ललितपुरका सीडीओलाई कोरोना पुष्टि, उपत्यकाका सीडीओको बैठक बस्दै - Nepal Watch Nepal Watch

कभर न्यूज

बैशाख २१, २०७८ मंगलबार


ललितपुरका सीडीओलाई कोरोना पुष्टि, उपत्यकाका सीडीओको बैठक बस्दै


काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूमा कोरोना संक्रमण पुष्टि भएकाले आज हुने भनिएको उपत्यकाका सीडीओबीचको बैठकमा आफ्नो भौतिक उपस्थिति नरहने निरौलाले जानकारी दिए ।

‘प्रविधिको प्रयोगमार्फत बैठकमा मेरो उपस्थिति हुनेछ, भौतिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारीको सहभागिता रहनेछ’, उनले भने । निरौला होम आइसोलेसनमा छन् । ‘मेरो स्वास्थ्य अवस्थामा समान्य नै छ । तै पनि सजक त हुनुपर्‌यो । त्यसैले मैले घरबाटै अनलाइनमार्फत बैठकमा उपस्थिति जनाउनेछु’, नेपालवाचसँग उनले भने ।

यस्तै, कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका सीडीओहरुको बैठक बस्दै छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइनेछ ।

उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि बुधबार मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ भने अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ ।

निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ । यसो त निषेधाज्ञाका बीच पनि मानिसहरुको आवातजावत र यातायातका साधनको भीडभाड सडकमा देखिएको भन्दै यसलाई थप कडाइ गर्ने तयारी भएको छ ।

यस्तै हाल बेलुका र बिहान दुई समय खाद्य पसर र डिपार्टमेन्टल स्टोरहरु सञ्चालनको अनुमति दिइएकामा अब बिहानको समयमा मात्रै सञ्चालन गर्न दिनेगरी निर्णय हुने बताइएको छ ।

सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडान सञ्चालनमा रोक लगाइसकेको सन्दर्भमा उपत्यका भित्रिने नाकाहरुमा पनि कडाइ गर्नेगरी छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्