NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

लोक सेवा आयोगको अधिकृत तहको परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुले ध्यान दिनुपर्ने कुराहरु

काठमाडाैँ । लोकसेवाको तयारी गर्दा धेरै कुरा ध्यान दिनु पर्दैन । तर जे कुरामा ध्यान दिनुपर्ने हो, ती कुरालाई चाँही धेरै गम्भिर रुपमा ध्यान दिनुपर्छ । अहिले बजारमा धेरै पढ्ने, आत्तिएर पढ्ने, भेटेजति सबै पढ्ने भन्ने अन्यौल हुने गरेको छ । यस्तो पढाइले विद्यार्थीलाई सफलता दिदैन ।

परिक्षाको तयारी गर्नुपूर्व विद्यार्थीले म कुन सेवा समूहमा परिक्षा दिदैछु भन्ने स्पष्ट हुनुपर्छ । त्यसपछि लोकसेवा आयोगले प्रकाशन गरेको सेलेवस लिनुपर्छ र त्यसलाई राम्रोसँग अध्ययन गरेर त्यस अनुसारको सन्दर्भ पुस्तकहरु कलेक्सन गर्नुपर्छ । लोकसेवालाई लक्षित गरेर बजारमा धेरै खालका किताव, गाइडहरु निस्किएका हुन्छन्, त्यो किताबबाट टाढा रहेर पढ्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

लोकसेवा आयोगको अधिकृतका तयारीमा रहेको व्यक्तिले पढ्नुपर्ने विषयहरु

– नेपालको संविधान पढ्नुपर्छ । संविधानका निर्देशक सिद्धान्तहरु, संविधानले राज्यलाई दिएको निर्देशन, मौलिक हक, संबैधानिक निकायहरु, राज्यको आर्थिक कार्यप्रणाली लगायत कुराहरुलाई एकदमै क्रिटिकल भएर अध्ययन गर्नुपर्छ । शब्दले के भन्न खोजेको छ, व्यवहारमा के छ भन्ने कुराहरु उसले पढ्नुपर्छ ।

– आवधिक योजना अर्थात अहिलेका लागि १५ औँ योजनालाई निकै महेनत गरेर पढ्नुपर्छ ।

– निजामति सेवा ऐन । निजामति सेवा ऐनले समग्र निजामति प्रशासनलाई दिशानिर्देश गर्ने भएकाले उक्त ऐन, नियमावलीहरुलाई मशिनो गरि पढ्नुपर्छ ।

– त्यसपछि चालु बर्षको बजेट, नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षणका तथ्यांकहरु गहन रुपमा अध्ययन गर्नुपर्छ । यससँगै नेपालको दिगो विकासको लक्ष्यलाई पनि राम्रोसँग पढ्नुपर्छ ।

– उल्लेखित विषयहरु पढ्दा हल्का रुपमा नभए हरेक शब्दको आशय र व्यवहारमा के भइरहेको छ भन्ने कुरा ख्याल गर्ने गरि पढ्नुपर्छ ।

– त्यसपछि पाठ्यक्रममा भए अनुसारको विषयवस्तुको सन्दर्भ सामाग्री कलेक्सन गर्नुपर्छ ।

पढ्दा ध्यान दिनुपर्ने विषयहरु

पहिला विषयवस्तुको अवधारणा के हो भन्ने कुरा बुझ्नुपर्छ । जस्तै निजामति सेवाको विषयमा अध्ययन गर्दा शूरुमा निजामति सेवाको अवधारणा के हो र कसरी आयो भन्ने कुरा प्रष्ट हुनुपर्छ ।

अवधारणामा स्पष्ट भएपछि त्यो अवधारणाले सिद्धान्तको कसरी विकास गर्यो भन्ने पढ्नुपर्छ ।

त्यसपछि त्यो विषयवस्तुको अवधारणा र सिद्धान्तलाई हाम्रो देशको कानुन र नीतिबाट कसरी समेटेका छौँ भनेर बुझ्नुपर्छ । पढ्नुपर्छ । जस्तै जलवायु परिवर्तनको विषयमा अध्ययन गर्न लागेको हो भने जलवायु परिवर्तन भनेको के हो ? यसको अवधारणा कसरी विकास भयो ? यसको सिद्धान्त के हो र यसलाई किन महत्व दिएका हौँ भन्नेकुरा बुझ्नुपर्छ ।

यसपछि जलवायु परिवर्तनका सन्दर्भमा हाम्रो देशले बनाएको कानुन के छ भनेर हेर्नुपर्छ । त्यो कानुनको ब्याख्या गरेपछि कानुनको कार्यान्वयनका लागि कस्ता कार्यक्रमहरु ल्याएका छौँ भन्ने पनि लेखिनु पर्छ । र त्यो कार्यक्रमका व्यवहारिक पक्षहरु कस्ता छन् भन्ने पनि पढ्नुपर्छ, परिक्षा दिदा लेख्नुपर्छ । व्यवहारजन्य पक्ष लेखेपछि अवधारणा, सिद्धान्त, कानुन र कार्यक्रमवीच ग्याव कहाँ छ भन्ने कुरा पनि लेख्नुपर्छ । अन्तिममा निष्कष लेख्नुपर्छ । यसरी हरेक विषयलाई यो विधीबाट पढ्नुपर्छ ।

तयारीको शिलशिलामा म अरु प्रतिस्पर्धीभन्दा नजान्नेमा पर्छु भन्ने मान्यता राखेर मेहनत गर्नुपर्छ । प्रत्येक दिन एउटा विषयमा पूर्ण अध्ययन गर्ने र अध्ययन गरेर कण्ठ गरेपछि परिक्षा नै हो भन्ने सम्झेर निश्चित समयभित्र लेख्ने अभ्यास पनि सँगै गर्नुपर्छ । यसरी हरेक शीर्षकमा ध्यान दिएर पढ्दै लेख्दै जाने अभ्यास गर्याे भने लोकसेवा परिक्षा पास गर्न अप्ठेरो पर्दैन ।

आत्तिएर पढ्यो भने परिक्षामा झनै असफल हुन सक्छ । धेरै पढाइले झनै असफल हुनसक्छ । त्यसैले हरेक कुरालाई सावधानिक रुपमा अध्ययन गर्याे भने तीन/चार महिनाको तयारीमा लोकसेवा परिक्षा उत्र्रिण गर्न सक्छ ।  दोस्रो र तेस्रो पेपरको तयारी गर्ने विद्यार्थीले ५० देखि ६० वटा विषयवस्तुलाई यो विधीमा अध्ययन गर्नुपर्छ ।