NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पुटिनमाथि सिनेकर्मी र सुन्दरीहरूको ‘प्रत्याक्रमण’

काठमाडौं । विश्व मानव सभ्यतामा दुईथरी प्रवृत्तिका मानिस हुन्छन् । एकथरी जो निर्माण, सिर्जन र आविष्कारको माध्यमबाट पृथ्वीमा सौन्दर्य लेप गर्छन् । अर्काथरी, जो ध्वंश र विनाशबाट सुन्दर कृतिहरू नष्ट गर्छन् ।

अफगानिस्तानमा तालिवानीहरूले बुद्धका मूर्ति ध्वस्त पारेझैं यतिबेला रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका सुन्दर कलाकृति र वास्तुकलाले भरिएका शहरहरूलाई खण्डहरमा परिणत गरिरहेका छन् । युक्रेनमा रहेको विश्वकै ठूलो विमान पलभरमै खरानी पारियो । बगैंचा, स्कुल, संग्रहालय, रेलवे स्टेशन मात्र होइन, युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको निवासमा समेत रकेट हमला जारी छ ।

यतिबेला युक्रेनका शहरहरूमा कालो धुँवा जलेर खाक भएका भौतिक संरचना र नागरिकहरूको चित्कार गुञ्जिरहेको छ । साइरनको भयानक आवाजसँगै आकाशबाट वर्षिने कालले कतिबेला आफूलाई निल्ने हो भन्ने त्रासले युक्रेनका जनता पिरोलिएका छन् ।

भारत, मुम्बईमा रहेकी रुसी अभिनेत्री लेसन करिमोवलाई पनि यतिबेला आफ्नो परिवारको चिन्ताले सताइरहेको छ । अचेल लेसन हिन्दी चलचित्र र टिभी उद्योगमा सक्रिय छिन्, तर उनको पूरै परिवार रुसमा छ ।

 

पेस्कोवा क्रेमलिनमा काम गर्ने सबैभन्दा मुख्य प्रवक्ता दिमित्री पेस्कोवकी छोरी हुन् । एकातिर पिता दिमित्री हरेक दिन रुसको कदमलाई सही ठहर्‍याउँदै अमेरिका र सहयोगी राष्ट्रविरुद्ध बोलिरहेका छन्, अर्कोतिर उनकै छोरीचाहिँ युद्धविरोधी मोर्चामा छिन् । सायद, पिताको दबाबले हुनसक्छ, केही घण्टापछि एलिस्याबेटा पेस्कोवाको पोस्ट डिलिट गरियो

रुसी राष्ट्रपति पुटिनको विध्वंशात्मक हर्कतप्रति अभिनेत्री लेसन क्रुद्ध छिन् । पुटिनको हर्कतका कारण समग्र रुसकै बदनामी भइरहेको महसुस गर्दै उनले भनेकी छन्, ‘एउटा मान्छेको निर्णयलाई आधार मानेर पूरै रुस देश र त्यहाँको मूल्यांकन नगरौं ।’

युक्रेनमाथि भइरहेको अमानवीय आक्रमणबाट लेसन स्तब्ध छिन् । ‘हिन्दुस्तान टाइम्स’सँगको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘म एक सातादेखि सुत्न सकिरहेकी छैन । निर्दोषहरूले ज्यान गुमाइरहेको देखेर म हरेक दिन मरिरहेकी छु । ती सबैप्रति मेरो समवेदना छ, जसले आफ्ना परिवार र प्रियजन गुमाए ।’

अभिनेत्री लेसनका दृष्टिमा रुस र युक्रेन भाइ/बैनीजस्ता हुन् । ‘रुसी र युक्रेनीय सबै भाइ/बैनीसरह हुन् । म यी दुई देशमा कुनै अन्तर देख्दिनँ । हामी एउटा ठूलो परिवार हौं, कुनै राजनीतिले यसलाई बदल्न सक्दैन,’ उनले भनेकी छन् ।

लेसन करिमोवले ‘हाउसफुल–४’, ‘पोइजन’, ‘स्टेट अफ सिज’, ‘फना इश्क मे मरजावाँ’ र ‘साथ निभाना साथियाँ’जस्ता चलचित्र र टिभी सिरियलमा काम गरिसकेकी छन् ।

सन् असी र नब्बेको दशकमा बलिउड र रुसका कलाकारले सहकार्य गर्ने गर्थे । ‘मेरा नाम जोकर’ लगायत कैयौं हिन्दी चलचित्र रुसमा छायांकन भएका थिए । रुसमा पनि बलिउडका चलचित्र लोकप्रिय थिए । रुसका धेरै हलहरूमा प्रर्दशन हुन्थे ।

अचेल रुसमा हिन्दी चलचित्र खासै चल्दैनन् । शीतयुद्धको समाप्ती र सोभियत संघको विघटनपछि भारतको झुकाव वैश्वीक राजनीतिमा पश्चिमा राष्ट्रहरूतर्फ सोझियो । रुससँगको पुरानो मित्रतालाई कायम राखे पनि अचेल भारत र रुसबीच खासै सांस्कृतिक सहकार्य भएको पाइँदैन ।

बलिउडमा ब्याकग्राउण्ड डान्सरबाट करिअर थालेकी अभिनेत्री लेसनलाई रुसी राष्ट्रपतिको भूमिकाले पक्कै संकटमा पारेको छ । रुसप्रति विश्व समुदायमा बढ्दै गएको नकारात्मक रुझानले लेसनजस्ता धेरै कलाकार र प्रोफेसनल्सहरूलाई समस्यामा पार्दैछ, जो विश्वभरि आफ्नो प्रतिभा र मेहनतको बलमा स्थापित छन् ।

रुसी राष्ट्रपति पुटिनको विध्वंशात्मक हर्कतप्रति अभिनेत्री लेसन क्रुद्ध छिन् । पुटिनको हर्कतका कारण समग्र रुसकै बदनामी भइरहेको महसुस गर्दै उनले भनेकी छन्, ‘एउटा मान्छेको निर्णयलाई आधार मानेर पूरै रुस देश र त्यहाँको मूल्यांकन नगरौं

‘प्लिज, एउटा मान्छेको निर्णयका आधारमा हामीमाथि मूल्यांकन नगर्नुस्,’ लेसनको याचना जायज हो । किनकि, पुटिनको क्रूर र हिंस्रक तानाशाही छविको कलंक आफूहरूमाथि नपरोस् भन्ने उनी चाहन्छिन् ।

लेडी गागा युक्रेनको पक्षमा

अहिले विश्वभरिका अधिकांश सेलिब्रेटी पुटिनको कदमको चर्को आलोचना गरिरहेका छन् र युक्रेनको समर्थनमा उभिएका छन् । चर्चित अमेरिकन गायिका लेडी गागाले रुसी राष्ट्रपति पुटिनको चर्को आलोचना गरेकी छन् ।

हालै ‘साग अवार्डस् २०२२’को रेड कार्पेटमा उभिँदै गर्दा गायिका गागाले युक्रेनका युद्धपीडित नागरिकप्रति समर्थन जनाउँदै भनिन्, ‘दुनियाँ धेरै कुरा भइरहेको र म युक्रेनका लागि दुःखी छु । मलाई लाग्छ, आजको रात हामी सबैले युक्रेनलाई सम्मान गर्नुपर्छ ।’

यति मात्र होइन, लेडी गागाले सामाजिक सञ्जालमा आफ्नो अवार्ड समारोहका तस्बिर शेयर गर्दैै लेखिन्, ‘संसारले हामीलाई सधैं खुसी नहुने कैयौं कारण दिइरहन्छ । म आज रात युक्रेनका लागि प्रार्थना गर्दछु र म आफ्नो सबै खुसी तपाईंहरूसमक्ष पठाइरहेकी छु र मनैदेखि प्रार्थना गर्दछु, सबै कुरा चाँडै ठीक होस् ।’

युद्ध भूमिमा सुन्दरी

युक्रेनका जनतामा यतिबेला देशका लागि ज्यान आहुति दिन साहसका साथ मैदानमा छन् । बम र बारुदको यो कोलाहलमा युक्रेनका महिला पनि युद्धमा भिडिरहेका छन् । यो होडमा युक्रेनकी सुन्दरी अनास्तासिया लेना पनि युद्ध मैदानमा छिन्, जसले सन् २०१५ मा युक्रेनको राष्ट्रिय सुन्दरी प्रतियोगिता ‘मिस ग्राण्ट’को उपाधि जितेकी थिइन् ।

आकर्षक पहिरन, श्रृंगार प्रशाधन र अग्ला हिल लगाएर सार्वजनिक मञ्चहरूमा देखिने लेना अहिले कम्ब्याट ड्रेस र अत्याधुनिक हतियारल सुसज्जित भएर रुसी सेनाविरुद्धको मोर्चामा डटिरहेकी छिन् ।

कुनै बेला टर्कीमा जनसम्पर्क प्रबन्धकको जिम्मेवारी सम्हालेकी सुन्दरी लेनाको ‘एयरसफ्ट’ नामक इन्स्टाग्राममा उनका केही तस्बिरहरू सार्वजनिक भए, जुन तस्बिरमा उनलाई सैन्य भेषमा देख्न सकिन्छ । हतियार समाएको पोज हेर्दा उनले यसको तालिम लिइसकेको बुझ्न सकिन्छ ।

आकर्षक पहिरन, श्रृंगार प्रशाधन र अग्ला हिल लगाएर सार्वजनिक मञ्चहरूमा देखिने लेना अहिले कम्ब्याट ड्रेस र अत्याधुनिक हतियारल सुसज्जित भएर रुसी सेनाविरुद्धको मोर्चामा डटिरहेकी छिन्

रुसले युक्रेनमा युद्ध छेड्नासाथ मिस ग्राण्ट लेनाले विश्वभर युक्रेनको समर्थनमा जुलुस निकाल्न ४० हजारभन्दा बढी सामाजिक सञ्जाल अनुयायीहरूको मञ्च उपयोग गर्दै आह्वान गरिरहेकी छन् । उनले इन्टाग्राममा देशभक्तिपूर्ण सामग्री साझा गर्दै रुसी सेनालाई चुनौती दिएकी छन्, ‘आक्रमण गर्ने नियतले जो कोही युक्रेनी सीमा पार गरेर आउनेछ, उसले मर्नुपर्नेछ ।’

सुन्दरी लेनाले नाटो सेना युक्रेनमा प्रवेश गरेर रुसलाई रोक्नुपर्ने माग पनि गरेकी छन् । त्यसैगरी, कमेडियनबाट राष्ट्रपति बनेका जेलेन्स्कीबारे उनको टिप्पणी छ, ‘एक सच्चा र बलियो नेता, उनी युक्रेनका राष्ट्रपति हुन् ।’

अनास्तासिया लेनाले विश्व च्याम्पियन बक्सर उस्यक अलेक्जेन्डरको एक अपिल पनि शेयर गरेकी छन्, जसमा रुसी सामाजिक सञ्जाल फ्लोअरहरूलाई युक्रेनसँगको युद्धमा आफ्ना प्रियजनलाई नपठाउन आग्रह गरिएको छ ।

रुसी टयांकहरूको ६४ किलोमिटर लामो लस्कर किव शहरतिर आइरहेको छ । यस्तोमा सुन्दरी लेनाले तिनलाई रोक्ने उपाय पनि शेयर गरीरहेकी छन् । ‘देशका सबै सीमाहरूमा सडक संकेत भत्काउनुपर्छ । दुष्मनलाई दिशाबाट भड्काऊँ र नर्कतिर धकेलौं,’ उनको आग्रह छ ।
‘धर्मपुत्री’बाटै विरोध

बेलायती पत्रिका ‘डेली मेल’का अनुसार टेलिभिजन सेलिब्रेटी एवं रुसको राष्ट्रपति उम्मेदवार रहिसकेकी सेनिया सोबचक पनि युक्रेन युद्धको विपक्षमा खडा भएकी छन् । सेनियालाई राष्ट्रपति पुटिनकी ‘धर्म–पुत्री’ बताउने गरिएको छ । क्रिस्चियन धर्मालम्बी सेनियाको बपतिस्मामा पुटिन सहभागी भएका थिए ।

‘आज उनीहरूले मलाई ६ बजे युद्ध सुरु भएको छ भन्ने शब्दका साथ ब्युँझाएँ । हाम्रो जमिनमा त होइन, तर हाम्रा मानिसहरूका साथ भएको युद्ध । हाम्रो जमिनमा नभएको होस्, तर यो युद्धबाट हामी रुसी आउँदा कैयौं वर्षसम्म यसको परिणामसँग भिड्नुपर्नेछ,’ सेनियाले भनेकी छन् ।

उता, राष्ट्रपति पुटिनका प्रवक्ताकी छोरी एलिस्याबेटा पेस्कोवाले पनि आफ्नो इन्स्टाग्राममा युद्धविरोधी नारा पोस्ट गरेकी छन् । रुसी आउटलेट टिवी रेनद्वारा ट्विट गरिएको स्क्रिनसट अनुरसार २४ वर्षीया पेस्कोवाले आफ्नो इन्स्टाग्राम स्टोरीमा ‘नो टू वार’ लेखेकी छन् । यो युक्रेनमाथिको आक्रमणको विरोध गर्न रुसी प्रदर्शनकारीहरूले लगाइरहेको मुख्य नारा हो ।

पेस्कोवा क्रेमलिनमा काम गर्ने सबैभन्दा मुख्य प्रवक्ता दिमित्री पेस्कोवकी छोरी हुन् । एकातिर पिता दिमित्री हरेक दिन रुसको कदमलाई सही ठहर्‍याउँदै अमेरिका र सहयोगी राष्ट्रविरुद्ध बोलिरहेका छन्, अर्कोतिर उनकै छोरीचाहिँ युद्धविरोधी मोर्चामा छिन् । सायद, पिताको दबाबले हुनसक्छ, केही घण्टापछि एलिस्याबेटा पेस्कोवाको पोस्ट डिलिट गरियो ।

बलिउडमा तीव्र आक्रोश

रुस र युक्रेनबीचको युद्धले मानवता र विवेकको पक्ष बारुदमा मिसिएको छ । मानिसहरू ज्यान बचाउन रेलवे स्टेशन र सब–वेभित्र शरण लिइरहेका छन् । चारैतिर भय र आतंकको माहोल छ । अस्पतालमा बिरामी र नवजात शिशुको हृदयविदारक तस्बिर देखिन्छ । यसले विश्व मानवता फेरि एक पटक लाजमर्दो अवस्थामा पुगेको छ । पुटिनको दम्भले मानवतामाथि गरिरहेको प्रहारबाट बलिउड कलाकार पनि क्रुद्ध छन् ।

कोरोनाकालमा देशभर राहत सामग्री बाँड्दै हिँड्ने अभिनेता सोनू सूदले युक्रेनको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले युक्रेनमा रहेका १८ हजार भारतीय छात्रहरूको सुरक्षित उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।

बलिउड र हलिउडमा समेत ख्याति कमाइरहेकी प्रियंका चोपडाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘युक्रेनमा निकै डरलाग्दो स्थिति छ । त्यहाँ निर्दोष र अबोध मानिस ज्यान जोगाउने भयको छायामा बाँचिरहेका छन् । यो आधुनिक विश्वमा यस्तो भयावह र डरलाग्दो अवस्था कसरी उत्पन्न गर्न सकिन्छ, मैले बुझ्न सकिरहेको छैन । यो युद्धमा निर्दोष जीवन पनि छन्, जो म र तपाईंजस्तै छन् । यो संकटको घडीमा युक्रेनका जनतालाई सहयोग गर्न अग्रसर होऔं ।’

चर्चित गीतकार जावेद अख्तरले युक्रेन संकटमा शक्तिशाली मुलुकको मौनताप्रति प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘यदि रुस र युक्रेनबीचको संघर्षमा निष्पक्षता र न्यायको प्रश्न छ, पश्चिमी देशहरूमा कमजोर राष्ट्रको रक्षा गर्ने इच्छा छ भने उनीहरू यमनमाथि साउदी अरबको बमबारी र अत्याचारमा किन मौन छन् ?’

अभिनेता आदिल हुसैनले युद्धप्रति चिन्ता व्यक्त गर्दै भनेका छन्, ‘कुनै पनि हालतमा युद्ध स्वीकार्य छैन । हरेक क्षेत्रबाट युद्ध रोक्नुपर्छ ।’

अभिनेत्री स्वरा भास्करले बारम्बार युक्रेन समस्यामा बोलिरहेकी छन् । उनले युक्रेनमा मारिएका निर्दोषहरूप्रति चिन्ता जनाउँदै भनेकी छन्, ‘रुसका कलाकार, खेलाडीप्रति म सम्मान प्रकट गर्दछु, जसले आफ्नै सरकारविरुद्ध सत्यको पक्षमा आवाज उठाइरहेका छन् । भारतमा हामी कानून तोडनेहरूको निन्दा गर्न पनि डराउँछौं, विवाद होला भनेर ।’

टेलिभिजन सेलिब्रेटी एवं रुसको राष्ट्रपति उम्मेदवार रहिसकेकी सेनिया सोबचक पनि युक्रेन युद्धको विपक्षमा खडा भएकी छन् । सेनियालाई राष्ट्रपति पुटिनकी ‘धर्म–पुत्री’ बताउने गरिएको छ

चर्चित अभिनेत्री तिलोत्तमा शोमकी आमा यतिबेला क्यान्सरसँग लडिरहेकी छन् । युद्धमा लडिरहेका सिपाही र आफ्नी आमाको अवस्थाको तुलना गर्दै उनले लेखेकी छन्, ‘म आफ्नी आमालाई लिएर चिन्तित छु, जो कोरोनाकालमा क्यान्सरसँग जुधिरहेकी छन् । तर जब म युद्धको बीचमा परिवार र क्यान्सर बिरामीका बारेमा सोच्छु, मेरो दिमाग र दिलले केही बुझ्न सक्दैन । युद्धभन्दा खतरनाक अरू केही हुन सक्दैन, किनकि आमाहरू युद्धका लागि जीवन दिँदैनन् ।’

सलमान खानकी साथी तथा रोमानियन मोडल–गायिका यूलिया वन्तूरले पनि युक्रेनमाथिको रुसी बर्बरताविरुद्ध आफ्नो प्रतिक्रिया दिएकी छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीको समर्थन गर्दै उनले भनेकी छन्, ‘पुतिनजस्तो हिंस्रक र तानाशाहले रुसको प्रतिनिधित्त्व गर्न सक्दैन, यसका लागि रुसका जनतालाई दोष दिनु उचित होइन । खराब पुटिन हो, त्यहाँका जनता होइनन् ।’

समसामयिक मुद्दामा आफ्ना धारणा राख्न माहिर ऋचा चड्ढाले युक्रेन संकटमाथि व्यंग्यात्मक टिप्पणी गर्दै भनेकी छन्, ‘कुनै पनि राज्यलाई हडप्नु, सेना तैनाथ गर्नुले देशलाई अन्धकार र नयाँ डाटा प्राइभेसी नियममा धकेल्नेछ । अब जे हुनेछ, त्यसले लोकतन्त्रलाई अगाडि बढाउनेछ र राष्ट्र हितमा हुनेछ । यदि मानिसहरू स्वतन्त्रताका लागि लड्छन् भने हामी फेरि महान् बन्नेछौं, बधाई ।’

गायिका शिल्पा रावले महमुद दरवेशको कविता पंक्ति शेयर गर्दै लेखेकी छन्, ‘युद्ध खतम हुनेछ । नेता आपसमा हात मिलाएर अघि बढ्नेछन् । ती बुढी महिला आफ्नो शहीद छोराको प्रतीक्षा गरिरहनेछिन् । त्यो युवती आफ्नो पतिको प्रतीक्षामा बसिरहनेछिन् । अनि ती बच्चाहरूको आँखा आफ्ना नायक पिताको बाटो हेरिरहनेछन् । मलाई थाहा छैन, हाम्रो मातृभूमिलाई कसले बेच्यो, तर मैले उनीहरूलाई देखेकी छु, जसले यसको मूल्य चुकाएका छन् ।’

अभिनेत्री गौहर खानले युक्रेनमाथिको हमलाप्रति रुसी राष्ट्रपति पुटिनमाथि यसरी प्रहार गरेकी छन्, ‘व्यवहारिक बुद्धि, कट्टरता, युद्ध, अन्याय, घृणाविरुद्ध खडा होऊ, यो सब बन्द गर ।’