NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जीवन बीमा कम्पनीको ४१ प्रतिशत व्यवसाय वागमती प्रदेशमै केन्द्रित

सावधिक जीवन बीमाको हिस्सा ३३ प्रतिशत

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूलाई ग्रामीण क्षेत्रमा जान निर्देशन दिए पनि जीवन बीमा कम्पनी सुगमकेन्द्रित देखिएका छन् । बीमा समितिको तथ्यांकअनुसार नेपालको सुगम मानिने वाग्मती प्रदेशमा मात्रै यस्ता कम्पनीको ४१ प्रतिशत हिस्सा केन्द्रित छन् ।

चालु आर्थिक वर्षको माघ महिनाको तथ्यांकअनुसार १९ जीवन बीमा कम्पनीहरूले वागमती प्रदेशबाट मात्रै चार अर्ब ३४ करोड ८८ लाख बीमा शुल्क संकलन गरेको छ । यो कुल बीमा शुल्कको ४१.८६ प्रतिशत हो ।

त्यस्तै, जीवन बीमा कम्पनीहरूले दोस्रो धेरै व्यवसाय लुम्बिनी प्रदेशमा गरेका छन् । कम्पनीहरूले एक अर्ब ६१ करोड ७२ लाख बीमा शुल्क आर्जन गरेका छन् । जुन कुल बीमा शुल्कको १५.५७ प्रतिशत हो ।

तेस्रो धेरै बीमा शुल्क संकलन गर्ने प्रदेश भने प्रदेश नम्बर एकमा रहेको छ । उक्त प्रदेशमा जीवन बीमा कम्पनीहरूले एक अर्ब ३० करोड ७१ लाख बीमा शुल्क आर्जन गरेको छ । जुन कुल बीमा शुल्कको १२.५८ प्रतिशत रहेको छ ।

त्यसैगरी, कम्पनीहरूले गण्डकी प्रदेशबाट १०.७३ प्रतिशत अर्थात् कुल एक अर्ब ११ करोड ४३ लाख बीमा शुल्क संकलन गरेको छ । त्यस्तै कम्पनीहरूले मधेस प्रदेशबाट ९७ करोड ६१ लाख अर्थात ९.३९ प्रतिशत बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीहरूले सुदूरपश्चिम प्रदेशबाट ५४ करोड ४५ लाख (५.२४) र सबैभन्दा थोरै कर्णाली प्रदेशबाट ४८ करोड १० लाख (४.६३) प्रतिशत लाख बीमाशुल्क आर्जन गरेको छ ।

३३ प्रतिशत व्यवसाय सावधिक जीवन बीमाबाटै

माघमा मात्रै जीवन बीमा कम्पनीहरूले सावधिक जीवन बीमाबाट तीन अर्ब ४८ करोड १७ लाख रूपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसको बजार हिस्सा ३३.५१ प्रतिशत रहेको छ ।

वाग्मती प्रदेशबाट मात्रै जीवन बीमा कम्पनीहरूले सावधिक जीवन बीमाबाट एक अर्ब ६३ करोड ११ लाख रूपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अन्य प्रदेशमा हेर्ने हो भने भने लुम्बिनी प्रदेशबाट पचास करोड ४० लाख, प्रदेश एकबाट ३७ करोड ४३ लाख, गण्डकी प्रदेशबाट ४१ करोड ९३ लाख बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै मधेस प्रदेशबाट २४ करोड ५६ लाख, सुदूरपश्चिम प्रदेशबाट १७ करोड ७६ लाख र सबैभन्दा कम कर्णाली प्रदेशबाट १२ करोड ९६ लाख बीमा शुल्क संकलन गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमाको बजार हिस्सा २७ प्रतिशत

कम्पनीहरूले जारी गरेको विभिन्न बीमालेखमध्ये अग्रिम भुक्तानी सावधिक जीवन बीमाको बजार हिस्सा २७.६१ प्रतिशत छ । माघमा मात्रै कम्पनीहरूले उक्त बीमालेखमार्फत दुई अर्ब ८६ करोड ८३ लाख बीमा शुल्क आर्जन गरेको छ ।

वाग्मती प्रदेशबाट कम्पनीहरूले अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट एक अर्ब ८ करोड तीन लाख बीमा शुल्क संकलन गरेको छ । अन्य प्रदेशबाट जस्तै ः लुम्बिनी प्रदेशबाट ४५ करोड ८० लाख, प्रदेश एकबाट ४५ करोड ७८ लाख, गण्डकी प्रदेशबाट ३० करोड २७ लाख, मधेस प्रदेशबाट २३ करोड ५० लाख बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, कर्णाली प्रदेशबाट १८ करोढ ४९ लाख र सुदूरपश्चिम प्रदेशबाट १४ करोड ९३ लाख मात्रै बीमा शुल्क आर्जन गरेको देखिन्छ ।

बालबच्चा सम्बन्धित सावधिक जीवन बीमाको हिस्सा १५ प्रतिशत

बालबच्चा सम्बन्धित सावधिक जीवन बीमाको बजार हिस्सा १५.५२ प्रतिशत छ । कम्पनीहरूले माघ महिनामा मात्रै एक अर्ब ६१ करोड ३० लाख बीमा शुल्क संकलन गरेको छ । सबैभन्दा बढी वागमी प्रदेशबाट ५६ करोड ९९ लाख बीमा शुल्क आर्जन गरेका छ । अन्य प्रदेशहरूमा लुम्बिनी प्रदेशमा २९ करोड ५९ लाख, प्रदेश नम्बर एकमा २१ करोड ९३ लाख, गण्डकी प्रदेशमा १७ करोड ७२ लाख बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै मधेस प्रदेशमा १२ करोड ५२ लाख, सुदूरपश्चिम प्रदेशमा १३ करोड २८ लाख र कर्णाली प्रदेशमा नौ करोड २४ लाख बीमा शुल्क संकलन गरेको छ ।

रूपान्तरित सावधिक जीवन बीमा

रूपान्तरित सावधिक जीवन बीमा योजनाको बजार हिस्सा १५.५२ प्रतिशत छ । बीमा कम्पनीहरूले उक्त बीमालेखमार्फत माघमा मात्रै एक अर्ब ४४ करोड २० लाख बीमा शुल्क आर्जन गरेको छ । जसअन्र्तगत वाग्मती प्रदेशबाट ५६ करोड २ लाख, लुम्बिनी प्रदेशबाट २१ करोड १४ लाख, प्रदेश नम्बर एकबाट १५ करोड ८७ लाख, गण्डकी प्रदेशबाट १३ करोड ६६ लाख, सुदूरपश्चिम प्रदेशबाट चार करोड ८२ लाख कर्णाली प्रदेशबाट तीन करोड ७९ लाख बीमा शुल्क संकलन भएको छ ।

आजीवन बीमा योजना

आजीवन बीमा योजनाको बजार हिस्सा ३.५२ प्रतिशत छ । कम्पनीहरूले माघमा उक्त बीमा लेखमार्फत कुल ३३ करोड ६२ लाख बीमा शुल्क आर्जन गरेको छ । लुम्बिनी प्रदेशबाट ७ करोड ५१ लाख, मधेस प्रदेशबाट ६ करोड ३६ लाख, वाग्मती प्रदेशबाट ६ करोड १२ लाख बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, कर्णाली प्रदेशबाट दुई करोड ७८ लाख, प्रदेश नम्बर एकबाट ४ करोड ५१ लाख र सुदूरपश्चिम प्रदेशबाट एक करोड ८३ लाख बीमा शुल्क संकलन गरेको छ ।

म्यादी जीवन बीमा योजना

म्यादी जीवन बीमा योजनाको बजार हिस्सा ३.५२ प्रतिशत छ । कम्पनीहरूले उक्त बीमा लेखमार्फत माघमा मात्रै १७ करोड ३७ लाख बीमा शुल्क आर्जन गरेको छ । वाग्मती प्रदेशबाट १० करोड ४९ लाख, प्रदेश नम्बर एकबाट तीन करोड १७ लाख, लुम्बिनी प्रदेशबाट दुई करोड ६४ लाख, गण्डकी प्रदेशबाट ८० करोड, कर्णाली प्रदेशबाट ६२ करोड, सुदूरपश्चिम प्रदेशबाट ६ करोड र मधेस प्रदेशबाट १८ लाख बीमा शुल्क संकलन भएको छ ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा

कम्पनीहरूले माघमा मात्रै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजनाबाट १७ करोड ३७ लाख बीमा शुल्क संकलन गरेको छ । उक्त बीमा लेखको बजार हिस्सा १.६९ प्रतिशत छ । यो बीमा लेखको व्यवसाय वाग्मती प्रदेशमा मात्रै रहेको छ ।

लघु जीवन बीमा

लघु जीवन बीमाको बजार हिस्सा अन्य बीमा लेखको भन्दा न्यून छ । जसको बजार हिस्सा १.९ मात्रै छ । कम्पनीहरूले माघमा मात्रै उक्त बीमा लेखमार्फत १९ करोड ७३ लाख बीमा शुल्क संकलन गरेका छन् ।

सबैभन्दा थोरै हिस्सा एकल बीमा शुल्क जीवन बीमाको छ । कम्पनीहरूले माघमा उक्त बीमालेखमार्फत १० करोड मात्रै बीमा शुल्क आर्जन गरेका छन् ।