NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कोरोनाबाट मृत्यु हुने ५१३ जना गायब !

काठमाडाैं । सरकारले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका सबै नागरिकको तथ्यांक व्यवस्थित रूपमा नराखेको पुष्टि भएको छ । कोरोनाबाट मृत्यु हुनेको यकिन तथ्यांक पत्ता लगाउन सरकारले नै गठन गरेको समितिले २ कात्तिकसम्म पाँच सय १३ जनाको नाम स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छुटेको पुष्टि गरेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको तथ्यांक नमिलेपछि सरकारले कोरोनाबाट मृत्यु हुनेको यकिन तथ्यांक पत्ता लगाउन २ कात्तिकमा समिति नै गठन गरेको थियो । स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलजा रेग्मीको नेतृत्वमा कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का प्रतिनिधि डा. अरुण न्यौपाने र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे सदस्य रहेको समितिले मन्त्रालयको तथ्यांकमा मृतक पाँच सय १३ जना छुटेको प्रतिवेदन तयार पारेको हो । समितिले मन्त्रालयमा बुझाए पनि प्रतिवेदन सार्वजनिक भने गरिएको छैन ।  स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २ कात्तिकसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सात सय ३९ थियो । तर, त्यसमा पाँच सय १३ जना छुटेको समितिको प्रतिवेदनमा छ । त्यति नै वेला स्वास्थ्य मन्त्रालयको तथ्यांकभन्दा सेनाले शव व्यवस्थापन गरेका मृतकको संख्या चार सय बढी थियो । मन्त्रालय र सेनाको फरक–फरक तथ्यांकपछि अध्ययनका लागि समिति बनाइएको थियो । नयाँ पत्रिकामा खबर छ ।