NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि

धरान । २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना भाइरस महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन ।

प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । उनका अनुसार काठमाडौंमा हालै सम्पन्न भएको सहिद स्मारक लिगको उत्कृष्ट तीन टिम सहभागी हुनेछन् । भारतका दुई क्लब र मोफसलका अन्य दुई उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने उनले जानकारी दिए ।

विजेताले नगद ट्रफीसँगै नगद रु १० लाख र उपविजेतालाई नगद रु पाँच लाख पुरस्कार राखिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार पाउनेछन् । रु ५१ लाख ३२ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । करिब रु १५ लाख नाफा गर्नेगरी प्रतियोगिताको तयारी गरिएको आयोजकले जनाएको छ ।

विजेता र उपविजेतालाई दिइने नगद पुरस्कार धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि उपमहानगरले रु १८ लाख बजेट विनियोजन गरेको छ । त्यसमध्ये रु १० लाख पहिलो पुरस्कार र रु पाँच लाख दोस्रो पुरस्कारको छुट्याइएको छ । बाँकी रु तीन लाख धरानको टिम तयारीका लागि खर्च गर्नेगरी उपमहानगरले उपलब्ध गराउने निर्णय भएको क्लबका अध्यक्ष राईले जानकारी दिए ।

उनले यसपटक उपाधि जित्ने लक्ष्यसहित आयोजकले दुई टिम तयार गर्ने जनाएको छ । उपाधि जित्ने गरी ए डिभिजन र विदेशी खेलाडीसमेत समावेश गरेर सिनियर टिम तयार गरिने अध्यक्ष राईले बताए ।