NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

तीन सिडिओको बैठक, राजधानीमा भोलिदेखि निषेधाज्ञा जारी हुन सक्ने

काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक अहिले केहीबेरमा बस्दैछ। बिहान ९ : ३० बजे बस्ने बैठकले राजधानीमा कोरोना संक्रमणको दर न्यूनिकरणका लागि आवश्यक निर्णय गर्दैछ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले कोरोना संक्रमणको बृद्धिदरलाई हेरेर निर्णयमा पुग्ने बताए । उनले तत्काल निषेधाज्ञा जारी गरेर जानुपर्ने स्थिती देखिएको बताएका छन्। ‘स्थिति हेर्दा तत्काल निषेधाज्ञा जारी गर्नुपर्ने स्थिती छ, यसबारे वैठकबाट आवश्यक निर्णय गछौँ, निरौलाले भने । उनले कोरोना संक्रमितको संख्या हरेक दिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल हुने बताए। कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेको छ।सिसीएमसीको उक्त सिफारिस लगत्रै काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन्। यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन्। काठमाडौंमा आइतबार मात्र एक हजार एक सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भत्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पनि निषेधाज्ञा जारी हुनसक्ने बताए । ‘कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ, यसको न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न जरुरी छ । बैठकबाटै निर्णय गछौँ ।’ भट्टराईले भने । उनले राजधानीमा रहेका अत्यावश्यक बाहेकका सबै कार्यालयहरु बन्द गरेर जानेबारे छलफल हुने बताएका हुन् । ‘कार्यालय खुल्ला राखेर, भिडभाड कायम राखेर कोरोना संक्रमण न्यूनिकरण गर्न सक्ने स्थिती देखिएको छैन ।’ उनले भने ।