NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

विवादमा त्रिभुवनको शालिक, भत्काइने डरले रुँघ्छन् राप्रपाका कार्यकर्ता रातभर

काठमाडौं । बाँकेको नेपालगञ्जमा डेढ दशकअघि भत्किएको राजा त्रिभुवनको शालिक ठडिएसँगै विवाद सुरू भएको छ । ०६२-६३ को जनआन्दोलनताका भत्किएको उक्त शालिकको पुर्नस्थापनाबारे लामो समयदेखि छलफल हुँदै आएको थियो । पक्ष-विपक्षको छलफल नै नटुंगिइ शालिक पुर्नस्थापना भएकाले यसबारे थप विवाद बढ्न सक्ने भन्दै विभिन्न सुरक्षा निकायले सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा शनिबार नेपालगञ्ज उप महानगरपालिका ११ स्थित साविकको त्रिभुवनचोकमा स्वतन्त्र जिल्लावासीको तर्फबाट राजा त्रिभुवनको शालिक पुुर्नस्थापना गरिएको थियो । शिवसेना नेपालका केन्द्रीय महासचिव मंगल जिएम, राष्ट्रिय प्रजाततन्त्र पार्टीका केन्द्रीय सह–महामन्त्री ऋषि देवकोटा, युवक संगठन बाँकेका अध्यक्ष हुकुम केसीलगायत ६०-६५ जनाको उपस्थितिमा शालिकको पुर्नस्थापना भएको हो ।

०६२-०६३ को आन्दोलनको क्रममा तोडफोड भएपछि राप्रपा लगायतका हिन्दूवादी पार्टी एवं धार्मिक संघ÷संस्थाहरूले त्रिभुवनको शालिक पुर्नस्थापना गर्न माग गर्दै आएका थिए ।

एकातिर पुर्नस्थापनाको माग भइरहेको थियो भने अर्कोतर्फ विरोधी पक्षले शालिक रहेकोे स्थानलाई आफ्नो हिसाबले नामाकरण गर्दै आइरहेका थिए । उक्त शालिक पुर्नस्थापनाको विरोधमा रहेको जनता समाजवादी पार्टीले मधेसका शहीदको सम्झनामा उक्त स्थानलाई मधेस चोक नामाकरण गरेको थियो । त्यस्तै, जनमत पार्टीले शहीद कमल गिरी चोक नामाकरण गरेको थियो ।

शालिक पुर्नस्थापना गरेकै दिन विरोधमा उत्रिएका समूहबाट शालिकमा क्षति पुग्न सक्ने सम्भावनालाई टार्न राप्रपाका कार्यकर्ताहरूले रातभर शालिकलाई पहरा दिएका थिए ।

सँगै, राप्रपा तथा धार्मिक संघ-संस्थाका प्रतिनिधिले शालीक हटाउने प्रयास भएमा त्यसको प्र्रतिकार गर्ने र यसको जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी दिएका छन् ।

त्यसो त विपक्षीहरू शालिक पूर्नस्थापनालाई लिएर खुशी छैनन् । जसपाका नगर अध्यक्ष श्रवणकुमार यादव लगायतका नेता कार्यकर्ताहरूले स्थानीयसँगको कुराकानीमा यसको विरोध गर्दै आइरहेका छन् । शालीक पूर्नस्थापनाको विषयलाई उनले ‘निरंकुश राजतन्त्र र तिनका शालिकलाई प्रतिगमननकारीहरूले पुनर्जीवित गर्न खोज्नु दिवा सपना मात्र हो र शान्ति सुरक्षाको जिम्मेवारी पाएको सम्बन्धित पक्षले उक्त

शालिक नहटाएको खण्डमा स्थानीयवासीको नेतृत्व गर्दै पार्टी आफैंले हटाउने’ बताएका छन् ।

पार्टी सम्बद्ध कार्यकर्ताहरूले पनि त्रिभुवनको शालिक राख्ने कार्य स्वीकार्य नभएको जनाउन थालिसकेका छन् ।

विगतमा पनि सोही स्थानमा त्रिभुवनको शालिक पुर्नस्थापनाको विषयलाई लिएर विवाद भएको थियो । स्थानीय प्रशासनको पहलमा पटक–पटक सर्वदलीय, सर्वपक्षीय छलफलमा सहमति हुन सकेको थिएन । सहमति नजुट्दा नजुट्दै उक्त शालिक राखिएसँगै समर्थन र विरोधमा रहेका पक्षले आ–आफ्नो राजनीतिक वर्चस्व देखाउन विवाद थप चर्काउन सक्ने सुरक्षा निकायले जनाएका छन् ।