NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

कोरोना सङ्क्रमित महिलाले जन्माइन बच्चा

नुवाकोटको त्रिशूली अस्पतालमा कोरोना संक्रमित एक महिलाले बच्चा जन्माएकी छिन् । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले प्रसूती सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा बच्चा जन्माएकी हुन् । व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी अपनाएर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले ती महिलालाई प्रसूति सेवा उपलब्ध गराउनुभएको थियो । ती सङ्क्रमित महिलाका लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो । कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा क्लिनिक सेवा भए पनि सङ्क्रमितको स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौँमा पठाइने गरिएको थियो । ‘कोरोना सङ्क्रमित भएका गर्भवतीको नियमित जाँच तथा परीक्षणको सेवा उपलब्ध गराइँदै आए पनि गर्भवतीमा सङ्क्रमण देखिएको सेवाग्राहीलाई सुत्केरी सेवा दिइएको यो पहिलो पटक हो,’ चिकित्सक केसीले भनिन, ‘अस्पतालमा हाल उपचारका लागि अलग आइसोलेशन नभए पनि विशेष आइसोलेशन तयार गरेर सामान्य अवस्थामा नै उहाँ सङ्क्रमित महिलालाई सुत्केरी गराएका हौँ ।’