NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
प्रेरणा

एक मजदुर कसरी बने युट्युब स्टार ?

दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका एक मजदुर लकडाउनपछि युट्युब स्टार भएका छन् । उनले पहिलो युट्युब भिडियो मार्च २०२० मा अपलोड गरेका थिए । कोरोना भाइरसको महामारीका कारण पहिलोपटक लकडाउन हुँदा निर्माण क्षेत्रको काम रोकियो । यसले गर्दा कामदारहरु घरमै बस्न बाध्य भए । उनीहरुको आम्दानीको स्रोत पनि रोकिएको थियो । आम्दानी नभएपछि दैनिकी चलाउन गाह्रो भइरहेको थियो ।

यस्तै अवस्थामा गुज्रिरहेका भारत ओडिशा राज्यका इसाक मुन्डाले छोराछोरीले युट्युबमा कार्टुन हेर्दै गर्दा कसरी भिडियो बनाएर पैसा कमाउन सकिन्छ भन्ने विज्ञापन सुने । यसपछि उनले सोचे किन प्रयास नगर्ने ? उनीसँग खासै केही थिएन । औपचारिक शिक्षा थिएन, धेरै पैसा थिएन, मात्र चाहना थियो । यही इच्छाले नै गर्दा उनले भिडियो बनाउन सुरु गरे । मुन्डाले अपलोड गरेको पहिलो भिडियोमा उनले, ‘प्लेट भरी भात, दाल, तरकारी, गोलभेँडा र खुर्सानी राख्छन र खान्छन् ।’

‘एक सातासम्म कसैले पनि मेरो भिडियो नहेरेपछि म निराश भएँ’ उनले भने । यसपछि उनले अन्य सामाजिक सञ्जालमार्फत युट्युब भिडियोहरू सेयर गरेको देखे। उनले पनि फेसबुक खोले र आफ्ना भिडियो त्यसैगरी सेयर गरे । त्यसबेला उनको भिडियो १०, १२ जनाले हेरे ।

युट्युबबाट आर्जन गरेको रकमले मुन्डाले पुरानै झुपडी भएको ठाउँमा दुई तले पक्की घर बनाएका छन् । सन्ततिको भविष्यका लागि बचत गरेका छन् । सेकेन्ड ह्यान्ड कार किनेका छन् र भिडियो सम्पादनका लागि ल्यापटप पनि खरिद गरेका छन् । यति मात्रै होइन, उनी स्थानीय क्षेत्रमा सेलिब्रेटी पनि बनेका छन् ।

केही दर्शकले आफ्नो भिडियो हेरेको देखेपछि मुन्डाले ओडिसामा लोकप्रिय चामलबाट बनाइने बासी पखाल खानाको भिडियो हाले । यस भिडियोपछि एक दिनमै उनको २० हजार सब्क्राइबर्स भए । ब्राजिल, अमेरिका, मंगोलिया सबैतिरका मानिसले पनि भिडियो हेरे ।

यसको दुई वर्षपछि मुन्डाको च्यानल ‘इसाक मुन्डा इटिङ’ मा ८ लाख सब्क्राइब्र्स पुगे । र उनको भिडियो १ करोडभन्दा बढी दर्शकले हेरेका छन् । मुन्डा पनि अब सजिलै क्यामेराको अगाडि प्रस्तुत हुन सक्ने भएका छन् । साथैगत वर्ष एक रेडियो कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको प्रशंसा गरेका थिए ।

मुन्डाका भिडियोहरु मुकबाङ विधामा पर्छन् । यसमा मानिसहरु धेरै मात्रामा खाना खान्छन् र खाँदै आफ्ना दर्शकहरूसँग पनि कुरा गर्छन् । यस्तो ट्रेन्ड सन् २०१० मा दक्षिण कोरिया र जापानबाट सुरु भएको थियो । त्यसपछि विश्वभर फैलियो । मुकबाङअन्तर्गतका भारतको म्याड्डीइट्स लगायतका च्यानलमा लाखौं सब्स्क्राइब्र्स छन् ।

मुकबाङका प्रशंसकहरू खाना खाँदा आफू एक्लै भएको महसुस नहोस् भनेर पृष्ठभूमिमा भिडियोहरु बजाउँछन् । तर मुन्डालाई यसबारेमा भिडियो बनाउँदासम्म पनि थाहा थिएन । उनले भिडियो अपलोड गर्न थालेपछि खान बस्नु अघि विभिन्न किसिमका भिडियोहरु हेरेका थिए, उनलाई भिडियो बनाउन आफ्नी श्रीमतीले पनि सघाउन सक्छिन् भन्ने थाहा थियो । उनले भने, ‘दर्शकहरूले हाम्रो जीवन कस्तो छ भन्ने कुरा खानामार्फत् देखेर मन पराउनेछन् भन्ने सोचेँ ।’

र मुन्डालाई युट्युब स्टार बनाउन सहयोग गर्ने गुरु नै युट्युब थियो । उनले भिडियोका लागि कस्तो क्यामेरा किन्ने, कसरी खिच्ने र भिडियो सम्पादन गर्ने भन्ने साथै खाना कसरी बनाउने पनि सिके । उनले आफ्नो बचत खाताबाट ३ हजार रुपैयाँ झिके र यसले स्मार्टफोन किने । फोनको सबै रकम किस्तामार्फत तिरे ।

उनले विद्यालय नपढेका कारण अंग्रेजी जान्दैनथे । इमेल लेख्न, सामाजिक सञ्जाल चलाउन र आफ्नो च्यानल विश्वभर पुर्याउन उनले आफैंलाई सिकाए । उनले गुगलबाट भिडियोमा सबटाइटल (उपशिर्षक) पनि राख्न सिके ।

युट्युबमा राखेको पहिलो भिडियो उनले एकै टेकमा खिचेका थिए । ‘हेल्लो साथीहरु’ उनले हिन्दीमा बोले, ‘म तपाईहरुले यो प्लेटमा देखिरहेको खाना खान गइरहेको छु ।’ उनले त्यहाँ के थियो भनेर व्याख्या गरिसकेपछि आफ्नो खानाको स्वाद लिन्छन् ।

फेबु्रअरी २०२२ सम्ममा उनको भिडियोहरू फरक भएका छन् । उनले आफूले हरेक दिन खाने खानाको भिडियो हाल्दैनन् । गाउँमा पार्टी गरेका समयका भिडियो युट्युबमा पोस्ट गर्छन् । उनका भिडियोमा भारतभरका दर्शकहरूले प्रतिक्रिया जनाउँछन् । धेरैले उनले आफ्नो कला प्रस्तुत गरेको भन्दै तारिफ गर्छन् । ‘उनीहरूकाे सामुदायिक भोज धेरै रमाइलोजस्तो देखिन्छ’ एक दर्शक लेख्छन् । त्यही अर्का दर्शक भन्छन्, ‘उनीहरुलाई वास्तवमा खानाको मूल्य र सम्मानबारे थाहा छ ।’

मुन्डाले आफ्ना फलोअर्सलाई फरक–फरक खाना पकाएर खान अनुरोध गर्छन । फुड च्यालेन्ज पनि उनको भिडियोका एक भाग हो । उनी जमिनमा आगो बालेर चामल पकाउँछन् र परिवारसँग रमाइलो गरेर खान्छन् । ‘हामी अझै पनि दिनहुँ साधारण खाना खान्छौं’ उनले भने । यद्यपी उनीहरूले अहिले दिनहुँ मासु खान सक्नेछन् ।

बच्चाको भविष्यका लागि

मजदुरी गर्दा मुन्डाले दैनिक २५० भारु कमाउँथे । एक महिनामा १८ देखि २० दिनसम्म काम गर्थे । यसले ८ जनाको परिवारको दैनिकी गुजारा चलाउन सहज थिएन । मुन्डाको युट्युब च्यानल लोकप्रिय भएसँगै अहिले मासिक ३ लाख रुपैया कमाइ गर्छन् ।

अहिलेसम्म कमाएको पैसाले मुन्डाले पुरानै झुपडी भएको ठाउँमा दुई तले पक्की घर बनाएका छन् । सो घर बनाउँदा दुई लाख खर्च भएको उनले बताए । उनले आफ्नो बच्चाको भविष्यका लागि पैसा बचत गरेका छन् । सेकेन्ड ह्यान्ड कार किनेका छन् र भिडियो सम्पादनका लागि ल्यापटप पनि खरिद गरेका छन् । उनी स्थानीय क्षेत्रमा सेलिब्रेटी पनि बनेका छन् । मुन्डा गाउँमा पार्टी गर्छन् । आफ्ना बच्चालाई नजिकै सहरमा रहेको अंग्रेजी माध्यमको विद्यालयमा भर्ना गर्ने मुन्डाको अर्को लक्ष्य छ ।

उनले भने ‘म उनीहरूलाई सम्भव भएसम्म गुणस्तरीय शिक्षा दिन चाहन्छु । मैले आफ्नो सीमित पढाईका बावजुद पनि यति गर्न सकेको छु भने उनीहरूले उच्च अध्ययन गर्न पाए अझ धेरै गर्न सक्छन् ।’