनि केन्द्रित हुन लागेका छाैँ । निगमलाई हङकङले प्रतिबन्ध लगाउनु तथा जापानमा सातामा एउटा मात्रै उडान गरेकाले पनि कम भएको हो । अब कसरी हुन्छ, धेरै उडान गरेर व्यापार बढाउनेतर्फ योजनाहरू बनिरहेकाले छिट्टै नयाँ चरणमा प्रवेश हुनेछ । वाइडबढी र न्यारोबडीसहित चार ठूला जहाज भएको निगमले ती ३७ दिनमा १ सय ४५ वटा मात्रै उडान गरेको थियो । तर, तीनवटा मात्रै जहाज भएको हिमालय एयरलाइन्सले भने सोही अवधिमा १ सय ६३ उडान गरेको छ । १ नोेभेम्बरदेखि ६ डिसेम्बरसम्मको उडान तालिकाअनुसार कार्गोतर्फ पनि हिमालयले २१ उडान अनुमति पाउँदा निगमले ३ वटा मात्रै उडान गरेको छ ।  निगम उच्च स्रोतबाट नयाँ पत्रिकाले प्राप्त गरेको तथ्यांकअनुसार १ नोभेम्बरदेखि ६ डिसेम्बरसम्म ३७ दिनको अवधिमा मात्रै हिमालयकै जस्तो उडान गर्न पाएको भए निगमले २ सय १७ उडान गर्नुपर्ने थियो । तर, निगम सञ्चालक समितिमा नै यतीका प्रतिनिधि भएका कारण निगमको ७२ उडान कम भएको छ । जसले निगमको करिब ६५ करोड रुपैयाँ आम्दानी गुमेको स्रोतको भनाइ छ । वायुसेवा निगम सञ्चालक समितिमा दुई सदस्य यती समूहका एजेन्टहरू रहेका छन् । उनले भने, ‘प्रतिस्पर्धी संस्थाका व्यक्तिलाई सरकारले राष्ट्रिय ध्वजाबाहकको सञ्चालक समितिमा नियुक्त गरेका कारण त्यसको प्रभाव निगम आम्दानीमा देखिन थालेको छ ।’   हिमालयको तुलनामा  निगमको आम्दानी ६५ करोड कम नेपाल वायुसेवा निगमसँग २ सय ७४ सिट क्षमताका दुई थान ३३० जहाज र १ सय ५८ सिट क्षमताका दुई थान ३२० जहाज छन् । दुईवटा वाइडबढी जहाजले दैनिक पाँचवटाका दरले १० उडान गर्न सक्छन् । पछिल्ला ३७ दिनमा पूरै उडान गर्न पाएको भए ३३० जहाजले मात्रै ३ सय ७० उडान गर्न सक्थे । तर, अहिले क्षमताभन्दा २ सय ५० उडान कम गरेको छ । निगमले यसरी ती जहाजले १२ सय ५० घन्टा कम उडान गर्दा १ अर्ब ८० करोडको बिजनेस गुमाएको छ । त्यस्तै, ३२० ले पनि दैनिक ६ वटा उडान गर्न सक्छ । यसले ३७ दिनमा २२० उडान गर्न सक्ने भए पनि १ सय ८ मात्रै उडान गरेको छ । २२० जहाजले १ सय १४ उडान कम गर्दा ३६ करोड आम्दानी गुमाएको छ । यसबीचमा हिमालयका जहाज पनि पूर्ण क्षमतामा उडेका छैनन् । तर, हिमालयका जहाजले जति अनुपातमा उडान गरे, निगमले त्यति मात्रै उडान गरेको भए पनि ३७ दिनमा २ सय १७ उडान गर्नुपर्ने थियो । तर, निगमले १ सय ४५ उडान मात्रै गरेको छ । हिमालयको तुलनामा ७२ उडान कम गर्दा निगमले ६५ करोड आम्दानी गुमाएको छ ।  ऋण बढ्दै, आम्दानी घट्दै नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको कर्जाको पछिल्लो पाँच किस्ता तिर्न सकेको छैन । निगमका ४ वटा जहाजको ब्याज मात्रै ४ अर्ब ७१ करोड ८ लाख ६ हजार ३ सय २४ रुपैयाँ तिर्न बाँकी छ । उक्त भुक्तानी गर्न बाँकी ब्याज रकमलाई साँवामा गाभ्न अर्थ मन्त्रालयमा निगमले गत वर्ष नै प्रस्ताव पठाएको थियो । तर, अहिलेसम्म साँवामा गाभिएको छैन । निगमले ०७२ देखि ०७७ सम्म ब्याज र पाँच किस्ता गरेर ५ अर्ब ४५ करोड ६७ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ । चारवटा जहाजको तिर्नुपर्ने ऋण मात्रै निगमको ३३ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बाँकी छ । दुई थान ३२० जहाजको ९ अर्ब ९८ करोड ११ लाख र दुई थान ३३० जहाजको २३ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ ऋण छ । निगमले सञ्चय कोष र नागरिक लगानी कोषसँग ३३० जहाजका लागि १२–१२ अर्ब ऋण लिएको थियो । त्यस्तै, ०७१ मा खरिद गरिएको ३२० जहाजका लागि सञ्चय कोषसँग १० अर्ब ऋण लिएको थियो ।  निगमको सम्पत्ति कति र ऋण कति ? राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सम्पत्ति ५४ अर्ब १६ करोड ८६ लाख ८० हजार मूल्यांकन भएको छ । निगमको व्यवस्थापनले सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) गराउँदा निगमको ऋण तथा अन्य दायित्व ४५ अर्ब ९३ करोड ५९ लाख देखिएको थियो । निगमको गत वर्षको असार मसान्तसम्मको मूल्यांकनअनुसार ऋण तथा दायित्वभन्दा सम्पत्ति ८ अर्ब २३ करोड २७ लाख बढी छ । निगमसँग हाल ३९ अर्ब ८० करोड ९६ लाख ऋण छ भने २ अर्ब १६ करोड रुपैयाँ ओभरड्राफ्ट लोन छ । त्यसैगरी, छोटो अवधिका ऋण तथा क्रेडिट भुक्तानीलगायत जोड्दा निगमको दायित्व ४५ अर्ब ९३ करोड ५९ लाख रहेको छ ।  निगमसँग रहेका साना र ठूला गरेर १४ जहाजको मूल्य ३६ अर्ब ६१ करोड ३५ लाख ७५ हजार रुपैयाँ मूल्यांकन गरिएको छ । जसमा दुई वर्षअगाडि खरिद गरिएको एयरबस ३३०–२०० सिरिजका दुई थान वाइडबडी जहाजको मूल्यांकन २३ अर्ब २१ करोड १५ लाख गरिएको छ । त्यसैगरी, ६ वर्षअगाडि खरिद गरिएका दुई थान एयरबस ३२०–२०० सिरिजका दुई थान न्यारोबडी जहाजको ६ अर्ब ३९ करोड ९८ लाख ७० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । बिक्री गर्ने निर्णय भएको चिनियाँ जहाजको ३ अर्ब ८१ करोड १० लाख रुपैयाँ मूल्यांकन गरिएको छ । त्यसैगरी, बिक्रीको निर्णय भइसकेको बोइङ ७५७ जहाजको ६५ करोड ५० लाख ९४ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, तीन थान ट्विनअटर जहाजको ६५ करोड ४४ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । निगमले ६ थान चिनियाँ जहाज भने गत १५ साउनदेखि ग्राउन्डेड गरेर राखेको छ । नयाँ पत्रिकामा खबर छ ।