NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सहकारीको ब्याजदर बढाउनुपर्ने पक्षमा छैनौँ : अध्यक्ष कँडेल

काठमाडाैं । वाणिज्य बैंकहरुले आगामी चैत्रमा ब्याजदर नबढाउने सहमति गरिसकेको छ । वाणिज्य बैंकहरुले ब्याजदर नबढ्ने निर्णय गरेसँगै सहकारीको पनि ब्याजदर नबढ्ने भएको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीको ब्याजदर नबढाउने पक्षमा भएकाे बताएका छन् । आइतबार महासंघको कार्यालयमा भएको एक कार्यक्रमका बीच उनले उक्त कुरा बताएका हुन् ।

उनले बैंकरुले ब्याजदर बढाएको खण्डमा सहकारीको पनि ब्याजदर बढ्ने र घटाएको खण्डमा सहकारीको पनि ब्याजदर घट्ने भएकाले चैत्रमा ब्याजनर नबढ्ने जानकारी दिए । उनले भने, ‘हामी ब्याजदर बढाउनुपर्छ भन्ने पक्षमा छैनौ, ब्याज घटाउनुपर्छ, ब्याजदर सस्तो हुनुपर्छ, सदस्यहरुलाई सस्तोमा ब्याज घटाउनुपर्छ भन्ने नै हो ।’

ब्याजदर तलमाथि गर्न सक्ने ऐनमा व्यवस्था भएकाले ब्याजदर घटबढ गर्न सकिने उनको भनाइ छ । बैंकको ब्याजदर नबढेको खण्डमा सहकारीले मात्रै ब्याजदर नबढाउने उनको भनाइ छ । आगामी दिनमा बैंकमा ब्याजदर बढ्दा बढाउन र घट्दा घटाउनको लागि तीन महिना नै कुर्नुपर्ने बाध्यता नरहेको उनले भने ।

उनले सहकारीमा सर्वसाधारणको आकर्षण छैन भन्न नमिल्ने तर्क राखेका छन् । केही संस्थाहरुलाई मात्रै हेरेर सहकारीमा आकर्षण घटेको भनेतापनि वास्तविकतामा त्यो नभएको उनको राय छ । उनले ग्रामिण क्षेत्रमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । साथै ग्रामिण इलाकामा सहाकारी वरदान सावित भएको उनको भनाइ छ । ‘गरिबी न्युनीकरणमा पनि सहाकारीले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने ।

अहिले सहकारीहरु सहरकेन्द्रित हुन थालेको छ । अध्यक्ष कँडेलले अनुसार सहरी क्षेत्रमा नयाँ संस्था गठन गर्नु आवश्यक नभएका तर दुरदराजमा सहकारी स्थापना जरुरी रहेको औल्याए ।