NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

५ वर्षमा गर्ने भए ६ महिनाभित्र अर्को निर्वाचन भनेर संविधानमा किन लेखेको ? : संविधानविद् आचार्य

काठमाडौं । स्थानीय तहको निर्वाचनका विषयमा अहिले आफूखुशी व्याख्या गर्ने क्रम देखिएको छ । संविधानमा लेखिसकिएपछि अब अहिले आएर त्रुटि भयो भन्न मिल्दैन । अल्पविराम, पूर्णविराम जे लेखिएको छ अब यसैलाई मानेर जानुपर्छ ।

दलहरूले लामो समय छलफल गरेरै टुंग्याएको विषय हो यो । यसैले हामीले त्रुटि गर्यौ भनेर आफूखुशी व्याख्या गर्न मिल्छ ?
संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ । त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ’, भन्ने उल्लेख छ । संविधानको धारा २२५ को को अर्थ पाँचवर्षे कार्यकाल समाप्त भएपछिको ६ महिनाभित्र स्थानीय तहको चुनाव गर्न सकिन्छ भन्ने हो ।

एकैपटक चुनाव गर्दा जनमत प्रकट हुन पाउँदैन भन्नेमा कुनै तुक नै छैन । यहाँ आफूलाई मन लागेको बेलामा संविधानको धज्जी उडाउने अनि आफूखुशी व्याख्या गर्ने अभ्यास देखियो । पाँच वर्षमा गर्न सकिने भए दलहरूले ६ महिनाभित्र भनेर किन लेखेका ?

दलहरूले संविधानमा लेखिसकेपछि स्थानीय तहको चुनाव गरेको वैशाख २१ को ६ महिनाभित्र स्थानीय तहको चुनाव गर्न सकिन्छ । पाँच वर्षमा नै गर्ने भए ६ महिनामा गर्न सकिन्छ भनेर किन लेखेको ? पाँचवर्षे कार्यकाल समाप्त भएलगत्तै भनेर लेखिएको भए अहिले समस्या नै आउने थिएन ।

पाँचवर्ष र थप ६ महिना भनेर लेखिसकेपछि वैशाख २१ को ६ महिनाभित्र स्थानीय तहको चुनाव गर्दा प्रतिनिधि रिक्त भएको मानिँदैन । तर यहाँ जेठपछि प्रतिनिधि रिक्त भनेर प्रश्न उठाउने काम भएको छ ।

दलहरूले चाहे जेठमा स्थानीय तहको चुनाव गर्न सक्छन् । तर वैशाख अघि गर्दा भोलि प्रतिनिधिले पाँच वर्ष कार्यकाल पुगेन प्रश्न उठाउने ठाउँ रहन्छ । यसैले संविधान बमोजिम अघि बढ्नु उचित हुन्छ ।

यसरी स्थानीय तहको मात्रै होइन प्रदेश र संघीय चुनाव गर्न सबैको कार्यकाल पाँच वर्ष पुर्याउन पनि असोज वा कात्तिकमा दलहरूले चुनाव गर्न सक्छन् । यसरी चुनाव गर्दा संघको चुनाव एक महिनामात्रै तलमाथि हुने हो ।

तर हाम्रोमा कुन महिनामा चुनाव गर्दा कुन दलले हार्छ र कुन दलले जित्छ भन्ने कुरा नै अनुचित छ । संविधानमा जे छ त्यो सबैले मान्नुपर्छ ।

एकैपटक चुनाव गर्दा जनमत प्रकट हुन पाउँदैन भन्नेमा कुनै तुक नै छैन । यहाँ आफूलाई मन लागेको बेलामा संविधानको धज्जी उडाउने अनि आफूखुशी व्याख्या गर्ने अभ्यास देखियो । पाँच वर्षमा गर्न सकिने भए दलहरूले ६ महिनाभित्र भनेर किन लेखेका ?

आवधिक चुनावका विषयमा संविधानमा लेखेको विषयलाई धेरै तोडमोड गर्दा भोलि अराजकता फैलन्छ । यसैले दलहरूले तोडमोड गर्नेभन्दा संविधानअनुसार अघि बढ्नुपर्छ ।

(कुराकानीमा आधारित)

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८, १८:४२:००