NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
कुसुम कटाक्ष

‘सेक्स फेम’बाट भाइरल ‘पिर’मा कमरेड चरित्रको कमजोर चित्रण

गायक प्रकाश सपुतको ‘भाइरल’ गीतबारे चर्चा नगर्ने यतिबेला कमै होलान् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराईसम्मले ‘पिर’का बारेमा बोलिसकेका छन् ।

माओवादीको खेदो खन्न चाहनेहरूलाई यो उम्दा मसला भएको छ । वास्तवमै पीडा भोगिरहेका कतिपय पूर्वलडाकुले यसको स्वागत गरेका छन् । माओवादी केन्द्रका केही सुकिलामुकिला र सुविधा भोगमा रमाएकाहरूलाई यो वास्तविकताले पोलिरहेको छ ।

पंक्तिकारचाहिँ यो लेखमा ‘पिर’ गीतमा उजागर गरिएको पूर्वलडाकुको अवस्थाबारे होइन, अर्कै पक्ष केलाउन चाहन्छ । एउटै गीतलाई हेर्ने अनेक कोण हुन्छन् । यतिबेला दर्शकहरू ‘पूर्वलडाकु महिलालाई यौनकर्मी’ चित्रण गरिएकोप्रति पक्ष–विपक्षका टिप्पणीमा व्यस्त छन् । तर भिडियोमा गायक स्वयंले अभिनय गरेको मुख्य कमरेड पात्रको चरित्र बेग्लै छ ।

‘देश के हो ?’ भनेर प्रश्न गर्नुको साटो देशको वेथिति हटाउन ‘अब के गर्ने ?’ भन्ने उपाय देखाउन सकिन्थ्यो । त्यसै त अन्योलमा रहेको समाजमा सर्जकहरू पनि अन्योल हुने हो भने बाटो कसले देखाउने ?

सुरक्षा पन्त र केसु पुन मगरले अभिनय गरेको लडाकु महिलाको बाध्यता नौलो विषय होइन । आर्थिक संकटले गाँजेपछि कतिपय महिला विदेशिन र दलालको फन्दामा पर्न बाध्य छन् । कतिपय महिला यौनकर्मी भएका छन् । यो लडाकु महिलाको मात्र होइन, गरिब देशका विपन्न आम महिलाको वेदना हो । भिडियोमा चित्रण गरिएको वास्तविकता स्वाभाविक हो ।

हेक्का राखौं, ‘पिर’ शीर्षकको गीत युट्युबमा अपलोड हुनासाथ दर्शक स्रोताले मन पराएर एकाएक भाइरल भएको होइन । यो गीतको शब्द, संगीत र गायन आम लोकगीतझैं औषत कोटीकै छ । संगीत सिर्जनामा विशिष्ट शास्त्रीय बान्की या गायनमा उत्कृष्ट हर्कत कतै छैन । यस्तै औसत संगीत र शब्दमा गरिबी र अभावका कारण विदेशिन बाध्य हुँदा र पति/पत्नी टाढिँदाको पीडामा आधारित रहेर थुप्रै गीत बनेका छन् । प्रकाश सपुतकै ‘बोल माया’मा विदेशिएका पतिको लास कफिनमा फर्केको वेदना छ ।

‘फेम सेलिङ’को फण्डा

प्रकाशको गीत पलायनवादी सिर्जना हो । यसले ‘पिर’लाई छिचोल्दै ‘पुरुषार्थ’ गर्ने सन्देश दिँदैन

शब्द, संगीत र गायनका हिसाबले ‘पिर’ बेजोड र उत्कृष्ट नभए पनि यो अहिले नम्बर एक ट्रेण्डिङमा हुनुको एउटै कारण हो, यसमा मिसाइएको ‘मर–मसला’ । भिडियोको मूल कथामा जनयुद्धका लडाकु दम्पतीको जीवनमा शान्ति प्रक्रियापछि पनि आर्थिक अभाव कायमै रहन्छ । लोग्नेको मासु पसलमा खासै कारोबार हुँदैन र छोराछोरी पढाउन, हुर्काउने जिम्मेवारी थपिँदै जान्छ । यस्तैमा श्रीमती विदेश जान्छिन्, अलपत्र पर्छिन् । उनको उद्धारमा आफ्नै कमाण्डर नेताले चासो राख्दैनन्, उपेक्षा गर्छन् । अनि बाध्य भएर लडाकु श्रीमान् ‘देश के हो ?’ भन्ने प्रश्न उठाउँदै आफैं पलायनको बाटोमा अग्रसर हुन्छन् ।

यो एक पलायनवादी सिर्जना हो । यसले ‘पिर’लाई छिचोल्दै ‘पुरुषार्थ’ गर्ने सन्देश दिँदैन । देशकै परिभाषा अन्योलमा राखेर गीत अन्त्य हुन्छ ।
दल र तिनका नेताले देश बिगारे, यसमा देशको के दोष ? सर्जक प्रकाश सपुतले गीतमार्फत माओवादीप्रति कटाक्ष गर्दा–गर्दै भड्किएर देशकै पोल्टामा सबै समस्या हुलेका छन् ।

‘माओवादी जनयुद्ध’, ‘पूर्वलडाकुका संवेदना’ र ‘यौनकर्मी’जस्ता चर्चित विम्बलाई भजाएर गीत भाइरल बनाउने चक्करमा गायकले विषयको गम्भीरता नबुझेकै देखिन्छ । ‘देश के हो ?’ भनेर प्रश्न गर्नुको साटो देशको वेथिति हटाउन ‘अब के गर्ने ?’ भन्ने उपाय देखाउन सकिन्थ्यो । त्यसै त अन्योलमा रहेको समाजमा सर्जकहरू पनि अन्योल हुने हो भने बाटो कसले देखाउने ?

दल र तिनका नेताले देश बिगारे, यसमा देशको के दोष ? सर्जक प्रकाश सपुतले गीतमार्फत माओवादीप्रति कटाक्ष गर्दा–गर्दै भड्किएर देशकै पोल्टामा सबै समस्या हुलेका छन्

देशमा आफू पनि भएको गायकले भुलिदिए । देशभित्र मोज लुट्ने र दुःख पाउने दुवै वर्ग हुन्छन् । दुःख पाउनेहरूले वर्ग संघर्ष गर्छन् र शोषणको अन्त्य गर्छन् भन्ने मार्क्सवादी दीक्षा हो । यही दीक्षाबाट दीक्षित एउटा पूर्वलडाकु कमरेडले वर्ग संघर्षको चुरो नबुझेको र देशकै परिभाषा खोजेको देखाइनु गायक र निर्देशकको कमजोरी हो । यसबाट सर्जकले ‘माओवादी जनयुद्ध’ र ‘लडाकुको समवेदना’लाई फगत ‘बिकाउ मसला’का रूपमा उपयोग गरेको देखिन्छ ।

मनोरञ्जन बजारमा ‘फेम सेलिङ’ हुने गर्छ । भारतमा चर्चित नायिका माधुरी दीक्षितको ख्याति भजाउन एक निर्माताले राजपाल यादव र अन्तरा मालीलाई लिएर ‘मै माधुरी दीक्षित बनना चाहती हुँ’ शीर्षकको चलचित्र नै बनाइदिए । जुन निकै हिट भयो । चर्चित पात्र, घटना र विषयलाई भजाएर सिर्जना गर्नेहरूलाई ‘फेम सेलर’ भनिन्छ ।

अतः गायक प्रकाश सपुतले नेपालका कमरेडहरूले यौन व्यवस्थापनमा अपनाएको कुशल व्यवस्थापनको पाटोलाई बुझ्दै बुझेनन् । हाम्रा कमरेडहरू यौन चाहना भयो भन्दैमा कहाँ यौनकर्मी खोज्दै तिनका कोठा–कोठामा जान्छन् र ?

भारतमा महात्मा गान्धी, इन्दिरा गान्धी, लालबहादुर शास्त्री, जय ललिता, बाल ठाकरेदेखि सञ्जय दत्त र महेन्द्र सिंह धोनीसम्मको ख्याति भजाउन चलचित्र निर्माण गरिएको छ । हालै मात्र मुम्बईको कमाठिपुराकी वेश्या गंगु बाईको चर्चालाई भजाउँदै सञ्जय लीला भन्सालीले बनाएको ‘गंगुबाई काठियाबाडी’ले टन्नै कमायो । नेपालमा पनि भोलि कसैले प्रचण्ड, बाबुराम, राजेश हमाल, रवि लामिछानेकै विषयमा कुनै विवादास्पद सिर्जना गरोस् त, रातारात भाइरल हुनेछ । यही हो, ‘फेम सेलिङ’को तरिका ।

अहिले भारतमा विवेक अग्निहोत्रीले यही तरिका अपनाइरहेका छन् । कश्मीरी पण्डितहरूको पुरानो र विवादास्पद घटनालाई बढाइचढाइ गरेर निर्माण गरिएको ‘कश्मीर फाइल्स’ नेपालमा पनि प्रदर्शन भइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथदेखि भाजपाका तमाम नेताहरू ‘हिन्दू अतिवाद’को समवेदना जगाएर आसन्न सन् २०२४ को लोकसभा जित्ने मिसनमा छन् । चलचित्र ‘कश्मीर फाइल्स’लाई भाजपाले व्यापक ‘प्रमोट’ गरिरहेको छ । मुस्लिमहरूप्रति नकारात्मक भाव जगाउने यो चलचित्रको उद्देश्य नै भारतीय जनतामा हिन्दू र मुश्लिमविच विभेद खडा गरेर बहुसंख्यक हिन्दूलाई भाजपाको पक्षमा उभ्याउनु हो भन्ने कतिपय समीक्षकको टिप्पणी सुनिन्छ ।

चर्चित पात्र, घटना र विषयलाई भजाएर सिर्जना गर्नेहरूलाई ‘फेम सेलर’ भनिन्छ । नेपालमा पनि भोलि कसैले प्रचण्ड, बाबुराम, राजेश हमाल, रवि लामिछानेकै विषयमा कुनै विवादास्पद सिर्जना गरोस् त, रातारात भाइरल हुनेछ

अहिले प्रकाश सपुतको ‘पिर’ गीतलाई पनि कतिपय कोणबाट माओवादीको उछित्तो काढ्ने अस्त्र बनाइएको छ । आसन्न स्थानीय निर्वाचनको मुखमा माओवादीभित्रका सुल्झिन नसकेका समस्या र पूर्वलडाकुको वेदना उजागर हुनु माओवादीइतर शक्तिका लागि के, कति लाभकारी होला, त्यो चुनावपछि नै थाहा होला । तर गीतमा राजनीतिक मुद्दा उठाएर गायक प्रकाश सपुत हिट भएका छन् र यसबाट उनलाई प्रशस्त लाभ पनि भएको छ ।

‘पिर’ गीतको चर्चा र ट्रेण्डिङले एउटा गलत प्रवृत्ति गीत संगीत क्षेत्रमा मौलाउनसक्ने खतरा छ । कुनै औसत गीत हिट बनाउन अब ‘राजनीतिक विवाद’ खडा गर्नुपर्दोरहेछ भन्ने ज्ञान यसले चतुर सर्जकलाई सिकाएको छ । गायक प्रकाशका यसअघिका गीत पनि विवादमै परेर भाइरल भएका थिए । ‘गलबन्दी’ बोलको गीतको धुन शम्भु राईको गीतबाट चोरेको आरोप लाग्यो र यही विवादको जगमा उनको गीत झन् भाइरल भयो । यस्तो भाइरल फण्डामा गायक दुर्गेश थापा पनि कम छैनन् । अब अन्य कलाकारले पनि गीत भाइरल बनाउन समाजका संवेदनशील विषयमा विवादास्पद प्रस्तुत लिएर आउनसक्ने सम्भावना बढेको छ ।

चारित्रिक विचलन तिनमा आएको छ, जो अचेल मार्क्सवाद, लेनिनवाद र माओवादी छाडेर ‘फायरबाख’ र ‘फ्रायडवाद’का अनुयायी बन्दै काठमाडौं आसपासका रिसोर्ट चहारिरहेका छन्

‘यौन फेम’को उपयोग

‘पिर’ भिडियो औसत हो । तर गीत भाइरल बनाउन खप्पिस गायक प्रकाशले मूल कथाको बीचमै उपकथा जोडे । हो, उपकथा जोड्ने क्रममै गायक तथा निर्देशक प्रकाश चिप्लिएको देखिन्छ । उनले अर्की लडाकु महिलाको उपकथा जोडे, जसले भिडियोलाई भाइरल बनाइदियो ।

गायक प्रकाशले पूर्वलडाकु महिलालाई यौनकर्मीको तहसम्म किन पुर्‍याए ? यसको उत्तर सहज छ । नेपालमा ‘यौन’ एउटा बिकाउ विषय हो । यौन समवेदना नेपालमा अझै पनि गोप्य राख्नुपर्ने, घृणित, लज्जाजनक, आपत्तिजनक, फोहरी, अश्लीलको दर्जामा राखिन्छ । तैपनि, यो सबैको रुचि, आकर्षणको विषय हो । सिग्मड फ्रायडको दर्शन अनुसार त मानिसका हरेक सोच र कर्मको नाभीमा यौन चाहनाले काम गरिरहेको हुन्छ ।

‘गलबन्दी’ बोलको गीतको धुन शम्भु राईको गीतबाट चोरेको आरोप लाग्यो र यही विवादको जगमा उनको गीत झन् भाइरल भयो । यस्तो भाइरल फण्डामा गायक दुर्गेश थापा पनि कम छैनन् । अब अन्य कलाकारले पनि गीत भाइरल बनाउन समाजका संवेदनशील विषयमा विवादास्पद प्रस्तुत लिएर आउनसक्ने सम्भावना बढेको छ

यौन धन्दा र यौनकर्मीका बारेमा बनेका चलचित्र निकै हिट हुन्छन् । सेक्सी पाराले निर्माण गरिएका म्युजिक भिडियो भाइरल हुन्छन् । गायक प्रकाशले पनि भिडियोमा ‘यौन मसला’ भरिदिएका छन् । उनले दर्शकलाई कोठीसम्म पुर्‍याएका छन् ।

पूर्वलडाकु महिलाले बाँच्नका लागि अन्य कष्टकर काम गरेको पनि त देखाउन सकिन्थ्यो । गिट्टी कुटेको, बालुवा चालेको, इँटा बोकेको, फुटपाथमा कपडा बेचेको, धनीका घरमा भाँडा माझिरहेको, भ्रष्ट कमरेड नेताको आलिसान महलमा सफाइ मजदुर भएको पनि देखाउन सकिन्थ्यो । माओवादी प्रशिक्षणबाट आएकी लडाकु महिलाले आर्थिक संकट टार्न यौन धन्दाको साटो अन्य धेरै वैकल्पिक उपाय अपनाउन सक्छिन् ।

पंक्तिकारले चिनेका धेरै लडाकु महिलाले सिलाइबुनाइ, घरेलु हस्तकला तालिम लिएर प्रगति गरेका छन् । कतिपयले तरकारी खेती गरेका छन् । कोही फाइनान्स र सहकारीका लागि दिनभरि टोलटोलमा सय–पचास उठाउँदै हिँड्ने काम गरिरहेका छन् । यस्तोमा पक्कै पनि कतिपय पूर्वलडाकु महिला संगत, बाध्यता र परिबन्दले यौनकर्मी पनि भएका होलान् ।

कुनै पनि सिर्जनाले समाजको प्रतिनिधि प्रवृत्ति झल्काउनुपर्छ । बहुसंख्यक पूर्वलडाकुको अवस्था र प्रवृत्तिलाई छाडेर अपवादका प्रवृत्तिलाई सिर्जनाको मुल विषयवस्तु बनाइएकाले नै गायक प्रकाशको नियतमाथि प्रश्न उठेको हो । उनले पिर झल्काउन समाजका अन्य दुःख–कष्टका आयामलाई छाडेर ‘यौन फेम’कै सहारा लिए ।

सेक्स ‘पिर बिसाउने’ उपाय हो ?

नेपालमा ‘यौन’ एउटा बिकाउ विषय हो । यौन समवेदना नेपालमा अझै पनि गोप्य राख्नुपर्ने, घृणित, लज्जाजनक, आपत्तिजनक, फोहरी, अश्लीलको दर्जामा राखिन्छ

पात्रको मुख्य चरित्र चित्रणमा भिडियो कमजोर देखिन्छ । जस्तै, पूर्वलडाकु पत्नी विदेश जाँदा झोलामा कम्युनिस्ट दर्शनका किताब राखिदिने कमरेड पतिले मार्क्सवादी, लेनिनवादी विचार र दर्शन नबुझेका होलान् र ? यौनलाई हेर्ने लेनिनवादी दृष्टिकोण पनि उनलाई थाहा भएकै मान्नुपर्छ । लेनिनका यससम्बन्धी अन्तर्वार्ता र लेख पनि पक्कै पढेको हुनुपर्छ । पिर परेको खण्डमा कसरी ‘पिर बिसाउने’ भन्ने तौरतरिका पनि त मार्क्सवादले कम्युनिस्टहरूलाई सिकाएकै होला ।

माओवादसम्मको प्रशिक्षण पाइसकेका ‘कमरेड पति’लाई चाहिँ गायक प्रकाशले ‘पिर बिसाउन’ भन्दै यौनकर्मीको शरणमा पुर्‍याएका छन् । पिर बिसाउन मदिरा सेवनसम्म गर्नु एक हदसम्म स्वाभाविकै हो । गीत सुन्नु पनि मनासिब नै हो । मानसिक चिन्ता बढेमा ध्यान, सतसँग पनि उत्तम उपाय हो । बढी नै अवसाद भएमा मनोचिकित्सककहाँ गएर केही औषधि खान पनि सकिन्छ ।

तर कम्युनिस्टहरू त जस्तोसुकै पिर र संकटमा पनि आत्तिदैनन्, उनीहरू हरेक संघर्षको सामना गरेर अग्रगामी छलाङ लगाउँछन् र आफुलाई मात्र होइन, समाजलाई नै बदल्छन् भन्ने त माओवादकै प्रशिक्षण छ ।

माओवादी प्रशिक्षणबाट आएकी लडाकु महिलाले आर्थिक संकट टार्न यौन धन्दाको साटो अन्य धेरै वैकल्पिक उपाय अपनाउन सक्छिन्

जनवादी संस्कृति, जनवादी शिक्षा, जनअदालत, जनवादी आचरण र चरित्रको ठेक्का लिने कमरेडहरू नै ‘पिर बिसाउन’ भन्दै कोठीसम्म जालान् त ? यदि नेपालका आम कमरेडहरूमा यसखालको चारित्रिक विचलन आएको हो भने प्रकाशले उठाउन खोजेको विषयवस्तु अर्कै हुनसक्छ ।

गीतले कमरेडहरूले भोगेको पीडा होइन, कमरेडहरूमा देखिएको चारित्रिक विचलन पो उजागर गरेको देखिन्छ । के ‘पिर’ गीतका कमरेडमा झैं नेपालका कम्युनिस्टहरूमा यो हदसम्म नैतिक र चारित्रिक विचलन आइसकेको हो ?

कमरेडी अभिवादन गरेर उनी ‘पैसा असुल’ नगरी आत्तिदै फर्कन्छन् । वाह, क्या चरित्रवान् । पाँच मिनेट अघिसम्म यौनको भोको पुरुष एकाएक साधु ?

गायक प्रकाशले चाहिँ कमरेड पत्नी विदेिशएको तीन महिना नबित्दै कमरेड पतिको यौन ग्रन्थीलाई औडाहा भएको देखाउँछन् । यो औडाहाले कमरेडमा चारित्रिक विचलन ल्याउँछ । कस्तो कम्युनिस्ट प्रशिक्षण ? यौन आवेगको कस्तो व्यवस्थापन ? के कम्युनिस्टहरू पत्नी विदेशिएको तीन महिनामै काम पिपासु भएर देखापर्ने हुन् ? भन्ने प्रश्न खडा हुन्छ । अनि पारिवारिक वियोग र आर्थिक संकटको हलचाहिँ ‘सेक्स’ हो कि संघर्ष, श्रम र कर्म हो ? भन्ने प्रश्न पनि गायकले खडा गरिदिएका छन् ।

गायकमा अपरिपक्वता यहीँनेर झल्किन्छ । चारित्रिक विचलनका कारण कोठीमा यौनकर्मीसँग लहसिने ‘कमरेड’ले जब यौनकर्मीका रूपमा आफ्नै लडाकु महिला सहयोद्धा देख्छन्, तब एकाएक उनको पात्रतामा चरित्रवान् रस पलाउन थाल्छ । कमरेडी अभिवादन गरेर उनी ‘पैसा असुल’ नगरी आत्तिदै फर्कन्छन् । वाह, क्या चरित्रवान् । पाँच मिनेट अघिसम्म यौनको भोको पुरुष एकाएक साधु ?

अर्थात् लडाकु महिलाको ठाउँमा अर्कै कुनै युवती भएको भए त कमरेडले मजा लिन नछाड्ने रहेछन् । लडाकु भएकाले आफ्नो चरित्रहीनताको पोल खुल्यो, यौनकर्मी भएकाले महिलाको पनि पोल खुल्यो । आपसमा पोल खुलेपछि भागभाग हुँदाचाहिँ कमरेडी अभिवादनको भद्दा पाखण्ड ? गायक महोदय, माक्र्सवादी सौन्दर्यशास्त्रको यो कुनचाहिँ बान्की हो ?

जनवादी संस्कृति, जनवादी शिक्षा, जनअदालत, जनवादी आचरण र चरित्रको ठेक्का लिने कमरेडहरू नै ‘पिर बिसाउन’ भन्दै कोठीसम्म जालान् त ? यदि नेपालका आम कमरेडहरूमा यसखालको चारित्रिक विचलन आएको हो भने प्रकाशले उठाउन खोजेको विषयवस्तु अर्कै हुनसक्छ

गरिबी या यौन कुण्ठा ?

भिडियो एउटा विषयवस्तु उठाउँदा उठाउँदै अर्को विषयमा छ्यासमिस भएको छ । भिडियोले उठाउन खोजेको मुख्य ‘पिर’ नै बरालिएको छ । लडाकुमाथिको उपेक्षा र आर्थिक संकटसँगै मुख्य पुरुष पात्रको यौन कुण्ठा पनि घुसाइएको छ, यसले पात्रहरूमा व्याप्त मुख्य ‘पिर’लाई गिजोलेको छ ।

‘कमरेड’ पात्रता बुनिसकेपछि एउटा कम्युनिस्टको आमचरित्र झल्काउन नसक्नु भिडियोको कमजोरी हो । साँच्चै कमरेडहरू यौन विचलनमा लागेको देखाउन खोजिएको हो भने भिडियोलाई त्यही ढंगले विकसित गर्नुपथ्र्यो । तर ‘पीर’ शीर्षकले कमरेडहरूको दुःख–कष्टलाई नै बढी बोकेको छ । तर मुख्य कमरेड पात्रको ‘पिर’ चाहिँ अर्कै छ । उनको मुख्य समस्या आर्थिक हो कि यौनिक हो ? भन्ने प्रश्न उठ्छ ।

आर्थिक पिरका कारण श्रीमती विदेश गएको देखाउनु स्वाभाविकै हो । तर कमरेड पतिचाहिँ ‘देश के हो ?’ भन्ने प्रश्नमा घोत्लिनुको कारण के हो ? तीव्र यौन कुण्ठा हो कि ? अथवा यौन कुण्ठा बोकेर कोठीमा जाँदा यौनकर्मी आफ्नै सहयोद्धा भएको बुझेपछि फनक्क फर्किनु पर्दा शान्त हुन नसकेको यौन आवेगको ‘पिर’ नै मुख्य पुरुष पात्रमा घनिभूत भएको हो ?

यौनसम्पर्क गर्न पाइने भो भनेर पुरुष तयार भइरहेको छ, अचानक त्यसमा अवरोध आउँदा उसको काम ग्रन्थीमा जुन ‘जर्क’ हुन्छ, त्यसले मनस्थिति नै खलबल्याएछ । कतै पुरुष पात्रलाई यौन कुण्ठाकै पिरले विक्षिप्त पारेको हो कि ? आखिर भिडियोमा व्यक्त गर्न खोजिएको खास ‘पिर’ के हो ?

‘कमरेड’ चरित्र चित्रणमा कमजोरी

पंक्तिकारले बुझे अनुसार, कम्युनिस्टहरू यौन व्यवस्थापनमा कुशल हुन्छन् । यसका लागि उनीहरूसँग अनेक सिद्धान्त हुन्छ । यौनलाई कसरी हेर्ने ? कुन अवस्थामा यौनको चर्चा गर्ने ? भन्नेबारेमा कम्युनिस्ट स्पष्ट छन् । सेल्टरमा रहेका या भूमिगत कमरेड स्त्री र पुरुषबीच केहीगरी यौनसम्पर्क भयो भने पनि त्यसलाई ठूलो मुद्दा बनाउँदैनन् । पार्टीको इज्जतको ख्याल गरेर लुकाउँछन् । माओत्सेतुङ र च्याङ चिङको रिलेसनसिप’लाई चिनियाँ कम्युनिस्ट पार्टीले गोप्य राखेको थियो । सहमतिमा आवश्यकता पूर्ति गर्नुपर्छ, तर छाडा हुनुुुहुँदैन भन्नेमा पनि कम्युनिस्टहरू स्पष्ट छन् ।

पारिवारिक वियोग र आर्थिक संकटको हलचाहिँ ‘सेक्स’ हो कि संघर्ष, श्रम र कर्म हो ? भन्ने प्रश्न पनि गायकले खडा गरिदिएका छन्

कृष्णबहादुर महरा या मोदनाथ प्रश्रितजस्ता केही नेताले यौन चाहनाको व्यवस्थापनमा ढंग पुर्‍याउन नसकेको भए पनि नेपालका अधिकांश नेताहरूले यसलाई सम्यक, व्यवस्थित, सुरक्षित र गोप्य ढंगले व्यवस्थापन गरिरहेको सुन्नमा आउँछ । विवाह नगरीकन पनि कतिपय कम्युनिस्ट नेताका ‘महिला सहयोद्धा’ नभएका होइनन् ।

अतः गायक प्रकाश सपुतले नेपालका कमरेडहरूले यौन व्यवस्थापनमा अपनाएको कुशल व्यवस्थापनको पाटोलाई बुझ्दै बुझेनन् । हाम्रा कमरेडहरू यौन चाहना भयो भन्दैमा कहाँ यौनकर्मी खोज्दै तिनका कोठा–कोठामा जान्छन् र ? त्यति बेवकुफ छैनन् ।

एकपटक यौन व्यवस्थापनमा चुक्दा एक जना थारू नेता रंगे हात समातिए । कमरेडहरूका हकमा चाहिँ यस्तो रंगे हात समातिएको घटना देखिएको छैन ।

सेल्टरमा रहेका या भूमिगत कमरेड स्त्री र पुरुषबीच केहीगरी यौनसम्पर्क भयो भने पनि त्यसलाई ठूलो मुद्दा बनाउँदैनन् । पार्टीको इज्जतको ख्याल गरेर लुकाउँछन् । माओत्सेतुङ र च्याङ चिङको रिलेसनसिप’लाई चिनियाँ कम्युनिस्ट पार्टीले गोप्य राखेको थियो

अतः गायक प्रकाशको गीतले यौन फेम भजाइरहँदा कमरेडहरूको असली चरित्र उजागर गर्न सकेनन् कि भन्ने लाग्छ । यौन चाहना तुष्टिका लागि यौनकर्मीकहाँ जाने भनेका त बिग्रेका, भ्रष्ट, सत्तानिकट कमरेडहरू हुन् । अचेल जग्गा दलाली, प्लटिङ, बालुवा र गिटी–बालुवा ठेक्का, डोजर सञ्चालन, हुण्डी कारोबारदेखि ठेक्का पट्टा र निर्माण व्यवसायमा लागेर बिचौलिया दलाल भइसकेका कमरेडहरूको दिनचर्या चाहिँ भिडियोमा देखाइएको पात्रको यौन विचलनसँग मिल्छ । यस्ता बिग्रेका ‘क्रान्तिकारी’हरू अचेल दोहोरी, डान्सबारमा रमाइरहेका हुन्छन् । ठमेल, दरबारमार्गतिर मोज गरिरहेका हुन्छन् । त्यतै कतै फेला पर्ने यौनकर्मीलाई गाडीमा बोकेर लजका कोठाहरूमा मस्ती मारिरहेका हुन्छन् ।

गायकले कमरेड भ्रष्टीकरणको यो पाटोलाई बुझेनन् । आर्थिक संकटमा परेको, श्रीमतीलाई समेत कम्युनिस्ट दर्शनका किताब पढिरहन प्रेरित गर्ने अध्ययनशील र संघर्षशील पीडित कमरेडलाई एकाएक यौन कुण्ठित, चरित्रहीन पात्रतामा रूपान्तरण गरे ।

यौन चाहना पूर्ति गर्न यौनकर्मीसम्म पुग्ने कमरेडहरू ती होइनन्, जुन गायकले भिडियोमा देखाउन खोजे । बरु ती हुन्, जो अहिले सत्ताको सुखमा मोज गरिरहेका छन् ।

चारित्रिक विचलन तिनमा आएको छ, जो अचेल मार्क्सवाद, लेनिनवाद र माओवादी छाडेर ‘फायरबाख’ र ‘फ्रायडवाद’का अनुयायी बन्दै काठमाडौं आसपासका रिसोर्ट चहारिरहेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष