NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

जनार्दन र वर्षमानबीचको संघर्षमा देव गुरुङको ‘इन्ट्री’, प्रचण्ड कसको पक्षमा ?

काठमाडौं । पुस १८ मा अपुरो केन्द्रीय कमिटी चयन गर्दै आठौं महाधिवेशन सम्पन्न गरेको नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी चयन गर्न सकेको छैन ।  महाधिवेशनबाट २९९ मध्ये २३६ सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो । महाधिवेशनपछि पुस १९ मा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुंग्याउने दाबी गरेको थियो । तर, चीनमा उपाचारक्रममा रहेका नेता वर्षमान पुनले केही दिनका लागि बैठक स्थगित गर्न आग्रह गरेपछि केन्द्रीय कमिटी बैठक २५ गतेसम्म स्थगित भएको छ ।  सोमबार बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई पुनः सर्वसम्मत निर्वाचित गरिएको थियो । बाँकी पदाधिकारी सहमतिमा टुंगो लगाउने दाबी प्रचण्डको सचिवालयले गरेको छ ।

महासचिवमा जनार्दन शर्मा र वर्षमान पुन दुवैले दाबी गरेपछि यी दुई नेतालाई साइजमा ल्याउन प्रचण्डले देव गुरुङ कार्ड प्रयोग गरिएको हुनसक्ने बताइएको छ । त्यसो त गुरुङले पनि निर्वाचन प्रकृयामा जाने अवस्था आए महासचिवमा प्रचण्डले आफूलाई सहयोग गर्ने दाबी गरेका छन् ।  १५ सदस्यीय पदाधिकारी रहेको माओवादी केन्द्रमा महासचिव पद अहिले सबैभन्दा पेचिलो विषय बनेको छ । अध्यक्षपछि शक्तिशाली पद मानिएको महासचिवमा अर्थमन्त्रीसमेत रहेका संगठन विभाग प्रमुख जनार्दन शर्मा र पूर्वअर्थमन्त्री वर्षमान पुनबीच निकै रस्साकस्सी हुने देखिएको छ । डिस्चार्जपछि पुस २५ मा बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुने अध्यक्ष प्रचण्डलाई पुनले जानकारी दिइसकेका छन् । महासचिवको उम्मेदवारी दिने तयारीमा रहेका पुनले शर्मालाई पद छोड्ने पक्षमा नरहेको उनी निकट एक नेताले बताएका छन् ।

‘पार्टीमा उहाँले दिएको योगदान, योग्यता र क्षमताको आधारमा महासचिव दाबी गर्नु स्वभाविक हो’, पुननिकट एक नेताले नेपालवाचसँग भने, ‘उहाँ नेपाल आएपछि सहमतिमै महासचिव चयन हुन्छ ।’ पछिल्लो समय संगठनमा निकै प्रभाव जमाएका शर्माले महासचिव पद नछाड्ने अडानमा रहेका छन् । शर्मालाई महासचिव बनाउन अध्यक्ष प्रचण्ड पनि सकारात्मक रहेको उनीनिकट नेताले दाबी गरेका छन् । वडादेखि प्रदेशसम्मको अधिवेशनमा शर्माकै बचश्र्व रहेकाले उनी महासचिव बन्ने लगभग पक्का भएको निकटस्थहरूको दावी छ ।  ‘सबै हिसाबले महासचिवमा शर्मा नै उपयुक्त पात्र भएको हाम्रो ठम्याइ छ’, शर्मा निकट एक नेताले भने ‘उहाँलाई महासचिव बनाउन अध्यक्ष प्रचण्ड पनि सकारात्मक हुनेमा हाम्रो विश्वास छ ।’ शर्मा र पुनबीचको शक्ति संघर्षमा गुरुङको ‘इन्ट्री’ महासचिवलाई लिएर शर्मा र पुनबीच रस्साकस्सी चलिरहदा यसमा हँदा देव गुरुङ पनि सामेल हुने भएका छन् ।

उनले पनि महासचिवकै दाबी पेश गर्ने भएका हुन् । तर, दुईबीचमा सहमति नभएको स्थितिमा मात्र । ‘दुवै जनाको सहमतिमा महासचिव चयन भएको खण्डमा मेरो दाबी रहँदैन । अध्यक्षज्यूको चाहना पनि सहमतिमै महासचिव छनोट होस् भन्ने छ । पुस २५ मा बस्न लागेको केन्द्रीय कमिटीले यस विषयमा सहमतिमै टुंगो लगाउँछ’ भन्ने विश्वास छ’, गुरुङले भने, ‘दुवैबीच सहमति नहुने अवस्था आयो वा निर्वाचन प्रकृयामा जाने अवस्था सिर्जना भयो भने स्वभाविकरूपमा मेरो पनि दाबी रहन्छ ।’ निर्वाचन प्रकृयामा जाँदा अध्यक्षको समेत समर्थन आफूलाई रहने उनले दाबी गरेका छन् ।

‘सबैभन्दा पहिला उहाँहरू दुईजना मिलेर जानोस् भन्ने मेरो सुझाब छ । २५ मा बस्ने बैठकसम्ममा यस विषयमा उहाँहरू सहमतिमा आउनुभएन भने म दाबी पेश गर्छु’, गुरुङले भने ।  प्रचण्ड अफ्ठ्यारोमा केन्द्रीय कमिटीको बैठकबाट आफू अध्यक्षमा निर्वाचित भए पनि बाँकी केन्द्रीय कमिटी र पदाधिकारी चयन हुन नसक्दा प्रचण्ड अप्ठ्यारोमा परेका छन् । पहिलो केन्द्रीय कमिटीबाट नै सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा रहेका उनी आकांक्षी बढेपछि अप्ठ्रोमा परेका हुन् । महासचिवमा शर्मा र पुनबीच हानाथाप रहेको छ । शर्मा र पुन दुवै प्रचण्डका विश्वासिला पात्र हुन् ।

स्रोतका अनुसार शक्ति सन्तुलनको आधारमा दुवै जनालाई यतिबेला प्रचण्डले चिढ्याउन चाहेका छैनन् । पुन चीनबाट फर्किएपछि दुवै नेताको सहमतिमा दुईमध्ये एकजना महासचिव चयन गर्ने पक्षमा प्रचण्ड देखिएका छन् । सहमति हुन नसके निर्वाचन प्रकृयाबाट निचोडमा पुग्ने तर दुईमध्ये एकलाई आफूले नच्याप्ने मनस्थिति उनले बनाएको देखिन्छ ।  महासचिवमा शर्मा र पुन दुवैले दाबी गरेपछि यी दुई नेतालाई साइजमा ल्याउन प्रचण्डले गुरुङ कार्ड प्रयोग गरिएको हुनसक्ने पार्टीकै कतिपय नेताहरूले आशंका व्यक्त गरेका छन् ।

त्यसो त गुरुङले पनि निर्वाचन प्रकृयामा जाने अवस्था आए महासचिवमा प्रचण्डले आफूलाई सहयोग गर्ने दाबी गरेका छन् । पछिल्लोसमय संगठनमा निकै पक्कड बनाउँदै लगेका शर्मा तथा पार्टीभित्र र बाहिर प्रचण्डको हरेक गतिविधिमा साथ दिँदै आएका पुनबीचको शक्ति संघर्षमा प्रचण्डको साथ कसलाई रहला भन्नेमा सबैले उत्सुकतासाथ हेरेका छन् ।