NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
मंगल मनोचिन्तन

उद्देश्य के लिनु, उडी छुनु मंगल एक

‘फ्याक्ट एन्ड फिक्सन’ (सत्य र कल्पना या आख्यान) बीच बस् सानो झिल्ली मात्र हुन्छ । बडा सुक्ष्म झिल्ली ।

वर्ष २०४८ मा म्हेपीमा ह्विल चियरमा बस्नुभएकी, महान् सर्जक पारिजात आन्टी (उही सकम्बरी) लाई सोधेँ, ‘सत्य र कल्पनाशीलताबीच के भेद हुन्छ ? अनुभव र यथार्थबीचको तादम्यता हामीले कसरी ठम्याउने ?’

पारिजात आन्टीले म १८ वर्षको फुच्चेको टाउको मुसार्दै भन्नु भो, ‘बाबु तिमी यथार्थ भोग, गहिराइ मै गएर भोग । जब लेख्न कलम समात्छौं, त्यहाँ यथार्थलाई पुष्टि गर्ने कल्पनाशीलता पनि घोल, यस्तो कल्पनाशीलता जुन यथार्थको नजिक होस् ।’
०००
साइन्स फिक्सन, मेरो प्यारो विधा ।

वैज्ञानिकहरू त गणितको सूत्रमा खेल्छन्, तर नयाँ आविष्कारको कल्पनाचाहिँ लेखकहरूले नै गर्छन् । दूरदर्शी कल्पनाको जगमा वैज्ञानिकहरू अनुसन्धान गर्छन् । र त्यसलाई पुष्टि गर्छन् ।

उदाहरणका लागि पिटर हिग्सकै कुरा गरौं । उहाँले चालीस वर्ष पहिले पदार्थको ‘थर्ड पार्टिकल’बारे अवधारणा ल्याउनु भयो । बिग एक्स्प्लोजन, बिग ब्याङ (महा विष्फोट)को थ्यौरीलाई अझ परिस्कृत गर्ने ।

नयाँ आविष्कारको कल्पनाचाहिँ लेखकहरूले नै गर्छन् । दूरदर्शी कल्पनाको जगमा वैज्ञानिकहरू अनुसन्धान गर्छन् । र त्यसलाई पुष्टि गर्छन्

समयको प्रारम्भको थ्यौरी । प्यारालाइसिस् भएको (यहाँ पारिजात आन्टीलाई पनि सम्झिएँ) एउटा महान् चिन्तकले हामी बाँचिरहेको यो ब्रम्हाण्डको भौतिक प्रक्रिया आफ्नो दिव्य चेतनामार्फत हामीलाई जानकारी दिनु भो कि पदार्थको सुरुवात कहिले भएको रहेछ भनेर । समयको सुरुवात । अ ब्रिफ हिस्ट्री अफ टाइम, द ग्रान्ड डिजाइन । उहाँका दुई महान् कृति ।
तर अध्ययन पूर्ण त थिएन नि । आखिर कसरी सानो स्पुन (चम्चा) मा अट्ने या भनौं तोरीको गेडाजत्रो आकारमा, या अझ सुक्ष्म ऊर्जा विष्फोट भएर यति विराट ब्र्र्रम्हाण्ड कसरी उत्पत्ति भयो ?

दूधमा थोरै दही राख्ने हो भने ब्याक्टेरीयाले प्रजनन गर्छ । रातभरि तीव्र प्रजननपछि बिहान दही जम्छ । त्यो दही भनेको ब्याक्टेरियाको प्रजननको उत्कर्ष हो ।

ब्रम्हाण्डको प्रजननचाहिँ कसरी भयो ? पदार्थको प्रजनन कसरी भो ? यहाँ मैले पृथ्वीको कुरा गरिरहेको छैन, भौतिक प्रजनन कसरी भयो त ?

अर्थात् एउटा म्याटर दुइटा कसरी भयो ? परमाणुको प्रजनन कसरी भयो ? कसले गरिरहेको थियो ?

स्टिफन हकिङले त दिनु भो थ्यौरी कि बिग ब्याङ हो, महाविष्फोट हो, तर सानो सुक्ष्म ऊर्जा यसरी फैलियो कसरी ?
हो, पिटर हिग्सले भन्नु भो, ‘तेस्रो पार्टिकल छ ।’

सुरुमा त कसैले पत्याएनन्, तर उन्नत चेतनाहरूले पिटर हिग्सको अवधारणा (अपुष्ट कल्पना, साइन्स फिक्सन) मा अध्ययन जारी राखे ।

आखिर परमाणुको प्रजनन कसरी भो ? यसमा बहस चल्दैथ्यो ।

केही वर्षअघि मेक्सिकोको कुनै ठाउँमा बिग मेसिन तयार गरियो । त्यो बेलासम्म अल्बर्ट आइन्सटाइनले परमाणुको नाभिकीय विखण्डनको सूत्र प्रतिपादन गरिसक्नुभएको थ्यो । हामीले परमाणुभित्र पनि इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन मात्र होइन, क्वार्क देखिसकेका थियौं र ‘अनिश्चितताको सिद्धान्त’ आइसकेको थियो । थ्यौरी अफ अनसर्टनेटी । पार्टिकलका मल्टी डायमेन्सन (बहुआयाम)को अध्ययन भइरहेको थियो ।

सवाल थियो, कसरी परमाणुको प्रजनन भो ? खोजे वैज्ञानिकहरूले ‘बिग मेसिन’मा । परमाणुको पार्टिकल न्युट्रोनलाई बिग मेसिनमार्फत माइक्रो पाइपमा राखेर विपरीत दिशाबाट आपसमा ठोक्काइयो । त्यो अदभूत घटना थियो । त्यसरी ठोक्किँदा झिलिक्क तेस्रो पार्टिकलको डिजिटल दर्शन भो । यसरी दर्शन भयो कि त्यसको रेकर्ड पनि राख्न नसकिने गरी ।
हाम्रो मेटाफिजिक्स अझ सुक्ष्म रहेछ भन्ने बोध भयो । त्यो दर्शन भएको पार्टिकलको नाम राखियो, ‘हिग्स बोसान’ । उही महान दूरदर्शी वैज्ञानिक पिटर हिग्सको नाममा ।

नासाका वैज्ञानिकहरू अति नै भावुक भए नयाँ तथ्यबोधपछि । उनीहरूले त्यसको नाम राखे, ‘गड पार्टिकल ।’

हिग्स बोसान, गर्ड पार्टिकल या थर्ड पार्टिकल, जेसुकै होस्, तर तेस्रो आयाम रहेछ भन्ने समाचार ‘नवभारत टाइम्स’मा पढेपछि मैले पनि आफू कार्यरत ‘अन्नपूर्ण पोस्ट् दैनिक’मा भावुक भएर लेखेँ, यसबारेमा ।
०००
अहोभाव पिटर हिग्स, हजुरले स्टिफन हकिङको समयको प्रारम्भको थ्यौरीलाई उतिबेलै निकास दिनुभएको रहेछ । अनि हामीले बुझ्यौं, सुक्ष्म ऊर्जा त्यही हिग्स बोसानका कारण विराट भएको रहेछ । अहिले पनि ब्रम्हाण्ड फैलिरहेको छ ।
सृष्टि र प्रलयको महान सिद्धान्त पूर्व र पश्चिसँग मित्र मिलन भो । उनीहरूले पनि स्वीकारे नि, पदार्थको प्रजनन ‘गड पार्टिकल’ले गरेको रहेछ भनेर । महाशक्ति ।

०००

अब कुरा क्लियर भइसक्यो, संसार या पदार्थलाई बुझ्न हामी अन्यौलमा छैनौं ।

सायद यही ज्ञानको पृष्ठभूमिमा जन्मिनुभएको हो, एलन मस्क ।

क्या अदभूत पात्र । म त टाढा छु, तर नजिक भएको भए उहाँलाई झ्याप्प अंगालो मार्ने थिएँ ।

प्रकृति बचाउन उहाँले निर्वाह गर्नुभएको भूमिका, कार्बनिक इन्धन विस्थापित गर्न र ग्लोबल वार्मिङ सन्तुलनमा ल्याउन उहाँले उत्पादन गर्नुभएको टेसला मोटर किनेर चढ्न त म नसकुँला, तर सलाम गर्छु, यो हिमवत खण्डबाट ।

०००

अब मार्स (मंगल)मा आउँ । यहाँ पनि साइन्स फिक्सनले ऊर्जा भरेको छ ।

सन् २०१५ मा बनेको थियो, हलिउड मुभी ‘द मार्टियन’ । यसले मंगल ग्रहमा गएका खगोलविदहरूको समस्या उजागर गरेको छ । मंगलबारे थुप्रै चलचित्र बनेका छन् । मंगलमा जाँदा के–के समस्या आउन सक्छन् भनेर आख्यान लेखिएको छ ।

नासाका वैज्ञानिकहरू अति नै भावुक भए नयाँ तथ्यबोधपछि । उनीहरूले त्यसको नाम राखे, ‘गड पार्टिकल

अर्को सन् २००० मा बनेको ‘मिसन टु मार्स’ । तर, यसअघिको ‘द लास्ट डे अन मार्स’ धेरै रोमांचक र अदभूत छ ।

सुन्तले पिण्डप्रति अब हाम्रो लगाव बढनुपर्छ । यसका धेरै अर्थवोध छन् ।

मंगल हाम्रो छिमेकी ग्रह हो । एलन मस्कले अब पठाउँदै हुनुहुन्छ मान्छेहरूलाई त्यहाँ ।

कसरी पठाउँदै हुनुहन्छ, अर्को आलेखमा लेखौंला ।

हल्का तातो छ । सुन्तले धूलो उड्छ । तर, हरितगृह बनाएर हामी त्यहाँ बाँच्न सक्छौं । त्यो त्यति सारै कठिन ग्रह होइन ।

अनुसन्धान चलिरहेको छ, केही लाख किलोमिटर टाढाको ग्रह न हो ।

एलन मस्कले त्यसमै काम गरिरहनुभएको छ । पृथ्वी संकटमा पर्दै हुनुहुन्छ । प्रकृति दोहन तिब्र छ । वैज्ञानिक समाजवादको अपरिहार्यता बोध भइसक्यो ।

स्काभेटर या डोजरले वनस्पतीलाई फाँडीरहेका छन् । पृथ्वीले कार्यकारण या कर्मको जवाफ त दिइहाल्नुहुन्छ नी, अतिरिक्त मूल्यका दलालहरूलाई ।

योबेला यही धर्तीमा, धर्तीको मानव सभ्यता बचाउन यदि कसैले मेहनत गरिरहेको छ भने त्यो एलन मस्क नै हो ।
जानेको सबै कुरा म यहाँ लेख्न असमर्थ छु । तर, मंगल मिसन प्रारम्भ भइसकेको छ । यो सफल पनि हुन्छ ।
पदार्थबारे बुझेपछि पिण्डहरूसँग तादात्म्य राख्ने प्रविधि जन्मीहाल्छ ।

यो सुखद खबर हो ।

उद्देश्य के लिनु, उडी छुनु मंगल एक ।

(क्रमशः….)