NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

धरासायी हुँदै गएको वायुसेवा निगमको महत्वकांक्षी योजना – १० वर्षमा १२ जहाज खरिद गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ जहाज थप्नेगरी १० वर्षे महत्वकांक्षी व्यवसायीक कार्ययोजना ल्याएको छन् । निगमको सञ्चालक समितिले मंगलवार स्वीकृत गरेको व्यवसायीक कार्ययोजनामा १२ जहाज खरिद गर्ने उल्लेख छ । जसमा अन्तर्राष्ट्रियतर्फ ४ वटा न्यारोबडी र दुई वटा वाइडबडी तथा आन्तरिकतर्फ ट्रंक रुटको उडानका लागि दुई वटा ठूला र स्टोल रुटतर्फ ४ वटा जहाज खरिद गर्र्ने योजना निगमले तयार गरेको छ । हाल निगमसँग अन्तर्राष्ट्रिय उडानतर्फ दुई वटा ए ३२० र दुईवटा ए ३३० सिरिजका जहाज छन् भने आन्तरिक उडानतर्फ तीनवटा ट्वीनअटर छन् । सञ्चालक समिति सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार सञ्चालक समितिले स्वीकृत गरेको यो व्यवसायीक कार्ययोजना थप छलफलका लागि अब मन्त्रालयमा पुग्नेछ । तीन वर्षभित्रमा एक वाइडबडी र दुई न्यारोबडी ल्याउने कार्ययोजनामा उल्लेख भएअनुसार निगमले निगम अन्तर्राष्ट्रिय उडानमा सन् २०२३ भित्रै एक वाइडबडी र दुई न्यारोबडी जहाज खरिद गर्नेछ । त्यस्तैगरी आन्तरिकतर्फ ट्रंक रुटका लागि एउटा ठूलो जहाज र स्टोल रुटका लागि दुईवटा सानो जहाज थप्ने योजना पनि निगमको छ । १० वर्षमा एक दर्जन अन्तर्राष्ट्रिय गन्तव्य थप्ने आगामी १० वर्षभित्र एक दर्जन अन्तर्राष्ट्रिय गन्तव्य थप्ने योजना पनि निगमको छ । चीन, दक्षिण कोरिया, साउदी अरेबिया, इन्डोनेसिया, अष्ट्रेलिया, लण्डन, जर्मनी लगायतका गन्तव्यमा उडान भर्ने लक्ष्य निगमले लिएको छ । आन्तरिकतर्फ भने निगमले काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्ज र सुर्खेतलाई आधार बनाएर उडान गर्नेछ । सरकारकै भर तत्कालका लागि निगमले सरकारकारसँग नै सहयोगको अपेक्षा गरेको छ । सरकारको सहयोग लिएर जहाज खरिद गर्ने र नाफामा गएपछि ऋण घटाउँदै लैजानेगरी योजना तयार गरिएको छ ।आफ्नो चुक्ता पुँजी बढ्नेगरी निगमले सरकारलाई २० अर्ब रुपैयाँ सेयर लगानी गर्र्न आग्रह गरेको छ । सुरुको तीन वर्ष सरकारको सहयोग पाए चौथो वर्षबाट फाइदामा लैजान सक्ने लक्ष्य निगमको छ ।निगमको यो कार्ययोजना पर्यटन र अर्थ मन्त्रालयबाट स्वीकृत भएको खण्डमा कार्यान्वयनका लागि प्रक्रिया अघि बढ्छ । निगमलाई बढ्दो ऋण भार पछिल्लो पटक मूल्यांकन गरिएअनुसार निगमको सम्पत्ति ५४ अर्ब १६ करोड ८६ लाख ८० रुपैयाँ छ । निगमले जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको कर्जाको पछिल्लो ५ किस्ता अझै तिरिसकेको छैन । पछिल्लो समय दुईवटक वाइडबडी र न्यारोबडी जहाज किन्दा लिएको ब्याज मात्रै ४ अर्ब ७१ करोड ८ लाख ६ हजार ३ सय २४ रुपैयाँ तिर्न बाँकी छ । ४ वटा जहाजको तिर्नुपर्ने ऋण मात्रै निगमको ३३ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बाँकी छ । दुई थान ३२० जहाजको ९ अर्ब ९८ करोड ११ लाख र दुई थान ३३० जहाज किन्दा लिएको २३ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ ऋण छ । एयरबस ३३० जहाजका लागि निगमले सञ्चय कोष र नागरिक लगानी कोषसँग १२–१२ अर्ब ऋण लिएको थियो । त्यस्तै, ०७१ मा खरिद गरिएको ३२० जहाजका लागि सञ्चय कोषसँग १० अर्ब ऋण लिएको थियो । यसरी ऋणको भार बढी रहेको निगमको ऋण मात्रै बढेर ४५ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ पुगेको छ । जहाज खरिद गर्ने उत्तम समय भएपनि गन्तव्यमा ख्याल गर्न सुझाव निगमका एक वरिष्ठ क्याप्टेनका अनुसार कोरोना महामारीले थलिएको यो समय जहाज खरिद गर्नका लागि उपयुक्त अवसर हो । ‘अहिले जहाज एकदमै सस्तोमा पाउने सम्भावना छ,’ उनले भने, ‘महामारी सधैं त नरहला । अहिले हामीले बजार तान्न सक्यौं भने भोलिको लागि तयारी पुग्छ ।’बजारलाई अरुले उछिन्नुअघि नै आफ्नो नियन्त्रणमा लिन सके राम्रो हुने उनको भनाइ छ । त्यसको लागि अहिले भएका चारवटा जहाजलाई पूर्ण क्षमतामा उडाएर भएको गन्तव्यलाई महत्व दिनुपर्नेमा उनको जोड छ । अहिलेसम्म पनि उडान गर्न सकिने गन्तव्यमा निगमको त्यत्ति ध्यान छैन । दोहा, साउदी अरब, मलेसियालगायतका गन्तव्यमा निगमका जहाज अहिले पनि पूर्ण क्षमतामा उड्न सकेका छैनन् । कार्गोको बिजनेस अधिक भएपनि नेपाल एयरलाइन्समा कार्गोको कुनै डिपार्टमेन्ट नै छैन । यतातिर जोड दिन उनको सुझाव छ । राष्ट्रिय ध्वजावाहकमा जहाज थप्दा त्यसले मुलुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ । ‘जहाज थप्नु भनेको पर्यटक भित्र्याउनु पनि हो,’ उनले भने, ‘नेपालमा झन्डै ९० अर्बको हवाई बजार छ, नेपाल एयरलाइन्ससँग जहाज नभएकै कारण ७० अर्ब विदेशी एयरलाइन्सले लैजान्छ ।’