NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

२२ वर्षमा अधिकृत, अब पालो सचिव हुने

परीक्षा हलमा १० मिनेट ढिलो पुग्दा पनि नाम निस्कियाे

साँझको समय थियो । खान खाइवरी बसिरहेकी थिएँ । लोकसेवा पास भएको र अधिकृतमा नाम निस्किएको खबर आयो । खुशीले  भुईंमा खुट्टै रहेन । त्यसो त परीक्षा हलमा १० मिनेट ढिलो पुगेकी थिएँ ।

ढिलो पुगेको तनावमा दिएको परीक्षा हुँदा के होेला भन्ने हुटहुटी थियो । तर, नाम निस्किएको खबर सुनेपछि यी सबै तनाव एकसाथ पखालिएजस्तो भयो । दिमाग एकाएक हलुका भएर आयो ।

लोकसेवातिरको यात्रा
सानैदेखि समसामयिक विषयमा रुचि थियो । त्यसैले गर्दा हो– पत्रपत्रिका पढ्ने बानी बसेको । सम्पादकीय पढ्ने र टिपोट राख्ने गर्थें ।

स्नातक त पत्रकारितामा गरेँ माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट । त्यतिबेला २१ वर्षकी थिएँ ।

बुबा र हजुरबुबा पनि निजामती सेवामै भएकाले परिवारको इच्छा थियो– मैले पनि लोकसेवा पास गरूँ । त्यसको प्रभाव ममा पनि थियो । जीवनको निश्चित लक्ष्य बनाइसकेकी थिइनँ । स्नातक पढ्दै गर्दा राज्यको सेवा गर्ने माध्यम निजामती सेवा नै हो भन्ने लाग्यो । जीवनको लक्ष्य निर्धारण भयो ।

विद्यार्थी जीवनमा सामाजिक शिक्षामा राम्रो लगाव र समसामयिक विषयमा रुचि राख्ने स्वभावका कारण लोकसेवा तयारी गर्न सजिलो भयो मलाई ।

७४ सालबाट मैले अधिकृत भएर काम सुरु गरेकी हुँ । अहिलेसम्म आउँदा काममा परिपक्वता पनि बढेको छ । अबको सपना भनेको सचिव बन्ने छ । जुन ठाउँमा पुग्छु, त्यहाँ केही न केही सिर्जनात्मक परिवर्तन ल्याउने मन छ ।

स्नातक सकिएलगत्तै ३–४ महिना राम्ररी तयारी गरेँ । तर, रातभर निन्द्रा बिगारेर पढ्ने बानी भने थिएन । स्वास्थ्यलाई पहिलो प्राथामिकतामा राख्छु । परीक्षाका लागि २० दिन बाँकी हुँदा मैले राइटिङको क्लास लिएँ । त्यसअघि क्लास पनि लिएकी थिइनँ ।
भूगोल र मिति याद गर्नु मलाई कठिन लाग्थ्यो । त्यसका लागि कविता र गीत बनाउने शैली अपनाएँ ।

अधिकृतस्तरको तयारी गर्दा कुनै पनि विषयको चार आयाम बुझ्नुपर्छ भन्नेबारे अग्रजबाट सुनेकी थिएँ– राजनीतिक, आर्थिक, सामाजिक र वातावरणीय । यो जुक्तिले मलाई विश्लेषणात्मक उत्तर दिन धेरै सहयोग गर्यो ।

तयारीको समयमा किताबमात्रै नभएर इन्टरनेटको पनि उत्तिकै उपयोग गर्थें । दुवै माध्यमको सहायताले मेरो तयारीलाई थप बलियो बनायो जस्तो लाग्छ ।

तयारीका लागि सुझाव
मेरो अनुभवमा लोकसेवामा कति तयारी गर्ने भन्दा पनि कसरी तयारी गर्ने भन्ने कुरामा केन्द्रीत हुनुपर्छ । उत्तर दिँदा सटिक र विश्लेषणात्मक उत्तर दिनुपर्छ ।

कुनै पनि उत्तरको विश्लेषण गर्दा गर्दा ‘ट्रेन्ड एनालाइसिस’ गरेर दिँदा बढी सान्दर्भिक हुन्छ । समाजमा भएका घटनाबारे जानकार र अध्ययनशील हुँदा त्यसरी उत्तर दिन सहज पनि हुन्छ । सबै विषयवस्तु र समयको सन्तुलन मिलाएर तयारी गर्नुपर्छ ।

समय व्यवस्थापन गरेर तयारी गर्न जानियो भने दैनिक १०/१२ घण्टा नै तयारी गर्नुपर्छ भन्ने छैन । म आफैंले पनि रातभर कहिल्यै पढिनँ ।

उमेर त केवल संख्यामात्रै
शाखा अधिकृतमा नाम निस्किएपछि मेरो पहिलो पोष्टिङ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भयो । मैले काम गर्दा निजामतीमा त्यति धेरै महिला हुनुहुन्नथ्यो । अझ मेरै उमेरको त झनै कम हुनुहुन्थ्यो ।

सबैले सानै उमेरमा अधिकृत भएको प्रतिक्रिया दिन्थे । तर, मेरो लागि त उमेर केवल संख्या थियो । उमेर सानो भएपनि म आफ्नो क्षमतामा विश्वास राख्थेँ । त्यसो हुँदा मैले उमेरलाई लिएर धेरै तनाव लिइनँ ।

०७४ सालबाट मैले अधिकृत भएर काम सुरु गरेकी हुँ । अहिलेसम्म आउँदा काममा परिपक्वता पनि बढेको छ । अबको सपना भनेको सचिव बन्ने छ । जुन ठाउँमा पुग्छु, त्यहाँ केही न केही सिर्जनात्मक परिवर्तन ल्याउने मन छ ।

लोकसेवाको आकर्षण
मलाई आफूजस्तै युवा वर्गलाई लोकसेवामा आउन प्रेरित गर्न मन छ । एकै समयमा ठूलो मात्रामा परिवर्तन ल्याउन सक्नु नै लोकसेवाको आकर्षण हो । नीति नियममा बसेर काम गर्ने थलो हुँदा यसले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ । अहिले धेरै युवा लोकसेवामा आकर्षित भएको देख्दा खुशी लाग्छ ।
(जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग गोप्य र निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ। इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ। उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । त्यसका लागि सफल भएकाहरूको अनुभवले निकै मद्दत पुर्‍याउँछ। यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले ‘लोकसेवा अनुभव’ स्तम्भ सुरु गरेको छ । यसको तेस्राे श्रृङ्खलामा प्रस्तुत छ– घरेलु तथा साना उद्योग विभागमा कार्यरत अधिकृत रजनी रेग्मीको अनुभव । यो सामग्री नेपालवाचकर्मी कञ्चन न्यौपानेले रेग्मीसँग गरेको कुराकानीमा आधारित छ । –सम्पादक)