NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ १० गते

सामाजिक सुरक्षा भत्ताको साढे ८७ लाख अनियमितता

खाेटाङ । यहाँको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताबापत एक वर्षमा झन्डै साढे ८७ लाख रुपैयाँ अनियमितता भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको गुनासोपछि असोज १४ मा गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सरिता खड्काको संयोजकत्वमा छानबिन समिति बनेको थियो । समितिले आर्थिक वर्ष २०७६/७७ मा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा मृत्यु भइसकेका, बसाइँ सरेका, हुँदै नभएका व्यक्तिका नाममा नक्कली कागजात बनाएर सामाजिक सुरक्षा भत्ता निकासा गरिएको उल्लेख छ । एकै जनाका नाममा दुई पटकसम्म तथा अर्कै वडाका व्यक्तिका नाममा समेत भत्ता दिइएको पाइएको छ । सामाजिक सुरक्षा भत्ताबापत साकेला–१ बाँझेच्यानडाँडामा २० लाख ३४ हजार ४ सय रुपैयाँ, वडा–२ रतन्छामा १२ लाख २८ हजार, वडा–३ खिदिमामा ११ लाख ८७ हजार २ सय, वडा–४ माथिल्लो मात्तिममा २२ लाख ८७ हजार २ सय र वडा–५ तल्लो मात्तिममा २० लाख ४८ हजार रुपैयाँ अनियमितता भएको समितिले जनाएको छ । चालु आवमा भएका अनियमिततामा संलग्नबाट सबै रकम असुल उपर गरेपछि फेरि छानबिन गरिने समिति संयोजक खड्काले बताइन् । सामाजिक सुरक्षा भत्ता दुरुपयोग गर्ने जोसुकैलाई पनि कानुनी कारबाही गरिने गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले प्रतिबद्धता जनाए । ‘अनियमितता गर्ने जोसुकै भए पनि सामाजिक सुरक्षा ऐन २०७५ र सामाजिक सुरक्षा नियमावली २०७६ अनुसार कारबाही हुन्छ,’ उनले भने । कान्तिपुरमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष