NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

तेस्रो भयो आयोजक क्यामरुन

काठमाडौं । आयोजक क्यामरुनले अफ्रिका कप अफ नेसन्स फुटबलमा तेस्रो स्थान हासिल गरेको छ ।

गएराति भएको खेलमा बुर्किना फासोलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै क्यामरुन तेस्रो भएको हो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जसमा क्यामरुनले बाजी मार्यो ।

पेनाल्टीमा आयोजक क्यामरुनका भिन्सेन्ट अबुबाकर, मौमी एनगामलेउ, कार्ल टोको, पिएरे कुन्डो र एमब्रोइसले गोल गरे ।

बुर्किना फासोका इसा काबोरे, सोउमैला क्वाटरा र स्टिभ योगाले गोल गरे पनि ब्लाटी टुरे चुक्न पुगे ।

पेनाल्टीअघि क्यामरुनका अबुबाकरले दुई तथा स्टेफन बहोकेनले एक गोल गरेका थिए ।

बुर्किना फासोका स्टिभ योगा, डिज्ब्रिल क्वाटराले एक–एक गोल गरे भने क्यामरुनका आन्द्रे ओनानाले आत्मघाती गोल उपहार दिएका थिए ।

उपाधि लागि आज राति इजिप्ट र सेनेगल भिड्दैछन् ।