NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

माओवादी केन्द्रले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८ र २९ गतेका लागि बोलाइएको हो ।

कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रुपमा नै बस्न लागेको हो । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी), स्थानीय तहको निर्वाचनको घोषणापछिको अवस्था, पार्टीको पदाधिकारी चयनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यतिबेला एमसिसीको विषयले चरमरूप लिइरहेको छ । अमेरिकाले चाँडै पारित गनै दबाब दिइरहेको छ । यता, सत्ता गठबन्धनभित्रै एमसिसीबारे सहमति हुन सकेको छैन । माओवादीको बैठक यसैको सेरोफेरोमा बोलाइएको छ ।

अर्कोतिर गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।

बैठकमा केन्द्रीय सदस्यको मनोनयन, पोलिटव्यूरो, स्थायी समितिको चयन एवम् पदाधिकारी चयन गर्ने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको माओवादीले जनाएको छ ।