NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रेमिट्यान्सको कथा : एनआरएनको झण्डामुनि हुण्डीको व्यापार

काठमाडौं । राज्यको मुख्य टाउको दुखाइको विषय बनेको हुण्डी कारोबारमा गैरआवासीय नेपाली संघका पदाधिकारीहरू नै संलग्न हुने गरेको पाइएको छ । गैरआवासीय संघलाई प्रयोग गरेर अधिकाशं पदाधिकारीहरू यस्तो कारोबारमा संलग्न हुने गरेको पाइएको हो । संघको नामबाट नेपाली कामदारहरुसँग सम्वन्ध विस्तार गर्ने र त्यो सम्बन्धलाई हुण्डी कारोबारीको थलो बनाउने गरेको भेटिएको हो । त्यस्तो कारोबारका लागि एनआरएनका पदाधिकारी तथा सदस्यहरूले एजेन्ट नै नियुक्ति गरेर काम गर्ने गरेको दक्षिण कोरियाबाट नागरिक संवाददाताले नेपालवाचलाई बताए । संघमा संलग्न सदस्य तथा त्यसका पदाधिकारीहरुले हुण्डीबाट कारोबार गर्न नेपाली कामदारहरुकाबीच विज्ञापन नै गर्ने गरेका छन् । उनीहरूले फेसबुकका ग्रुप बनाएर विज्ञापन नै गर्ने गरेको नेपाली कामदारहरू बताउँछन् । सिन्धुपाल्चोकका राम सुवेदी (नाम परिवर्तन) पाँच वर्ष दक्षिण कोरिया बसेर फर्किए । यसबीचमा उनले झण्डै एक करोड बराबर पैसा नेपाल पठाए । तर, ती सबै पैसा रेमिन्ट्यान्स कम्पनीबाट होइन, हुण्डीमार्फत नेपाल भित्रियो ।   दक्षिण कोरियास्थित नेपालवाचका नागरिक संवाददाताको भनाइसँग सिन्धुपाल्चोकका राम सुवेदी (नाम परिवर्तन) अनुभव ठ्याक्कै मिल्छ । सिन्धुपाल्चोकका सुवेदी पाँच वर्ष दक्षिण कोरिया बसेर फर्किए । यसबीचमा उनले झण्डै एक करोड बराबर पैसा नेपाल पठाए । तर ती सबै पैसा रेमिन्ट्यान्स कम्पनीबाट होइन, हुण्डीमार्फत नेपाल भित्रियो ।  नेपालवाचको सम्पर्कमा आएका सुवेदीले हुण्डीबाट पैसा पठाउने क्रममा यस्तो कारोबारमा एनआरएनका पदाधिकारी संलग्न हुने गरेको थाहा पाएका हुन् । अनेक सपना बोकेर ०७२ सालका कोरिया ओर्लिएका सुवेदी त्यहाँ पुगेको केही दिनमै काममा जोडिए । उनलाई नेपालमा रहँदा लागेको ऋण तिर्न ढिलाइ भइसकेको थियो । त्यसैले उनी पहिलो महिनाको तलब पाउनेबित्तिकै नेपालमा पैसा पठाउन चाहन्थे । सुवेदीले पैसा पठाउने प्रक्रियामा सहयोग गर्न सँगै काम गर्ने साथीलाई भने । उनलाई रेमिट्यान्स कम्पनीबाट मात्रै नेपालमा पैसा पठाउन सकिन्छ भन्ने ज्ञान थियो । तर साथीले फरक बाटो देखायो ।  सुवेदीका अनुसार एउटा साथीले एकजना नेपालीलाई भेटाए । उनी गैरआवासीय संघको सदस्य थिए । उनले नेपालमा घरमै पुग्नेगरी पैसा पठाइदिने बताए । आफ्ना साथीहरूले यसैगरी पैसा पठाइरहेको थाहा पाएपछि उनले पनि ढुक्क भएर कोरियामा रहेको एजेन्टलाई पैसा दिए । केही दिनमा घरबाट पैसा प्राप्त भएको खबर पाए ।  यस्तो कारोबारमा एनआरएनका पदाधिकारीहरू सबै सिधा सम्पर्कमा आउँदैनन् । उनीहरूले हुण्डी गर्ने र गराउने आफ्ना एजेन्ट खटाएका हुन्छन् । उनीहरुले कोरिया र नेपालमा आफ्नै एजेन्ट तोकेर उनीहरूलाई तलब खुवाएर खटाएका हुन्छन् ।  । सुवेदी भन्छन्, ‘विभिन्न समयमा एनआरएनका अध्यक्ष, उपाध्यक्ष, सचिवजस्ता पदमा बसेर काम गरेकाहरू नै हुण्डी कारोबारमा बढी संलग्न हुने गरेको पाइन्छ ।’ दक्षिण कोरियाबाट नेपाल हुण्डी कारोबार गर्दा कोरियामा मात्रै तीनवटा सञ्जाल रहेकाका छन् । सुरुमा कामदारहरूसँग पैसा संकलन गर्ने नेपाली नागरिक नै हुन्छन् । त्यो पैसा दोस्रो चरणमा एनआरएनका पदाधिकारीले संकलन गर्छन् । आफ्ना एजेन्टहरूबाट संकलन भएको पैसा एनआरएनका पदाधिकारीले एकमुष्ट संकलन गर्छन् । र, चाइनिज वा कोरियन व्यापारीसँग त्यो पैसा पुग्ने सुवेदी बताउँछन् । ‘सुरुमै नेपाली रेमिट्यान्स कम्पनीहरूले हुन्डीमार्फत पैसा पठाउन भन्दैनन्, तर एक–दुईपटक रेमिट्यान्सबाट पैसा पठाएपछि हुण्डीबाट पठाउन प्रस्ताव गर्छन्’, नाम नबताउने शर्तमा जापानस्थित एक नेपाली कामदारले नेपालवाचसँग भने ।  उनी थप्छन्, ‘त्यसपछिको चरण के हो हामीलाई पनि थाहा हुँदैन । त्यसपछि नेपालमा आफ्नो मान्छेले पैसा प्राप्त गर्छ ।’  हुण्डी कारोबारीको समस्या कोरियामा मात्रै होइन, जापानमा पनि उस्तै छ । जापानमा तीन बर्षदेखि कार्यरत सुजन लामा (नाम परिवर्तन) नेपाली समुदायको नेतृत्व पंक्तिमा रहेकाहरू नै हुण्डी कारोबारमा संलग्न हुने गरेको बताउँछन् । जापानबाट हुने हुण्डी कारोबारमा पनि विशेषगरी एनआरएनका पदाधिकारी र नेपाली व्यवसायी संलग्न हुँदै आएका छन् ।  लामा भन्छन्, ‘जापानमा नेपालीसँग हातमै नगद लिने हुण्डी एजेन्ट सामान्य नेपाली हुन्छन् । त्यसरी संकलन गरेको पैसा ठूला एजेन्टका रुपमा चिनिने एनआरएनका पदाधिकारी र नेपाली समुदायसँग सम्बन्धित विभिन्न संघ संस्थाका पदाधिकारीकहाँ पुग्छन् । त्यसपछि त्यो पैसा जापानको स्थानीय एजेन्टसम्म पुग्छ ।  जापानी पैसा येनको दर–रेट घटबढ भइरहन्छ । हुन्डी एजेन्टले जापानीज येनको दर–रेट घटेको बेला धेरैसँग पैसा किन्छन् र दर–रेट बढेको समयमा पठाउँछन् ।  जापानमा कार्यरत नेपाली कामदार तथा विद्यार्थीले त्यहाँ रहेका नेपाली रेमिट्यान्स कम्पनीहरू नै हुण्डीको कारोबारमा संलग्न हुने गरेको दाबी गरेका छन् । त्यहाँ खोलिएका रेमिट्यान्स कम्पनीका कर्मचारीले नै कामदार र विद्यार्थीलाई हुन्डीबाट पैसा पठाउदा बढी फाइदा देखाएर कारोबार गर्ने गर्छन् । ‘सुरुमै उनीहरूले हुन्डीमार्फत पैसा पठाउन भन्दैनन्, तर एक–दुईपटक रेमिट्यान्सबाट पैसा पठाएपछि हुण्डीबाट पठाउन प्रस्ताव गर्छन्’, नाम नबताउने शर्तमा जापानस्थित एक नेपाली कामदारले नेपालवाचसँग भने ।  हुण्डीबाट पैसा पठाउनेहरू लामा र सुवेदी मात्रै होइनन्, दक्षिण कोरियामा पाँच वर्ष बसेर फर्किएका सुर्खेतका पवन शाह (नाम परिवर्तन)ले सुरुको तीन वर्ष हुण्डीबाटै पैसा पठाए । उनको बुझाइ पनि त्यस्तै छ ।  शाह भन्छन्, ‘एनआरएनए र पार्टीका भातृ सङ्गठनका मानिस नै हुण्डी कारोबारमा संलग्न छन् । संघ–संस्थामा आवद्ध हुने र त्यसमार्फत धेरै मान्छेसँग चिनजान गर्दै हुण्डी कारोबारमा संलग्न हुने गरेका छन् । त्यस्ता एजेन्टहरुले एक जनाले ४० देखि ५० जना सम्मकोे पैसा उठाएर हुण्डी कारोबारमा संलग्न एनआरएनका पदाधिकारी र सदस्यलाई बुझाउँछन् ।  दक्षिण कोरियामा पुराना कामदारले नयाँ कामदारलाई हुण्डीको फाइदा बताउँछन् र एजेन्टलाई भेटाउँछन् । यसरी बैदेशिक रोजगारीमा एनआरएन, विभिन्न संघ–संस्था र दलका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु खुलेआम हुण्डी कारोबारमा संलग्न हुने गरेको पाइएको हो ।