NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बिहीबारदेखि कैलालीमा निषेधाज्ञा

धनगढी । कोरोना संक्रमणको दर तिव्र हुँदै गएपछि बिहीबारदेखि एक सातका लागि निषेधाज्ञा घोषणा गरिएको छ । मंगलबार बसेको सर्वदलीय बैठकले पनि कोरोनाका बिरामीको संख्या दिनदिनै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा लगाउन सहमति दिएको थियो । यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा रात्रीकालिन लकडाउन मात्रै गर्ने निर्णय गरेका थिए । भारतबाट फर्किने नेपालीमा अनुपातमा दैनिक सयभन्दा बढीमा कोरोना देखिन थालेपछि नेपालमा पनि अवस्था खतरापूर्ण देखिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने, ‘कैलालीमा मात्रै सक्रिय संक्रमितको संख्या ८ सय नाघेको छ । कैलाली र कञ्चनपुरका अस्पतालमा गम्भीर प्रकृतिका बिरामी बढेपछि, आइसीयु भेन्टिलेटरको अभाव भएको छ । मानिस उपचार नपाएर छटपटिन थालेका छन् ।’ यसअघि बाँके, बर्दिया र सुर्खेतमा निषेधाज्ञा जारी भइसकेका छन् । यस्तै रुपन्देहीले पनि एक साताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेकाे छ ।