NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते
चलचित्र समीक्षा

साइको किलर र ब्याटम्यानको अद्भूत भिडन्त

काठमाडौं । मानव सभ्यताको हजारौं वर्षको इतिहासमा विशिष्ट मानव या ‘महामानव’को परिकल्पना हुँदै आएको छ । आम मानिसभन्दा निकै शक्तिशाली र ‘सुपर नेचुरल पावर’ भएको व्यक्ति यदाकदा यो धर्तीमा जन्मिने गरेका छन् । बुद्ध, महावीर, कृष्ण, जिसस यस्ता केही उदाहरण हुनसक्छन्, जसमा विशिष्ट क्षमता थियो ।

हाम्रा पौराणिक ग्रन्थमा यस्ता एकसेएक ‘सुपर हिरो’ अर्थात् महानायक छन् । पाँच पाण्डवदेखि कृष्णसम्म, रामदेखि हनुमानसम्म, शिवदेखि गणेशसम्म सबै दिव्य शक्तिले ओतप्रोत पौराणिक पात्र हुन् ।

पूर्वीय दर्शनले यस्ता अनेक दिव्य शक्तिधारी पात्रलाई ईश्वर या भगवान् शब्दले पहिचान दिएको छ । पश्चिमको दर्शनले पनि यो परमसत्ता या परम् शक्तिको अस्तित्त्व स्वीकार गरेको छ । तर आधुनिक युगमा मानिसको रूपमा यस्तै शक्ति बोकेर जन्मिएको भने अहिलेसम्म कतै भेटिँदैन ।
मानव सभ्यता ज्ञानी, बौद्धिक, विज्ञान र प्रविधिले सम्पन्न, सुखी र दीर्घायू बाँच्नसक्ने त भएको होला । तर चितुवाजस्तो दौडन, चिल या बाजजस्तो धेरै परसम्म हेर्न, चराझैं उड्न, माछाझैं पौडन, सर्प या मुसाझैं दुलोमा बाँच्न सक्दैन । भौतिक संशाधनबिना मानिस स्वयंको पुरुषार्थ भनेको तेज दिमाग मात्र हो ।

अहिलेसम्म त्यस्तो कुनै मानिस देखिएको छैन, जो चराझैं आकाशमा उड्न सकोस्, जो पानीमा नडुबोस् र आगोमा नजलोस् । यद्यपि, मानिसको अभ्यन्तरमा यो चाहनाचाहिँ पक्कै छ, उसमा यस्तो शक्ति विकास होस्, जसको सहाराले उसले जे पनि गर्न सकोस् ।

सर्वशक्तिशाली मानिसको परिकल्पनाका क्रममा जसरी धर्म र अध्यात्म क्षेत्रमा सगुण/निर्गुण परमात्माको दर्शन सूत्रपात भयो, त्यसैगरी लेखन, साहित्य र चलचित्रमा ‘सुपर हिरो’को अवधारणा आयो । यसैले त अचेल हलिउडमा ‘हिरो’लाई पनि माथ गर्दै ‘सुपर हिरो’हरूले तहल्का मच्चाइरहेका छन् ।

पर्दामा ‘ब्याटम्यान’

म्याट रिभ्सले निर्देशन गरेको चलचित्र ‘द ब्याटम्यान’को अहिले विश्वभरि प्रदर्शन भइरहेको छ । नेपालमा हिन्दी डब्ड भर्सनसमेत प्रदर्शन भएकाले दर्शकको ओइरो छ ।

सुपर हिरोमा आम मानिसमा भन्दा विशेष शक्ति हुन्छ । ऊ हावामा उड्न, पानीमा तैरन, लडन, भिड्न र जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि दुष्मनलाई परास्त गर्न समर्थवान् हुन्छ । हलिउडमा हालसम्म ‘स्पाइडर म्यान’, ‘सुपरम्यान’, ‘ब्याटम्यान’लगायत डिस र मार्वल कम्पनीका अनेक चलचित्रले सुपर हिरो अवधारणा दर्शकमा पस्किरहेका छन् । यसैको पछिल्लो सिलसिला हो, ‘द ब्याटम्यान’ ।

गाथम शहरमा एउटा मानसिक अवसादले ग्रस्त ‘साइको किलर’ले आतंक मच्चाउन थाल्छ । हत्याराको उद्देश्य हुन्छ, शहरका एकसेएक भ्रष्ट मानिसलाई समाप्त गर्नु । भ्रष्टहरूको सफाया गर्ने उद्देश्यका कारण साइको किलर नायक हो कि खलनायक भन्ने छुटयाउन सुरुमा कठिन हुन्छ ।
तर जुनसुकै उद्देश्यले गरिएको किन नहोस्, हत्या आखिर अपराध हो । अतः यो हत्याको रहष्य पत्ता लगाउने र शहरबासीलाई बचाउने जिम्मेवारी लिँदै ‘ब्याटम्यान’ले चलचित्रभरि आफ्नो साहस प्रदर्शन गर्छन् ।

दुइ घण्टा ५५ मिनटको यो चलचित्रको मुख्य प्लट भनेको अन्यायविरुद्धको संघर्ष हो । चलचित्रको प्रारम्भबाटै दृष्यले दर्शकलाई क्लाइमेक्ससम्म भड्किन दिँदैन । चलचित्रको खलनायक कुन हदसम्म खतरनाक छ भने सुपर हिरो ब्याटम्यानकै हाराहारीमा शक्ति प्रदर्शन गर्छ । दुवैको द्वन्द्वले दर्शकलाई सुरुमा ठम्याउन कठिन हुन्छ, मनस्थिति कसको पक्षमा बनाउने ?

कालो मास्क लगाएको हत्यारा रिड्लर (पाल डानो)ले शहरमा आतंक मच्चाउन थालेपछि ब्याटम्यान आफ्नो सुपर हिरोको अवतारमा देखिन्छन् । शहरमा मेयर (रुपर्ट पेनरी जोन्स) को हत्या हुन्छ । हेर्दाहेर्दै निकै शक्तिशाली मानिस मारिन थालेपछि चलचित्र सस्पेन्स हुँदै जान्छ । हत्यारासँग एउटा लक्ष्य हुन्छ, भ्रष्टाचारी सफायाको । अनि ब्याटम्यानसँग शक्ति हुन्छ, न्यायको ।

हरेक हत्यासँगै हत्याराले एउटा सुराक छाडेको हुन्छ, जसलाई पत्ता लगाएर ब्याटम्यानले हत्याको रहष्य पहिल्याउन सकोस् । हत्याराले गाथम
शहरका दुई शक्तिशाली परिवारसँग जोडिएका रहष्यलाई पनि हत्यासँगै बाहिर ल्याइरहेको हुन्छ, जोसँग ब्याटम्यानको गहिरो सम्बन्ध छ । अतः ब्याटम्यानको निजी चासो पनि यसमा जोडिन्छ ।

साइको किलरले राति–राति हत्या गर्छ । चलचित्रभरि ‘डार्कनेस’ भरिएको छ । करिब नब्बे प्रतिशत डार्क प्याटर्नमा भएकाले दर्शकलाई कहिलेकाहीँ दिक्क पनि लाग्नसक्छ । तर दमदार ब्याकग्राउण्ड म्युजिक र कलाकारको अभिनयले दर्शक बाँधिइरहन्छन् ।

अभिनेता रोबर्ट प्याटिसन विभिन्न प्रतिकूल परिस्थितिमा पनि शान्त र प्रभावशाली देखिन्छन् । ब्याटम्यानको सुटमा उनलाई निकै चुस्त, फुर्तिलो र शक्तिहाली देखिन्छ । अर्का कलाकार जोए क्रावित्जले क्याटवुमन भूमिकामा सानदार अभिनय गरेकी छन् ।

कोलिन फयारेललाई पेन्गुइनको भूमिकामा ठम्याउन मुस्किल पर्छ । तैपनि, पेन्गुइनको यही भूमिकाले चलचित्रमा दर्शकलाई केहीबेर हँसाउँछ । उता, पल डानोचाहिँ साइको किलरको एउटा निराश खलनायकको भूमिकामा छन्, जसको उद्देश्य त सही हुछ, तर तरिका गलत भएकाले निराश देखिन्छन् ।

ब्याटम्यानका अन्य चलचित्रझैं यो क्राइममा मात्र केन्द्रित छैन, यो एक हिसाबले अपराधको अनुसन्धानसँग पनि सम्बन्धित छ । हरेक हत्याको घटनापछि प्रहरी अधिकारीले क्राइम सिनमा ब्याटम्यानलाई पनि बोलाउँछन् । यस हिसाबले यसमा ‘क्राइम डिटेक्टिभ’ चलचित्रको मजा पाउन सकिन्छ । ‘पिजी १३’ भनिएकाले बालबालिकाका लागि यो चलचित्र होइन । तर १३ वर्ष माथिकाले हेर्दा हुन्छ, यसमा त्यस्तो कुनै अश्लील या भयानक दृष्य छैनन् ।

सुपर हिरो ब्याटम्यान एउटा काल्पनिक भूमिका हो । डिसी कमिक्सद्वारा प्रकाशित अमेरिकी कमिक बुक्समा यो भूमिका पहिलो पटक अगाडि सारिएको थियो । कमिकको ब्याटम्यानलाई मानिसहरूले धेरै मन पराएकाले सुपर हिरोको भूमिकाका रूपमा यसलाई चलचित्रमा पनि देखाउन थालियो ।

सबैभन्दा पहिला बब केन र बिल फिंगरद्वारा निर्मित श्रृंखलामा ब्याटम्यानलाई देखाइयो, जुन सन् १९४० मा प्रदर्शनमा आएको थियो । त्यसपछि सन् १९६६ मा चलचित्र ‘ब्याटम्यान’ बनाइयो, जसबाट यो भूमिका धेरै लोकप्रिय भयो । यसको बढ्दो क्रेजका कारण सन् १९८० मा वार्नर ब्रदर्स स्टुडियोले ब्याटम्यानको फ्रेचाइजी गर्‍यो र चलचित्र निर्माण गर्न थाल्यो । यसै सिलसिलामा म्याट रिभ्स निर्देशित सुपरहिरो चलचित्र ‘द ब्याटम्यान’ विश्वभरि प्रदर्शनमा छ । तर यो चलचित्र रुसमा भने प्रदर्शन भइरहेको छैन । यूक्रेनविरुद्ध रुसको सैन्य अभियानबाट रुष्ट बार्नर ब्रदर्सले त्यहाँ आफ्नो चलचित्र प्रदर्शनमा रोक लगाएको छ ।

सुपर हिरोका अनेक अवतार

सन् २००८ मा प्रदर्शित ‘द इन्क्रिडेबल हल्क’ले हल्कजस्तो एउटा विशालकाय, कुरूप तर शक्तिशाली सुपर हिरो अगाडि सारेको छ । एउटा चिकित्सक कसरी हल्कमा परिणत हुन्छ र हल्को रगत प्रयोग गरेर कसरी अर्को खतरनाक शत्रु उत्पन्न हुन्छ भन्ने कथा यसमा देखाइएको छ ।
सन् २०१४ को चलचित्र ‘रोबोकप’ पनि सुपर हिरोकै अवधारणामा बनेको हो । यसमा एलेक्स मर्फी नाम गरेका प्रहरी अधिकारी एक बम विष्फोटमा नराम्ररी घाइते हुन्छन् जसलाई बचाउन मुस्किल पर्छ । त्यसपछि अत्याधुनिक प्रविधिद्वारा एलेक्सलाई आधा मानिस र आधा रोबोटमा विकसित गरिन्छ । रोबोकपको विशेष शक्तिको उपयोग समाजका अपराधिक पात्रलाई तह लगाउन गरिन्छ ।

सन् २०१४ मा प्रदर्शनमा आएको ‘ग्रिन ल्यान्टर्न’ पनि सुपर हिरो अवधारणामा बनेको चलचित्र हो । जोर्डनका एक पाइलटले यस्तो औंठी फेला पार्छन्, जसले उनको जीवनमै कायापलट गरिदिन्छ । औंठीकै कारण यी पाइलट सुपर हिरोमा परिणत हुन्छन्, जसमाथि पूरै ब्रह्माण्डलाई बचाउने जिम्मेवारी आइपर्छ ।

सन् २००८ कै अर्को चलचित्र ‘हयानकक’मा विल स्मिथले सुपर हिरो ह्यानककको भूमिका निर्वाह गरेका छन् । आफूमा भएको सुपर पावरबाट उनी अनेक उट्पट्याङ हर्कत गर्छन्, जसलाई आम मानिसले मन पराउँदैनन् । शहरमा जथाभाबी उफ्रँदै हिँड्ने, समुद्रका डल्फिनलाई उचालेर आकाशमा हुत्याउने, मानिसहरूको हुलमा गएर उपद्रव गर्ने खालका भूमिका निर्वाह गर्ने हयानककको एक खालको कमेडी भूमिका पनि यसमा देख्न सकिन्छ ।

सन् २०११ मा प्रदर्शित ‘थोर’ चलचित्रका दुई श्रृंखलामा ब्रह्माण्डको अनन्त यात्राका बारेमा देखाइएको छ । यसमा सुपर नेचुरल पावर भएका पात्रहरूको कथा बुनिएको छ । त्यसैगरी, सन् २००७ को ‘द घोस्ट राइडर’मा एक मोटरसाइकल चलाउने पात्रले शत्रुसँग लड्न आफ्नो आत्मालाई नै बेचिदिन्छ । र, ऊ ‘घोस्ट राइडर’ बन्छ । आगोले पनि नपोल्ने यिनै मुख्य पात्र र उनका दुष्मनबीचको संघर्ष यसमा देखाइएको छ ।

‘द एक्सम्यान’, ‘भेनम’, ‘डेडपुल’, ‘स्पाइडर म्यान, होम कमिङ’, ‘ब्ल्याक प्यान्थर’, ‘एन्ट म्यान’, ‘क्याप्टेन अमेरिका’, ‘एभेन्जर्स अफ अल्ट्रोन’, ‘आइरन म्यान’, ‘थोर रोग्नारोक’ र ‘एभेन्जर इन्डगेम’ आदि चलचित्रले सुपर नेचुरल पावर र सुपर हिरोकै अवधारणा बोकेका छन् । युवा पुस्तालाई यस्ता चलचित्र निकै मन पर्ने गरेका छन् ।

बलिउडमा सुपर हिरोको अवधारणामा हालसम्म रीतिक रोशनको ‘क्रिश’का सिक्वेलहरू, प्रभासको ‘बाहुबली’, शाहरूख खानको ‘रोबोट’ प्रदर्शनमा आइसकेका छन् । टिभीमा ‘शक्तिमान’ त प्रख्यात नै छ, जसमा महाभारतमा भीष्मपितामहका भूमिका निर्वाह गर्ने मुकेश खन्ना छन् ।

प्रविधि र पुँजीका कारण यस्ता चलचित्रले हलिउड चलचित्रमा झैं रोमाञ्चित गर्न भने सक्दैनन् । रजनीकान्त अभिनित ‘रोबोट’ले केही हदसम्म दर्शकमाझ छाप छाडेको हो । बलिउडमा यसै वर्ष सुपर हिरोमा आधारित चलचित्रहरू ‘क्रिस–४’, ‘अस्वत्थामा’, ‘ब्रह्मास्त्र’, ‘मिस्टर इण्डिया–२’ प्रदर्शनमा आउँदैछ ।