NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

दृष्टिविहिनसँगको त्यो हाइकिङ अनुभव

मेरो लागि शनिबार आफैंमा विशेष दिन हो । व्यस्त जागिरे जीवनको एकमात्र फुर्सदको यो दिन सकेसम्म अन्य कामको लागि जाँगर चल्दैन । सकेसम्म घरमै बस्न मनलाग्ने यो दिन एउटा प्रस्ताव आयो, ‘दृष्टिविहिनसँग हाइकिङ जाने’ । कुरा सुन्दा ‘इन्ट्रेस्टिङ’ लाग्यो । आफैंमा एक नयाँ अनुभव पनि । यो पढ्दै गर्दा तपाईंहरूलाई लाग्न सक्ला, ‘के दृष्टिविहिनहरू पनि हाइकिङ जान्छन् ?’ हो, मलाई पनि सुरुमा यस्तै लाग्यो । कस्तो होला भन्ने कौतहुलताले शनिबार हत्पती घर बाहिर निस्किन मन नलाग्ने मेरो मनलाई पनि यो प्रस्तावले जुरुक्क बनायो । –हामीले बाटोको सौन्दर्य नियाल्दै हिँड्दा उनीहरूले त्यो कसरी महसुस गर्लान्?–हामीले देखिरहेको फुल र पातहरु हातैले स्पर्श गरेर उनीहरुले कसरी देख्लान? यस्तै यावत प्रश्नहरु थिए मेरो मनमा । यी प्रश्न मजस्तै हाइकिङमा सहभागी हुने अन्य साथीको मनमा पनि आएको रहेछ । र त, यो यात्रा मलाई जस्तै अन्य साथीहरुको लागि पनि केही विशेष हुनेवाला थियो । यात्रा आफैंमा रमाइलो हुन्छ । तर, यो यात्रा केवल यात्रा मात्रै नभएर कुनै नयाँ कुराको अनुभव पनि थियो हाम्रो लागि । त्यसैले पनि अन्य यात्रा र अरु बेला गएका हाइकिङभन्दा केही बढि उत्सुकता थियो यसपटक । हाइकिङ ‘मुड फ्रेस’ गर्ने क्रियाकलाप हो मेरा लागि । आफ्नो दिनचर्यादेखि वाक्क भएर कहिलेकाँही साथीहरूसँग समय बिताउन हाइकिङ जान्छु म । तर, यसपटकको हाइकिङ आफूलाई फ्रेस गर्ने मात्रै नभएर केही नयाँ अनुभव गर्ने हाइकिङ थियो । जसरी मेरो लागि उनीहरुको हाइकिङ नयाँ कुरा थियो, त्यसरी नै उनीहरुको लागि पनि हाइकिङ नौलो अनुभव रहेछ । विल्कुल नयाँ र विशेष । दृष्टिविहिनहरुलाई यो अनुभव गर्ने अवसर जुराइदिएको थियो, ‘परिवर्तनका लागि सञ्जाल’ नामको संस्थाले । मेरो लागि हाइकिङको तयारी अघिल्लो दिन सुरु भयो । ‘ब्याग’ प्याक गर्ने, आवश्यक सामान राख्ने । तर जोसँग हामी हाइकिङ गर्दै थियौं, उनीहरुको तयारी केही दिनअघि बाटै सुरु भएको थियो । उनीहरुमध्ये कोही पनि यसअघि हाइकिङको अनुभव भएका थिएनन् । आयोजक संस्थाले उनीहरुलाई केही दिनअघि बाटै तालिम दिइरहेको थियो । संस्थाको भवनको भर्याङ उक्लने, ओर्लिने । अनि फेरि उक्लने, आर्लिने । यसरी कैयौं पटक उक्लिदैं र ओर्लिदैं उनीहरुले आफ्नो खुट्टा र हातको ‘ह्वाइट केन’लाई तयार गरेका थिए हाइकिङ गर्नलाई । मन र मस्तिष्क त उनीहरुको पहिल्यै तयार भएको हुँदो हो । कुराकानीका क्रममा उनीहरुले भने, ‘हामीलाई हाइकिङमा रुचि नभएको होइन् । तर, परिवारले यरी हिँडडुल गर्दा दुर्घटना होला कि भनेर जान दिनुहुन्थेन ।’ दुई दिनसम्म तालीम लिए उनीहरुले । ‘ह्वाइट केन’ सँगै उकालो ओरालो गर्ने तयारी भएको थियो ।सामान्य हिँडडुल भन्दा केही फरक भएकाले उनीहरुको निम्ति हाइकिङको तालिम थियो त्यो संस्थाको आयोजनामा । भिमसेनस्थानस्थित परोपकार विद्यालयको भ¥याङमा उनीहरू तलमाथि गरिरहेका भेटिन्थे । कोही भने सिढीँमाथि एक्लै हिँडिरहेका पनि भेटिन्थे । योसँगै उनीहरूले आफ्नो भिन्नै नियम र मर्यादा बनाएका थिए । हाइकिङको तयारी गरिरहेका उनीहरुको उत्साह हेर्न लायक थियो । हाइकिङ जाने समूहमा सबै जना जन्मजात दृष्टिविहिन नभएकाले दृष्टि नगुमाउँदासम्म हाइकिङ गएकाहरु पनि रहेछन् । दृष्टि गुमेपछिको यो हाइकिङ उनीहरुको लागि झन् विशेष बन्दै थियो ।फरक अनुवभ सँगाल्ने अपेक्षासहित भेला भएका थिए सबै । दुई दिनको तालिम पछि हाइकिङ जाने गन्तव्य तय भयो, शिवपुरीको ‘नागी गुम्बा’ । नागी गुम्बा त पहिला पनि पुगिसकेकी थिएँ । गुम्बासम्म पुग्ने भर्याङ सम्झेरै एकछिन बित्यास लागेपनि सँगैको हरियालीमा पहाडका दृष्यपान गर्दै हिँड्नु फेरि आनन्दमय थियो । हामीलाई नै नागी गुम्बाको भर्याङ चढ्न निकै अफ्ठ्यारो पथ्र्यो । झन्, दृष्टिविहीनलाई कस्तो हुन्छ होला? गाह्रो पो हुने हो कि? मनमा यस्ता कुराहरु पनि आए । शनिवारको दिन विहान ८ बजे । लैनचौरमा हाम्रो यात्राको सुरुवात हुँदै थियो । बस खडा थियो, लैनचौरमा । लैनचौरबाट महाराजगञ्ज सडक हुँदै बुुढानिलकण्ड मन्दिरतर्फ लाग्यौं । साढे ९ मा शिवपुरी राष्ट्रिय निकुञ्जसम्म पुर्याएपछि समूहका अगुवा अभिषेक शाहीले तालिमका क्रममा अघिल्लो दिन भनेका कुराहरू केही बेर दोहोर्याए । सबैलाई आफ्नो मर्यादामा रहन र निकुञ्जको नियम विपरित कुनै पनि काम नगर्न सुझाए । प्रकृति, हाइकिङको यो मौका र सबैको साथ । उनीहरूले सबैलाई एकसाथ धन्यवाद दिए र यात्रा सुरु गरे । –यात्राको क्रममा बाटो छेउको वृक्षको पात छुने, त्यसको स्पर्शले मख्ख पर्ने ।–पातको स्पर्शबाट रुखको जात पत्ता लाएर आनन्दित हुने ।–अरुले बाटोमा भेटिएका साइनबोर्डका सूचना पढेको सुनेर आफूले तय गरेको दुरीमा गर्व गर्ने ।–चिसो हावाले स्पर्श गर्दा दंग पर्ने । उनीहरुमा देखिएको यो भाव हेरिरहेकी मलाई लाग्यो, महसुस गर्न सक्ने हो भने हरेक अभावमा पनि खुसी लुकेको हुने रहेछ । चराचुरुंगीको आवाजलाई संगीत मानि रमाइरहेथे उनीहरू । सँगै अन्य आँखा देख्ने साथीहरूलाई प्रकृतिमा रमाउने नयाँ–नयाँ तरिका सिकाउँदै हिँडिरहेथे । बीच बाटोमा भेटिन्थे साइन बोर्डहरू । दृष्टिविहीनलाई त्यो सूचना पढेर सुनाउने जिम्मा पाएका थिए, उनीहरूका गाइडले । सुन्ने मात्र हो र, गाउन पनि निकै अगाडि रहेछन् । दृष्टिविहीनको दोहोरीको मजा अन्य साथीहरूले निःशूल्क लिए । मज्जा त लिन जान्नुपर्ने रहेछ । केही दृष्टिविहिन आफ्ना अभिभावकसँगै आएका थिए । छोराछोरीले रमाएको देख्दा अभिभावक खुसी नहुने कुरै थिएन । आफ्ना छोराछोरी अन्य भन्दा कम छैनन् भनेर आत्मविश्वास दिने अभिभावकले सन्तानको गुमेको दृष्टि फर्काउन त नसक्लान् । तर उनीहरूलाई मन लागेको काममा साथ दिएर उनीहरूको खुसी दोब्बर भने बनाउन सक्ने रहेछन् । बाटोमा हिँड्दा उनीहरूले उकाली, ओरालीको सामना गर्नुपर्यो, बन्द कोठामा उनीहरूले लिएको प्रशिक्षण भन्दा नितान्त भिन्न । कतिलाई बाटोमा ठेस लाग्यो र कति लडे पनि । त्यसको सामना गर्नुमा गर्व गरे उनीहरूले । नगरुन् पनि किन, मान्छे लडेपछि मात्र हो हिँड्न सिक्ने । यस्तैपरे सहयोग माग्न नहिच्किचाई अघि बढे र गन्तव्यसम्म पुगे । महसुस गर्न सके हरेक कुरामा आनन्द छ, चाहे त्यो थकान नै किन नहोस् । शिवपुरीको नागी गुम्बासम्म पुग्दा सबैजना धेर थोर थाकिसकेका थियौं । तर त्यो उचाइमा पुगेपछि चलेको हावाको वहाव, गुम्बा परिसरमा ढकमक्कै फूलेका थुङ्गे फूल र वनजंगलको शितलताले सबैको थकान मेटाइरहेथ्यो । जीवनको मजा लिन र यस्ता गतिविधिका लागि शारिरीक बन्धनले छेक्ने रहेनछ भन्ने मैले त्यही दिन अनुभव गरेँ । त्यसो त शारिरीक रुपमा अपांग भएकाहरूले पनि हिमाल चढेका छन् । आँट्यो भने नहुन के छ र संसारमा ? झन्डै चार घन्टा हिँडेर शिवपुरी राष्ट्रिय निकुञ्जको नागी गुम्बासम्म पुग्यौं । तालिम र वास्तविक हाइकिङमा उनीहरूले आकाश जमिनको फरकपन महसुस गरे । यात्राको क्रममा थाहा भयो, निर्धारित समय भन्दा बढी लाग्ने रहेछ नागी गुम्बा पुग्न । तर सबैको उत्साहले समय बितेको पत्तै भएन । ढिला भएको बिल्कुलै अनुभव भएन । उनीहरूको हाइकिङ अनुभव सुन्दा कठिनाइ पार गर्दै उद्देश्य पुरा गर्नुमा पनि छुट्टै रमाइलो भन्ने सोच उनीहरुमा रहेको देखियो । यसअघि घुमफिर गर्न खोज्दा धेरैलाई ‘दृष्टिविहिनले घुमफिर गर्न सक्दैनन्’ भन्ने रहेछन् । तर उनीहरूले मौका आउँदा यसपटक आफूलाई रोकेनन् । गन्तव्यसम्म हिँड्न छोडेनन् । हरेक ठूलो यात्रा एउटा पाइलाबाट सुरु हुन्छ । उनीहरूले त्यो पाइला चाल्न जोखिम मोले र बाटोमा साथ पनि भेटिहाले । गन्तव्यमा पुग्न कसले रोक्थ्यो अनि ? हाइकिङ जानेबेला उनीहरूमा देखिएको त्यो उत्साह फर्किने समयमा झनै प्रगाढ भएको थियो ।उनीहरूको जीवनको थैलीलाई अर्को फरक र नयाँ अनुभवले गह्रौं बनाएको थियो । आफूमा नयाँ जाँगर र आगामी दिनमा फेरि पनि घुमफिर गर्न केवल दृष्टिले बाधा पुर्याउँदैन भन्ने आत्मविश्वास र जोश लैजाँदै थिए साथमा । कसैले भनेका छन्, ‘संसारको सबैभन्दा सुन्दर वस्तु न त हेर्न सकिन्छ न त छुन नै, त्यसलाई त केवल महसुस गर्ने हो ।’ यस भनाईको जीवन्त आभास उनीहरूलाई भेट्दा भयो ।

ताजा अपडेट

नेपालवाच विशेष