NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते
विश्वकप छनोट :

निर्णायक खेलमा टर्कीसँग भिड्दै पोर्चुगल, ‘हेड टु हेड’मा को अगाडि ?

काठमाडौं । विश्वकप छनोटको प्ले अफअन्तर्गत निर्णायक खेलमा पोर्चुगलले आज टर्कीको सामना गर्दैछ ।

प्ले अफको सेमिफाइनल खेल नेपाली समयअनुसार आज राति १.४५ बजे हुनेछ । यो खेल हारेमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विश्वकपमा स्थान बनाउनबाट एक खेलअगाडि नै बाहिरिने निश्चित छ ।

यसर्थ, घरेलु मैदानमा हुने उक्त खेल जसरी नि जित्ने दाउमा पोर्चुगल हुनेछ ।

पोर्चुगिज कप्तान रोनाल्डो सम्भवत आफ्नो अन्तिम विश्वकप खेल्न लागिरहेका छन् । यसैले जसरी पनि विश्वकपमा छनोट हुन चाहन्छ पोर्चुगल ।

तर, टर्कीलाई जित्दै फाइनलमा पुग्नलाई पोर्चुगललाई सजिलो भने छैन । पछिल्लो युरोकपमा निराश प्रदर्शन गर्नका बाबजुद टर्की कमजोर टोली भने मानिँदैन । टर्कीमा पनि युरोपका टप ५ लिग खेल्ने खेलाडी रहेका छन् ।

चेङ्गिज उन्डार, बुराक यिल्माजजस्ता खेलाडी टर्कीसँग छन् । टर्कीले टिम गेम पनि खेल्ने गरेको छ ।

Portugal vs Turkey odds, picks, prediction: FIFA World Cup European Qualifier best bets for Thursday, March 24 - CBSSports.com

अर्कोतिर फर्नाण्डो सान्तोसको प्रशिक्षणमा रहेको पोर्चुगललाई चोट र प्रतिबन्धले पिरोलेको छ । मुख्य डिफेन्डरहरू पोर्टोका पेपे, म्यानेचेस्टर सिटीबाट खेल्ने रुबेन डियाज र उल्सका नेल्सन सेमेडोले चोटकै कारण दुवै खेल गुमाउने निश्चित भएको छ ।

म्यानचेस्टर सिटीकै जाओ कान्सेलो भने टर्कीसँगको खेल जितेमा मात्र अर्को खेलका लागि उपलब्ध हुनेछन् । उनीमाथि एक खेलको प्रतिबन्ध लागेको छ ।

यस्तै, फ्रेन्च क्लब लिलका मिडिफिल्डर रेनाटो सान्चेस पनि चोटकै कारण टोलीमा अटाएका छैनन् ।

यसका बीच पनि पोर्चुगलमा स्टार खेलाडीको भने कमी छैन । रोनाल्डोसँगै बर्नार्डो सिल्भा, ब्रुनो फर्नाण्डेज, जाओ फेलिक्स, डिएगो जोटाजस्ता अग्रपंक्ति र मध्यपंक्तिका खेलाडी छन् । जसले खेलको नजिता परिवर्तन गर्ने हैसियत राख्छन् । अर्कोतिर पोर्चुगलसँग रुइ पेट्रेसिओजस्ता भरपर्दा गोलकिपरसमेत छन् ।

पोर्चगलले घरेलु मैदानको फाइदा लिने सम्भावना छ । यस्तै हेड टु हेडमा पनि पोर्चुगल नै अगाडि छ ।

यी दुई टोलीबीच आठपटक भेट भएकोमा पोर्चुगलले ६ पटक जित निकालेको छ । टर्कीले भने दुईपटक मात्र नतिजा आफ्नो पक्षमा पारेको छ । यसर्थ, फुटबलका अधिकांश पण्डितले यो खेल पोर्चुगलले जित्ने अनुमान गरेका छन् ।

सो खेल जितेमा पोर्चुगलले इटाली वा नर्थ मेसेडोनियासँग फाइनल खेल खेल्नेछ । यदि चारपटकको विश्वकप विजेता इटालीसँग परे यो खेल निकै कठिन हुनेछ । पोर्चुगल र इटालीमध्ये एउटा टोलीले विश्वकपमा स्थान नबनाउने निश्चित भइसकेको छ ।

Italy-North Macedonia | European Qualifiers 2021/22 | UEFA.com

साथै, आज राति नै हुने खेलमा इटालीले नर्थ मेसेडोनियाको सामना गर्दैछ । घरेलु मैदानमा हुने यो खेल इटालीले जित्ने धेरैले अनुमान गरेका छन् ।

यी दुई टोलीबीच हालसम्म दुईपटक भेट भएको छ । जसमा इटालीले एक खेल जितेको छ भने एक खेल बराबरीमा रोकिएको छ ।

निर्णायक खेलमा पोर्चुगललाई पिरलो, हुने छैनन् पेपेसहित महत्वपूर्ण ४ डिफेण्डर