NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

राजनीतिका ‘छेपारा’हरू

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराई अवसरवादी राजनीति गर्न माहिर छन् । उनी कहिले माधव नेपाल गुट त कहिले केपी ओली गुटमा ओत लागेर स्वार्थको दुनो सोझ्याउँदै आएका छन् ।

केही वर्ष पहिलेसम्म भट्टराई एमाले अध्यक्ष ओलीका प्रिय पात्र थिए । एक पटक एउटा तस्बिर सामाजिक सञ्जालमा निकै ‘भाइरल’ भएको थियो । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा भएको रमझम पार्टीमा ओलीसामु भट्टराई मज्जाले नाचिरहेका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनताका अध्यक्ष ओलीले भट्टराईको निर्वाचन क्षेत्रमै गएर उनलाई जिताउन चुनावी सभामा भनेका थिए, ‘योगेश भट्टराईलाई जिताउनुभयो भने म उहाँलाई मन्त्री बनाउँछु, अनि त जिल्लाको विकास उहाँले बाहेक अरू कसले गर्नसक्ला ?’

नेकपाको करिब दुई तिहाइको सरकार बन्यो, तर तात्कालीन प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री बनाएनन् ।

सरकारमा अवसर नपाएपछि सचिव भट्टराई माधव नेपाल गुटतिर लागे । सरकारको कार्यशैलीको विरोध गर्न थाले । धेरै कचकच गरेकाले सन्तुलन मिलाउन ओलीले केही समयपछि भट्टराईलाई पर्यटनमन्त्री बनाइदिए ।

यस्तैमा नेकपाभित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच शीतयुद्ध प्रारम्भ भयो । अन्तर्कलह उत्कर्षमा पुग्न थाल्यो । योगेश पुनः माधव नेपाल गुटमा लागे । ओलीले दुई पटक संसद विघटन गरेपछि उत्पन्न परिस्थितिमा ०७७ को २३ फागुनमा सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लाई ब्युँताइदिएपछि नेकपा खारेज भयो ।

अवसरवादी राजनीतिको खेल यहीँनेरबाट उत्कर्षमा पुग्छ । माया गरेर मन्त्री बनाएका योगेश भट्टराई खुलेरै नेता नेपालको गुटमा लागे । ओलीविरुद्ध नेपाललाई उचाल्नु उचाले ।

त्यसैताक एक सभामा एमाले अध्यक्ष ओलीले भट्टराईतर्फ संकेत गर्दै भनेका थिए, ‘दौडी–दौडी गएर भोट मागिदिएर मन्त्री बनाएँ । उसका लागि अनेक थोक गरियो । एकदिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको, त्यही बैगुनी केटो पो रहेछ ।’

नेपालको राजनीतिमा अवसरवादी भड्काव प्रजातन्त्र स्थापनायता आजपर्यन्न जारी छ

प्रसंग यत्तिकैमा टुंगिदैन । सचिव भट्टराई र उपमहासचिव घनश्याम भुसाललगायतका युवा नेताहरूले नेता नेपाललाई कुन हदसम्म हौस्याए भने यिनकै आशामा उनले एमाले नै फुटाइदिए, नेकपा (एकीकृत समाजवादी) गठन गरे ।

अवसरवादी राजनीतिको रंग पुनः छताछुल्ल भयो । केही दिन अघिसम्म नेता नेपाललाई साथ दिएका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव भुसाल, सचिव भट्टराईलगायतका दर्जन नेताहरू एमालेमै रहने भए । उनीहरूले अन्तिम अवस्थामा आएर नेता नेपाललाई धोका दिए ।

सचिव भट्टराईलगायतका नेताहरूले बुझेका थिए, नेता नेपालले गठन गर्ने पार्टीको तुलनामा एमालेकै संगठन आधार बलियो छ । नेता नेपालको पक्षमा लाग्दा आउँदो चुनाव जित्न हम्मेहम्मे परिन्छ भन्ने उनीहरूलाई हेक्का थियो । अतः राजनीतिक इमानदारितालाई तिलाञ्जली दिँदै अवसरवादकै कोणबाट कथित ‘दशबुँदे’का नेताहरू पुनः ओलीकै पक्षमा उभिए ।

अवसरवादी राजनीतिको घानमा यिनै नेता परे । ०७८ असार १० मा भएको १० बुँदे सहमति (मुलतः पार्टी संरचना ०७५ जेठ २ को अगाडिको अवस्थाबाट सञ्चालन हुने सहमति) लाई अध्यक्ष ओलीले टेरपुच्छर लगाएनन् । बरु, उनले भनिदिए, ‘अब दशबुँदे सहमतिको ११ तारे बिगुल बजाइरहनुको कुनै औचित्य छैन ।’

एमालको चितवनमा सम्पन्न दशौं महाधिवेशनमा कुनै बेला नेता नेपालको पक्षमा रहेका यिनै ‘दशबुँदे’ नेताहरूको बिल्लिबाँठ भयो । अध्यक्ष ओलीले भिटो प्रयोग गरेर आफ्ना नजिकका ईश्वर पोखरेल र शंकर पोखरेललगायतका नेतालाई उत्तराधिकारीका रूपमा नेतृत्वमा स्थापित गराए भने घनश्याम भूसालजस्ता नेता पाखा पारिए । सचिव भट्टराई यसपालि पनि सचिवमै थन्किएका छन् ।

एमालेभित्र ‘दशबुँदे ब्राण्ड’ नेताहरूको अहिले खासै वास्ता गरिँदैन । अध्यक्ष ओलीले आफ्ना केही निकट नेताहरूसँग बसेरै निर्णय लिन्छन् । नेता नेपाललाई साथ नदिनुको परिणाम अचेल उनीहरू भोगिरहेका छन् ।

‘बादलहरू’को गुमेको राजनीतिक स्वत्त्व

माओवादी जनयुद्धताका फौजी नेतृत्वको बागडोर सम्हालेका रामबहादुर थापा ‘बादल’को राजनीतिक पथ पनि अवसरवाद नै देखियो ।

माओवादी शान्ति प्रक्रिया आएपछि अन्तरविरोधको बहानामा नेता मोहन वैद्य, नेत्रविक्रम चन्द र बादललगायतका नेताहरूले पार्टी विभाजन गराए । त्यसताक बादलको तारो प्रचण्ड नै थिए । हरेक भाषणमा उनी प्रचण्डको उछित्तो काढ्थे ।

चर्का क्रान्तिकारी नारा दिए पनि केही वर्षपछि बादललाई लाग्यो होला, अब फेरि प्रचण्डसँग नमिली राजनीति बच्नेवाला छैन ।

प्रचण्ड हदैसम्म लचक हुनसक्ने पात्र । उनले बादललाई माओवादी केन्द्रमा भित्र्याएनन् मात्र, नेकपाको सरकारमा गृहमन्त्री नै बनाइदिए, जुन बादलप्रतिको प्रचण्डको स्नेह नै मान्नुपर्छ ।

जब नेकपाभित्र अन्तरविरोध चर्कियो, त्योबेला स्वाभाविक रूपमा बादलले प्रचण्डलाई साथ दिनुपथ्र्यो, अवसरवादी राजनीति नगरेको भए ।

जसै एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किए, बादलचाहिँ रातारात एमाले भए । विगतमा एमालेलाई ‘घाँसमा लुकेको हरियो सर्प’, ‘संशोधनवादी भासमा जाकिएको, दलाल एकाधिकारवाद पुँजीवादको मतियार’ भन्ने बादल अचेल ‘एमाले भनेको सर्वहारा वर्गको पार्टी हो’ भन्न थालेका छन् ।

आखिर बादल एमालेमै किन रहे भने उनका लागि गृहमन्त्री पद प्यारो थियो । सरकार ढलिसकेको थिएन । उनको गृहमन्त्री पद पनि कायमै थियो । प्रचण्डतिर लाग्दा गृहमन्त्रीबाट राजीनामा दिनुपथ्र्यो ।

अवसरवादी स्वार्थकै कारण बादल, टोपबहादुर रायमाझी, प्रभु शाहलगायत नेता ओलीको पक्षमा उभिएको दृश्य नेपाली राजनीतिमा अनौठो मानियो ।

एमालेको दशौं महाधिवेशनमा कसोकसो बादल उपाध्यक्ष भए । विद्या भण्डारी हाल राष्ट्रपति भएकाले उपाध्यक्षको रिक्त स्थान बादलले पाएका हुन् भन्ने जगजाहेर छ ।

तर अन्य पूर्वमाओवादी नेता र कार्यकर्ताको सो पार्टीमा अहिले बेहाल छ । सम्मानित पद र जिम्मेवारी नदिइएको, आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा उपल्लो दर्जामा राखिएको गुनासो अचेल उनीहरूबाट सुनिन्छ ।

एमाले विभाजनताका दशबुँदेको रटान लगाउनेहरूलाई लक्षित गर्दै माधव नेपाल समूहका चार नेताहरू जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले विज्ञप्ति नै जारी गरेर भनेकै थिए, ‘यो ०७५ जेठ २ मा फर्किंने एजेण्डा राजनीतिक र वैचारिक छैन । दशबुँदेकै भरमा केपी ओलीसँग मिल्नु हुँदैन । हामी आफैं आफ्नो एजेण्डा छाडेर नैतिक र वैचारिक रूपले ‘घरको न घाट’को बन्ने दिशामा हिँड्न थाल्यौँ भने हाम्रो राजनीतिक स्वत्त्व बाँकी रहँदैन ।’

यी चार नेताले जे भनेका थिए, ठयाक्कै त्यही भयो । अहिले पूर्वमाओवादीबाट एमालेमा गएका र नेता नेपाललाई छाडेर दशबुँदेको रटान लगाई एमालेमै रहेका नेताहरूको हालत ‘घरको न घाट’को भएको छ । उनीहरूको राजनीतिक स्वत्त्व धरापमा छ । अवसरवादी राजनीतिको चोक्टा खान जाँदा झोलमा डुबेका छन् ।

प्रकाशमानको राजनीतिक क्षयीकरण

नेपाली कांग्रेसमा प्रकाशमान सिंहको भूमिका पनि यस्तै देखियो । गएको महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई हराउने र नयाँ नेतृत्व बनाउने भन्दै रामचन्द्र पौडेल, डा. शशांक कोइराला, डा. शेखर कोइराला र प्रकाशमान सिंह आदि नेताहरूले ‘देउवाइतर समूह’ बनाए ।

यो समूहको चलखेल निकै भयो । देउवालाई जसरी पनि सभापति हुन नदिने भन्दै कहिले बोहोराटारस्थित रामचन्द्र पौडेलको निवासमा त कहिले चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा अनेक मन्त्रणा र बैठकहरू भए ।

देउवाइतर समूहबाट सिंहसहित शेखर, शशांक र पौडेल सभापतिका दाबेदार थिए । जति कोसिस गर्दा पनि साझा उम्मेदवार नभएपछि हार खाएर पौडेलले ‘तपाईंहरू मिलेर एक साझा उम्मेदवार बनाए म आफ्नो दाबी छाड्छु’ भनेर लचकता देखाए ।

अन्त्यमा कुरा प्रकाशमान सिंह र शेखर कोइरालामा गएर अड्कियो । प्रकाशमानले आफू नै सभापति हुनुपर्ने हदैसम्मको अडान लिए ।

‘मैले पहिला पनि त्याग गरेकै हो, यसपालि त कुनै हालतमा दाबी छाड्दिनँ’ भन्दै अडिग रहे ।
यस्तो अडान राख्ने तिनै ‘देउवाइतर समूह’का प्रकाशमानले महाधिवेशनको मुखमा आएर रातारात क्याम्प बदले र सोझै सभापति देउवासँग साँठगाँठ गरे । उनले देउवालाई नै सभापतिमा समर्थन गर्ने निधो गरे ।

दुई दिन अघिसम्म देउवाको विकल्प खोज्न तत्पर सिंहको यही अवसरवादी राजनीतिकै कारण अब कांग्रेसमा उनको राजनीतिक वर्चस्वको ओज कमजोर भएको छ ।

किनकि, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माजस्ता अति महत्त्वाकांक्षी अनुहार आइसकेका छन् ।

कोइराला परिवारको मात्र होइन, चाक्सीबारीको ‘लिग्यासी’ पनि अब कांग्रेसमा समाप्त भएको छ ।

प्रकाशमान या डा. शेखरबीच सभापतिमा सहमति भएको भए सभापतिमा देउवा सोझै हार्ने थिए । सायद यो लिगेसी जोगिन्थ्यो होला, तर प्रकाशमान सिंहको ‘देउवा शरण’का कारण यो सम्भावना भताभुंग भयो ।

महेन्द्र नारायण निधि कांग्रेसका दिवंगतमध्येका सम्मानित नेतामा पर्छन् । उनकै राजनीतिक विरासत धान्न राजनीतिमा हेलिएका विमलेन्द्र निधि कुनै बेला देउवाका दाहिने हात थिए । पछिल्लो पटक उनी गृहमन्त्री हुँदा देउवासँगको उनको टसल महाधिवेशनसम्म आइपुग्दा पानीबाराबारकै स्थिति बन्यो । उनी देउवाविरुद्ध सभापतिमा खडा भए ।

आफ्नो पक्षमा माहोल बनाउने क्रममा उनले देउवाको उछितो काड्नुसम्म काडे । तर अन्तिममा उनी पनि १८० डिग्रीमा फनक्क घुमेर देउवाको ओत लागे ।

सिंह र निधि त अवसरवादका केही प्रतिनिधि पात्र मात्र हुन् । खोजीपस्ने हो भने कांग्रेसका कैयन् यो सूचीमा पर्छन् ।

इतिहासको अनुभव

अवसरवादी राजनीति अथवा आफूले बोकेको विचार पार्टी या मान्यतालाई चट्ट छाडेर विपरीत ध्रुवमा पलायन हुने प्रवृत्ति आजको होइन ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक केशरजंग रायमाझीकै कुरा गरौं । केशरजंग रायमाझी त ००६ साल वैशाख १० गते नेकपा स्थापना हुनुअघि गठित ‘माक्र्सिस्ट स्टडी सेन्टर’मा आबद्ध हाडर्कोर कम्युनिस्ट थिए । विस्तारै उनमा वैचारिक विचलन आउन थाल्यो । कालान्तरमा उनले राजालाई पनि मान्नुपर्छ भन्न थाले । उनीमाथि ‘राजापरस्त’ भएकोमा कारबाही पनि भयो ।

नभन्दै, ०१७ पुस १ मा राजा महेन्द्रले ‘कू’ गरेर शासन सत्ता हातमा लिए । कम्युनिस्ट पार्टीका महासचिव रायमाझीले राजाको कदमको स्वागत गरे । त्योे बेला पुष्पलाल सिंह, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारीले राजाको कदमको विरोध गरेका थिए ।
कालान्तरमा रायमाझी दरबार पसे । दरबारको राजसभा स्थायी समितिको सभापति नै भए । राजाका प्यारा भए । उनको यो अवसरवादी लाइनलाई कम्युनिस्ट आन्दोलनमा ‘रायमाझी पथ’ भन्ने गरिन्छ ।

यही पथमा लागेर कमलराज रेग्मी, खड्गबहादुर जिसीजस्ता कम्युनिस्ट नेताहरू पनि पञ्चायत प्रवेश गरे । रेग्मी गाउँफर्क अभियानको अध्यक्ष भए, जिसी अञ्चलाधीश ।

कम्युनिस्टहरु राजावादी हुने क्रम पछिसम्म जारी रह्यो । शाहीकालमा राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि झापा विद्रोहबाट उदाएका एमाले नेताहरू राधाकृष्ण मैनाली, देवी ओझादेखि कमल चौलागाईसम्म अवसरवादको चास्नी खोज्दै राजाको मन्त्री खान गए ।

उता, नेपाली कांग्रेसका एक से एक दिग्गज नेताहरू पनि अवसरवाद या वैचारिक स्खलनको भासमा जाकिए । ००७ सालको क्रान्ति सम्पन्न गरेका अनि नेपाली कांग्रेसका प्रथम निर्वाचित सभापति मातृकाप्रसाद कोइराला कालान्तरमा कांग्रेसबाट पलायन भई दरबार पसे ।

मातृकालाई राजा महेन्द्रले ०१८ सालमा अमेरिकाका लागि ‘शाही नेपाली राजदूत’ मात्र बनाएनन्, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि बनाए । ०३४ मा उनी राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत (दरबारबाट) भएर पक्का पञ्च बने ।

अर्का पात्र छन्, डा. तुलसी गिरी । उनलाई बिपी कोइरालाले स्नेह गरेर ०१५ सालमा कांग्रेसको महामन्त्री बनाएका थिए । तर उनमा पनि अवसरवादी पलायन देखापरिहाल्यो । ०१७ सालको ‘कू’का लागि राजा महेन्द्रलाई डा. गिरी र कांग्रेसका अर्का महामन्त्री ऋषिकेश शाहले उक्साएको कांग्रेस नेता रामहरि जोशीले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।

आखिर डा. गिरी र शाह दुवै पञ्चायती राजनीतिमा लागे । शाहलाई राजा महेन्द्रले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र अमेरिकाको राजदूत बनाएर पठाए । डा. गिरीलाई भने राजाले आफ्नो मन्त्री परिषदमा वरिष्ठ उपप्रधानमन्त्री बनाए । ज्ञानेन्द्रको शाहीकालताका भारत, बैंगलोरमै स्थायी बसोबास गरिरहेका डा. गिरी मन्त्रीमण्डलमा उपाध्यक्ष हुन हुर्रिएर आए ।

यही अवसरवादी होडमा डा. विश्ववन्धु थापा पनि मिसिए, जसलाई ०१५ सालको निर्वाचनपछिको संसदमा बिपीले कांग्रेस संसदीय दलको प्रमुख सचेतक बनाएका थिए । ०१७ सालपछि उनले पनि राजाको कदमको स्वागत गरे । राजाको मन्त्रिमण्डलमा गृहमन्त्री बने । ०२० सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष र पछि मन्त्रिपरिषदको उपाध्यक्ष नै बने ।