NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

संक्रमित नेपालीको उपचारका लागि सन्दिप लामिछानेले बनाए ‘टीम सन्दिप’, सहयोगका लागि सबैमा अपिल

काठमाडौं । नेपालका लोकप्रिय क्रिकेटर सन्दिप लामिछानेले कोरोना संक्रमित नेपालीको उपचारका लागि सहयोग गर्न सबैमा अपिल गरेका छन् । देश तथा विदेशमा रहेका सबैसँग उनले नेपालीको उपचारका लागि सहयोगको याचना गरेका हुन् । सोमबारै बैंक एकाउन्ट खोलेका उनले सहयोगी सबैले सोही बैंक एकाउन्टमा सहयोग रकम उपलब्ध गराइदिन आग्रह गरेका छन् । उक्त एकाउन्टमा संकलित रकमको सम्पूर्ण अपडेट ‘टीम सन्दीप’ मार्फत गराउने पनि उनले जानकारी दिएका छन् । सहयोगबाट प्राप्त रकम स्थानीय निकाय र प्रशासन कार्यालयको समन्वयमा अति प्रभावित क्षेत्र र स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने पनि उनले बताएका छन् । ‘विश्वव्यापी महामारीको रूप लिएको कोभिड– १९को सङ्क्रमण र यसबाट मृत्यु हुनेको संख्या नेपालमा तीव्र गतिमा बढेसँगै सारा जनता र सिंगो देशले भयावह स्थितिको सामना गर्नुपर्ने निकै कठिन एवम् चुनौतीपूर्ण समय आएको छ, ’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सीमित अस्पताल एवम् भएका अस्पतालमा पनि बेड, आइसियु, भेन्टिलेटर, अक्सिजन सिलिन्डरको अभावका कारण दिनहुँ सयौं निर्दोष नेपालीले ज्यान गुमाउनु परेको छ । जताततै त्रास नै त्रास छाएको छ । करिब ३ करोड जनसंख्या रहेको हाम्रो देश नेपालमा दिनहुँ हजार भन्दा बढी संक्रमित एवम् सयभन्दा बढीको मृत्यु हुनु निकै दुखद् कुरा हो ।’ नेपाली जनताका निम्ति एकजुट भई आपसी सद्भाव र सहकार्यको जरुरत परेको भन्दै उनले महामारीको समयमा एक–अर्काको सहयोगको खाँचो परेको पनि उल्लेख गरेका छन् । ‘अनियन्त्रितजस्तै हुँदै गएको यस विषम परिस्थितिमा तपाईं हामी सबैले दृढ आत्मबलका साथ फेरि एकचोटि नेपाल र नेपाली जनताका निम्ति, हामी सबैका निम्ति, एकजुट भई आपसी सद्भाव र सहकार्यले यस कठिन समयको सामना गर्नुपर्ने बेला आएको छ । हाम्रो एकता, दृढ आत्मबल, सकारात्मक सोच, आपसी सद्भाव र सहकार्यले कोरोना विरुद्धको यो लडाइँ पक्कै पनि जित्न सक्छौं ।’ यसका निम्ति एकजुट भई आ–आफ्नो तर्फबाट सहयोग गर्न उनले देश विदेशमा रहेका आफ्ना सम्पूर्ण शुभ चिन्तकहरूमा अनुरोध गरेका छन् । ‘यसका निम्ति एकजुट भई आ–आफ्नो तर्फबाट सहयोग गरिदिनुहुन देश विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभ चिन्तकहरूमा हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन्, ‘सहयोगका निम्ति आजै मात्र एउटा नयाँ बैंक खाता खोलेको छु र यसमा जम्मा हुने सम्पूर्ण रकम कोभिड सङ्क्रमण रोकथाम, नियन्त्रण एवम् सङ्क्रमितको उपचारका निम्ति उपलब्ध गराउने विश्वास दिलाउन चाहन्छु । संकलन गरिएको रकमको सम्पूर्ण अपडेट ‘टिम सन्दीप’ ले गर्ने छन् । सहयोगबाट प्राप्त रकम स्थानीय निकाय र प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र र स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने जानकारी गराउन चाहन्छौं ।’ यो अभियानको प्रारम्भ गर्दै ‘टीम सन्दिप’का तर्फबाट तीन लाख रुपैयाँ जम्मा भइसकेको पनि उनले बताएका छन् । सहयोगका लागि बैंक एकाउन्ट : Bank Name: Century Commercial Bank Limited Account Name: Sandeep Lamichhane Account Number: 0170000353CA Branch: Putalisadak, Kathmandu Swift Code: CCBNNPKA

ताजा अपडेट

नेपालवाच विशेष