NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कांग्रेसले अध्यादेश र यसपछिका निर्णय प्रक्रिया नमान्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी अध्यादेश र अध्यादेशपछि जारी हुने निर्णय प्रक्रिया नमान्ने बताएको छ । उपसभापति विमलेन्द्र निधिले सर्वसत्तावादी सोचले ल्याइएको अध्यादेश र यसका प्रक्रिया नमान्ने बताए । ‘सर्वसत्तावादी र अधिनायकवादी शैलीमा अघि बढ्न ल्याइएको अध्यादेश मान्दैनौं । अध्यादेश अनुसारको प्रक्रियाबाट हुने निर्णय पनि मान्दैनौं’ निधिले नेपालवाचसँग भने, ‘अध्यादेशपछिकाे अवस्थाबारे छलफल गर्न बुधबार दिउसो १ बजे हामीले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छौं ।’ मंगलबार बिहान भएको परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएका थिए । तर, सभामुख अग्नी सापकाेटा सहभागी भएनन् । लगातार दुई बैठकमा सभामुख सहभागी नभएपछि सरकारले अध्यादेश ल्याएर परिषद् बैठकको कार्यविधि नै परिवर्तन गरेको थियो । प्रधानमन्त्रीसहित परिषद्मा ६ जना हुन्छन् । तर, अहिले पाँच जना मात्रै छन् । उपसभामुख चयन नै नभएकोले खाली छ । यस्तोमा सभामुख र प्रतिपक्षी दलका नेता सहभागी नभए पनि प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष तीन जना बस्दा बहुमत पुग्छ । तीन जनाले बहुमत पुग्ने गरी अध्यादेश जारी गरिएको थियो । यसै अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष गरी तीन जनाको बैठक बसिरहेको हो । देउवा र सभामुख बेलुका बसेकाे परिषद् बैठकमा पनि सहभागी भएनन् ।