NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मेरो नजरमा नेपालको सरकारी सेवा ‘जहाँ रोपिन्छौ त्यही फूल्नुपर्छ’

काठमाडाैँ ।  सरकारी सेवामा प्रवेश गर्नु मेरो सपना थिएन।अन्तस्करणले खोजेको पेशाविद् हुने चाह, स्थायित्व सहितको दिगो जीवनयापनको सुनिश्चितता तथा सामाजिक पहिचानको खोजी र प्राप्ति सायद सरकारी सेवा नै थियो, फलस्वरुप एक वृत्ति अँगाल्ने क्रममा सरकारी सेवामा प्रवेश गर्न पुगियो ।अर्थात कुनै खास लक्ष्य वा ठूलो आकांक्षा र आशक्ति रहेन सेवा प्रवेशमा । कुनै ठोस योजनाबद्ध वृत्ति योजना अंगालेको पनि होइन् । तत्काल उपलब्ध विकल्प मध्ये उत्तम विकल्पको छनोट गरिएको मात्र हो जुन हाल पनि जारी छ ।” ब्लुम ह्येरएभर यू आर प्लान्टेड” अर्थात जहाँ रोपिन्छौ त्यही फूल्नुपर्छ भन्ने एक विद्वानको भनाईलाई आफ्नो अभिष्ट र जीवन मान्यताको रुपमा लिई अगाडि बढेको ठानेको छु।

व्यवसायिक रुपमा सरकारी सेवा प्रतिको मेरो भिजन तीनवटा विश्वासहरुबाट निर्देशित रहेका छन् भन्ने लाग्दछ । पहिलो इमान्दार प्रयास, दोश्रो जोखिम बहन र तेश्रो फराकिलो सोच ।यी र यस्तै अन्य कर्मोन्मुख व्यवहार व्यक्तित्व विकास र  नेपालको सार्वजनिक प्रशासनलाई नतिजाकेन्द्रित र जनअपेक्षित तुल्याउन आवश्यक पर्दछ । एक्लै बसेर ‘आँखा चिम्ली हेर्दा’ आफैलाई हिनतावोध नहुने कर्म र यदि भएको भए त्यस्तो कर्म भविष्यमा सदाको लागि परित्याग गर्ने कृतसंकल्प एक कर्मचारीको जीवन दर्शन बन्नु पर्दछ भन्ने लाग्दछ । नतिजा र यसको प्रभाव एक सरकारी वेतनधारीको बशमा नहोला तर नागरिकको सुख र समृद्धि निर्माणमा महत्वपूर्ण योगदान पुग्ने गरी क्रियाशील रहन जरुरी छ । अर्थात सरकारी सेवाले प्रदान गर्ने आत्मिक सन्तुष्टि सहितको पेशाविद् बन्ने र राष्ट्रसेवाको माध्यमद्वारा विकासमा योगदान गर्ने अवसरको अधिकतम उपयोग गर्ने गरी हाम्रा सोच र कर्म परिलक्षित गर्न सक्नु पर्दछ ।

दृष्टिकोण वृत्ति, सेवा र शासनको त्रिवेणी

सरकारी सेवाका हालसम्मको अनुभवमा यसलाई हेर्ने, बुझ्ने र अभ्यास गर्ने फरक फरक शैलीहरु देखिए ।प्राज्ञिक क्षेत्रमा समेत सरकारी सेवाको परिभाषा र कार्यशैलीका विषयमा विभिन्न सिद्धान्तहरु प्रतिपादित भएका छन् ।  सरकारी सेवा र कार्यरत कर्मचारीलाई निश्चित विधि र प्रक्रिया अवलम्वन गरी नतिजा वा उत्पादन गर्ने यान्त्रिक संयन्त्रको रुपमा पनि लिएको पाइन्छ । अर्कोतिर मानवीय पक्ष आत्मसात गर्ने आत्मिक शुद्धिकरण सहितको सेवामूलक र व्यवसायिक, जीवन्त प्रणालीको रुपमा पनि व्याख्या भएका छन् । प्राज्ञिक बहसलाई एकातिर राखेर हेर्दा सरकारी सेवामा प्रष्ट छुट्टयाउन नसकिने कार्यशैली जुन स्थानीय भूगोल र सामाजिक परिवेशमा धेरै निर्भर रहेको पाइन्छ । संसारभरका सरकारी सेवामा रहेका धेरथोर सकारात्मक र नकारात्मक पक्ष नेपालको सरकारी सेवामा पनि रहेको छ । मात्रात्मक विश्लेषण फरक हुन सक्दछ ।विद्वान वा पेशाविद्हरुको दृष्टिकोण फरक फरक हुने भएतापनि मुलभूत रुपमा सरकारी सेवा राज्यको राजकीय सत्ताको अभ्यास गर्ने गराउने एक कानूनी वैधानिकता प्राप्त प्रणाली हो ।

एक्लै बसेर ‘आँखा चिम्ली हेर्दा’ आफैलाई हिनतावोध नहुने कर्म र यदि भएको भए त्यस्तो कर्म भविष्यमा सदाको लागि परित्याग गर्ने कृतसंकल्प एक कर्मचारीको जीवन दर्शन बन्नु पर्दछ भन्ने लाग्दछ । नतिजा र यसको प्रभाव एक सरकारी वेतनधारीको बशमा नहोला तर नागरिकको सुख र समृद्धि निर्माणमा महत्वपूर्ण योगदान पुग्ने गरी क्रियाशील रहन जरुरी छ ।

जनताको नजरमा सरकार हो भने राजनीतिक सत्ताको लागि ज्ञानेन्द्रिय र कर्मेन्द्रिय दुवै हो सरकारी सेवा । एक कर्मचारीको दृष्टिले खुशी र गुनासोको मिश्रणयुक्त जीवन वृत्ति हो । कसैका लागि यो जागिर मात्र हो भने कसैका लागि काम, पद र प्रतिष्ठा बढि हो । मेरो दृष्टिकोणमा सरकारी सेवा यी सबै अवयवको सम्मिश्रण हो । जेहोस, सरकारी सेवा एक कर्मचारीको जीवन सिक्काको अर्को पाटो हो। यो एक गर्विलो पेशा हो जहाँ सर्वसाधरण नेपालीको सन्तान मुलुक र समाजको लागि आफ्नो योगदान दिने पाउने र सक्ने स्थानमा रहन्छ । व्यवसायिकता र कार्यकुशलताको माध्यमबाट सार्वजनिक सुख, शान्ति, अमन चैन र विकासको फल प्रवाह गर्ने महत्वपूर्ण भूमिका रहेको हुन्छ। शुद्ध विचार, कर्तव्यपरायणता र उच्च कार्यसम्पादनका माध्यमबाट राज्यको नीति सार्वभौमसत्ता सम्पन्न जनतामा ‘डेलिभरी’ गर्ने अधिकार र सुविधा पाउनु सरकारी सेवाको सबैभन्दा ठूलो आकर्षण हो ।

पेशाविद्, सेवक र शासक बन्ने तीनै प्रकृतिको अवसर सरकारी सेवामा रहेको छ । राजनीतिक नेतृत्वले मूलत सोच, नीति र मार्गदर्शन प्रदान गर्दछ । यी सोच र चाहनालाई मूर्त रुप दिन आवश्यक नीति, योजना तथा कार्यक्रम तर्जुमा र यसको कार्यान्वयन क्षमताका लागि ठूलो विशेषज्ञताको आवश्यकता पर्दछ ।यसबाट सरकारी सेवा भित्रैबाट गण्यमान्य योजनाकार, नीतिवेत्ता, अर्थशास्त्री लगायतका पेशाविद्हरुको जन्म भएको पाइन्छ ।सुकिलो र सहज जीवन बृत्ति प्रदान गरेको छ सरकारी सेवाले व्यक्तिलाई । त्यसैगरी सेवा त यसको नाम नै हो । दुर्गम र पिछडीएका भूभागमा बस्ने मानवीय र आर्थिक सूचकमा ज्यादै कमजोर अवस्थामा रहेका नागरिक लगायत सबै नेपालीको सेवा गर्ने अवसर सरकारी सेवाले प्रदान गरेको छ । शासक भन्ने शब्दको लुकेको भाव केही नकारात्मक सुनिए तापनि सकारात्मक अर्थमा प्रत्यायोजित विधायनको माध्यमबाट प्राप्त हुने अधिकारले शासकीय भूमिकामा सरकारी सेवालाई राखेको छ । सम्पूर्ण ‘गभर्नेन्स’मा प्रभावशाली भूमिका सरकारी सेवाको रहन्छ । यसरी निजामती सेवा वृत्ति, सेवा र शासनको त्रिवेणीको रुपमा रहेको छ ।

आध्यात्मिक दृष्टिकोणबाट हेर्दा सरकारी सेवा त्वदीयं वस्तु गोविन्दं तुभ्यमेव समर्पये नै हो । सार्वभौमसत्ता सम्पन्न जनताले दिएको राजनीतिक अधिकार र सम्पत्ति उनै जनता र मुलुकको हितमा परिचालन एवं व्यवस्थापन गर्ने जिम्मेवारी सवै सरकारी सेवाको हो । प्राकृतिक जन्म, पञ्चतत्व माथिको निर्भरता र अन्त्यमा यसैमा विलिन हुने चक्र जस्तै हो सरकारी सेवा, जहाँ र जे बाट जन्म्यो त्यही र त्यसकै लागि कर्म गर्ने र त्यसैमा समाहित हुने ।

भविष्य, अवसर र समस्या

सर्वसाधरण मानव भविष्यको चिन्ता गर्ने गर्दछ । सरकारी सेवामा भविष्य देखेका कर्मचारी सेवा कै भविष्यप्रति कति गम्भीर छन भन्ने एक अहम् प्रश्न रहेको पाइन्छ । अर्थशास्त्रको सामान्य नियम अनुसार लगानीले प्रतिफल निर्धारण गर्दछ । कम्पनीको मुनाफा र साखमा अभिबृद्धि भयो भने मात्र लाभांस पाउन सकिने हुन्छ । यही सामान्य बुझाइकै आधारमा पनि सरकारी सेवाको उत्पादकत्वमा नै सरकारी कर्मचारीको पनि हित निहित रहने तथ्यलाई आत्मसात गर्नु आजको आवश्यकता हो ।

राजनीतिक संक्रमणकालको अन्त्यसँगै प्राप्त उन्नत राजनीतिक व्यवस्था सहितको संविधानले नेपालको सार्वजनिक क्षेत्रको सुधारमा प्रशस्त सम्भावनाहरु ल्याएको छ । कति अवसरहरु टरेर गइसके कति आइरहेका पनि छन् । यी सबै अवसरको स्थायी कर्ता र करणी सरकारी सेवा हो । कार्यविधिगत तवरले नागरिकलाई नागरिक वा अनागरिक बनाउन सक्दछ कर्मचारीले । दूरदराजको किसानलाई मल बीउ उपलब्ध गराउने वा नगराउने एक कर्मचारीको सोच र सम्पादनमा धेरै हदमा निर्भर गर्दछ । बलियो पूल र टिकाउ सडक बनाउने वा नबनाउने कर्मचारीको इमान्दार प्रयासमा धेरै हदमा निर्भर हुन्छ । यी त केही उदाहरण मात्र हुन । यहाँ मुलुकको विकास र समृद्धिको सारथी बन्ने अवसर केवल सार्वजनिक क्षेत्र र यसका क्रियाशील कर्मचारी एवं विज्ञहरुमा निहित छ । सरकारी सेवा र यस क्षेत्रको भविष्य यसको कार्यसम्पादनसँग प्रत्यक्ष जोडीएको हुन्छ । नतिजामा केन्द्रित काम कारबाही र स्वयं अनुभूत इच्छाशक्तिको माध्यमबाट नेपालको सार्वजनिक क्षेत्रलाई सुनौलो इतिहास लेख्ने अवसर छ अहिले ।

तर बिडम्वना, सरकारी सेवा परम्परागत समस्याहरु र नवीन चुनौतीहरुले घेरिएको छ। कानून  र विधिको कमजोर परिपालना, सेवा प्रवाहमा अस्वभाविक लागत र गुणस्तर, भ्रष्टाचार अनियमितता एवं नैतिक मूल्यको कमी, जिम्मेवारी र जवाफदेहीता प्रतिको उदासिनताले नेपालको सार्वजनिक क्षेत्रलाई गम्भीर संक्रमण गरी प्रणालीलाई नै बिरामी पारेको अवस्था देखिन्छ।

सार्वजनिक क्षेत्र खास गरी सरकारी सेवामा रहेको जटिल बिमारको तत्काल निदान र उपचार जरुरी छ । यसका लागि गुण र दोषको परख, परम्परागत चाकडी र चाप्लुसीको अन्त्य र कार्यसम्पादनमा आधारित व्यवस्थापन अवलम्बन गर्नुपर्दछ। ‘परफर्मर’ र ‘ननपरफर्मर’को भेद छुट्टयाउन सक्नुपर्दछ र सोही बमोजिमको व्यवहार गर्नु आवश्यक छ । भोलिको भविष्य र व्यक्तिगत अभिलाषालाई केन्द्रमा राखी लाभको गणना गरेर निर्णय गर्ने व्यवहारको अन्त्य हुन जरुरी छ ।यसो हुन सके मात्र सरकारी सेवामा रहेको लुम्सोपना, असंवेदनशीलता, र सुधार प्रतिको शिथिलतालाई हटाई चुस्त दुरुस्त एवं परिणाम र प्रभावमुखी तुल्याउन सकिन्छ । बजारका मेधावीहरुले भरिएको भनिएको सरकारी सेवाले ‘प्रणाली धान्ने’ काम मात्र गरेर पुग्दैन् । कार्यान्वयन स्तरमा खरो उत्रनु आवश्यक छ । सरकारी सेवाले प्रवाह गर्ने न्यूनतम ‘डेलिभरी’ को सुनिश्चतता गर्न सकियो भने बल्ल यसको गुणात्मक र नवप्रवर्तनशील प्रवर्द्धनको ढोका खुल्दछ ।

सरकारी सेवामा रहेका तमाम विकृति र विसंगतिहरुको सूची जति लामो बनाए पनि यसको सुधारको विकल्प छैन । इमान्दार प्रयास, जोखिम बहन र फराकिलो सोचका साथ अघि बढनु जरुरी छ । असल शासन अपेक्षित ‘पब्लिक डेलिभरी’ मार्फत नागरिकको सुख र मुलकको समृद्धि हासिल गर्ने लक्ष्यको साधान सुधारिएको प्रशासन नै हो । अझ अर्को अर्थमा भन्दा सरकारी सेवाको सुधार मुलुकको विकास र नागरिकको खुसीको साधन हो । स्वस्थ र सबल प्रशासन विना जअपेक्षा बमोजिम कार्यसम्पादन गर्न नसकिने हुनाले तत्कालको लागि प्रशासनिक सुधार र शुद्धिकरण साध्य पनि बन्नु पर्ने देखिएको छ, जुन सम्भव छ ।