NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ग्राण्डीमा १०३ बिरामीको मिर्गौला प्रत्यारोपण

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ ।

ग्राण्डीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो जानकारी दिँदै मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गरेको हो । कार्यक्रममा अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नेपालमा मिर्गौला प्रत्यारोपण चुनौतीपूर्ण भए पनि १०० भन्दा बढी बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्नु ठूलो कुरा भएको बताए । नेपाल मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख प्राडा भोलाराज जोशीले मिर्गौला दान गर्नेको सङ्ख्या मुलुकमा बढाउनु जरुरी रहेको बताए ।

सन् २००८ मा नेपालमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण भएको स्मरण गर्दै हाल देशभर एक हजार ५०० बढी बिरामीको मिर्गौला प्रत्यारोपण भइसकेको उनले बताए ।

‘नेपालका विरामी मिर्गौला प्रत्यारोपणका लागि विदेश जान नपरोस्, स्वदेशमा नै सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्न पाईयोस्,’ उनले भने ।

अस्पतालका मेडिकल निर्देशक डा विनोद विजुक्छेले १०३ बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएपनि दुई निमोनिया, दुई कोरोना र एक बिरामीको उच्च रक्तचापका कारण मृत्यु भएको बताए ।