NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ओलीबाट जनतामाथि शोषण : पौडेल

कञ्‍चनपुर । कांग्रेस युवा नेता प्रदीप पौडेलले केपी ओली नेतृत्वको सरकारले जनतामाथि शोषण गरेको आरोप लगाएका छन् । कांग्रेस कञ्चनपुरले सोमबार सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको सरकारविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । केन्द्रीय सदस्य पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनतामाथि शोषण भइरहेको बताउँदै सरकारले जनताका लागि केही गर्न नसकेको दावी गरे । देशमा विभिन्न बहानामा भ्रष्ट्राचार मौलाएको बताउँदै उनले सरकार नै ओम्नी समूह र भ्रष्टाचारको काण्डमा मुछिएकाहरुलाई संरक्षणमा लागेको आरोप लगाए । नेता पौडेलले सरकारले अहिलेसम्म उपसभामुख चयन गर्नु नसक्नुले सरकारको चेतनाको स्तरलाई प्रष्ट पारेको टिप्पणी गरे । “विपक्षी दलको हुन्छ भनेर नेकपाले उपसभामुखको सिट खाली राखेको छ,” उनले भने, “त्यसले सरकारको चेतनाको स्तर कति छ भन्ने देखाउँछ ।” विगतमा कांग्रेसले पनि गल्तीहरु गरेको स्वीकार गर्दै नेता पौडेलले वर्तमान अवस्थामा कांग्रेस नराम्रोहरु मध्येको राम्रो भएको बताए । उनले गल्ती तथा कमिकमजोरी सबैबाट हुने भन्दै आगामी दिनमा कांग्रेस सच्चिएर आउने दावी गरे । मुलुकमा थुप्रै समास्याहरु भएकाले सधै निराशावादी भएरमात्रै समास्याको समाधान नहुने नेता पौडेलको भनाइ थियो । जनताले फालेको राजतन्त्र ल्याएर जनता सम्मानित नहुने उनको भनाई छ । “पछिल्लो समय राजतन्त्र ल्याउन सडकमा एकथरीको भीड लाग्ने गरेको छ,” पौडेलले भने, “जनताले नै राजतन्त्र फालेका हुन् । फेरि राजतन्त्र ल्याएर जनता सम्मानित हुँदैनन् ।”