NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

काठमाडौं महानगर : यी हुन् मुख्य दलका सम्भावित उम्मेदवार, एमालेमा भन्दा कांग्रेसमा दाबेदार धेरै

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं महानपालिकामा पनि सम्भावित उम्मेदवारका विषयमा चर्चा सुरु भएको छ । सङ्घीय राजधानी भएकाले काठमाडौंको मेयर मन्त्रीभन्दा पनि शक्तिशाली मानिन्छ । मेयर बन्नका लागि मुख्य दलभित्र नेताहरूको दौडधुप सुरु भएको छ । साङ्गठनिक आधार बलियो भएका कारण विशेषगरी नेकपा (एमाले) र नेपाली कांग्रेसभित्र महानगरको मेयरका आकाङ्क्षीको लाइन देखिन्छ । विगतमा मेयर जितेकाले एमालेमाथि साख बचाउने चुनौती छ । कांग्रेस पनि २०४९ सालको बिरासत फर्काउन चाहन्छ । तर, यी दलमा अहिलेसम्म सर्वसम्मतजस्तो देखिने अनुहार अघि आएका छैनन् ।

एमालेबाट सम्भावित उम्मेदवार
विगतका तीनमध्ये दुईवटा चुनाव जितेकाले पनि एमालेमा उम्मेदवारका लागि अलि बढी प्रतिस्पर्धा देखिन्छ । महानगरमा नेवार समुदाय बाहुल्य रहेकाले एमालेले विगतमा पनि त्यही समुदायबाटै उम्मेदवार बनाउने गरेको थियो । प्रजातन्त्र स्थापनापछि भएका तीनवटै स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा नेवार समुदायकाले नै चुनाव जितेका छन् । यसपटक पनि एमालेबाट आकाङ्क्षा राख्नेमा नेवार समुदायकै बाहुल्यता देखिन्छ । एमालेका आकाङ्क्षी कस्ता–कस्ता छन् ? हेरौँ–

विद्यासुन्दर शाक्य

अहिलेका मेयर विद्यासुन्दर शाक्यले मेयरमा दोहोरिने आकाङ्क्षा राखेका छन् । उनले सार्वजनिक रूपमै आफ्नो चाहना प्रस्ट्याइसकेका छन् । पार्टीले विश्वास गरे आफू पुनः एक कार्यकाल दोहोरिने मेयर शाक्यको भनाइ छ । तर, निर्वाचनमा जनतासामु गरेका वाचा पूरा गर्न नसकेपछि चरम आलोचना खेपिरहेका शाक्यलाई एमालेले फेरि विश्वास गर्छ भन्ने आधार भने देखिँदैन । शाक्यकै कारण पार्टीलाई उपत्यकामा क्षति पुगेको एमालेको आन्तरिक मूल्याङ्कन छ । दुई पटकसम्म वडाध्यक्ष भएकाले पनि शाक्यबाट एमालेले धेरै अपेक्षा गरेको थियो, तर त्यसो हुन सकेन । त्यसैले यसपटक शाक्यको दाबेदारी भने कमजोर देखिन्छ ।

रामवीर मानन्धर

प्रतिनिधि सभाका सांसद तथा पूर्वमन्त्री रामवीर मानन्धरले पनि एमालेबाट महानगरको मेयरमा आकाङ्क्षा राखेका छन् । यसअघि विद्यासुन्दरलाई मेयर बनाउन योगदान गरेको भन्दै उनले यसपटक आफूले टिकट पाउनुपर्ने तर्क गरेका छन् । ०४९ सालमा एमालेको सदस्यता लिएर वडाध्यक्षमा उम्मेदवार भएका मानन्धर लगातार दुई पटकसम्म सोही पदमा कायम रहे । व्यापारिक पृष्ठभूमिका मानन्धर ०७० र ०७४ सालको निर्वाचन जितेर सांसद बनेका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी राज्यमन्त्री भएका थिए । वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन सांसदबाट राजीनामा दिने घोषणा गरेर चर्चामा आएका मानन्धर एमालेबाट काठमाडौंको मेयरका लागि मुख्य दाबेदार हुन् । अघिल्लोपटक पनि उनले मेयरमा दाबेदारी गरेका थिए । तर, पार्टीले संसद्को टिकट दिने भनेपछि उनी पछि हटेका थिए ।

केशव स्थापित

०५४ सालमा एमालेबाट काठमाडौं महानगरको मेयर भएका केशव स्थापितले यसपटक फेरि उम्मेदवारीको आकाङ्क्षा राखेका छन् । त्यसका लागि उनले नेताहरूसँगको भेट तीव्र पारेका छन् । मेयर हुँदा केही राम्रा काम गरेर चर्चामा रहेका स्थापितको राजनीतिक जीवन भने निकै अस्थिर छ । विभिन्न दल चहारेर फेरि पुरानै पार्टीमा फर्किएका कारण उनलाई एमालेले झट्ट विश्वास गरिहाल्न सकेको छैन । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि स्थापित मेयरमा मनोनीत भएका थिए । युवा संघको अध्यक्षसमेत भइसकेका स्थापित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव पनि भएका थिए ।

विगतमा मेयर जितेकाले एमालेमाथि साख बचाउने चुनौती छ । कांग्रेस पनि २०४९ सालको बिरासत फर्काउन चाहन्छ । तर, यी दलमा अहिलेसम्म सर्वसम्मतजस्तो देखिने अनुहार अघि आएका छैनन् ।

०५९ सालमा माओवादीमा लागेर थिए स्थापित । त्यसपछि सरकारी पक्षबाट असुरक्षाको खतरा देखेपछि उनले पुरानो पार्टी प्रजा परिषद् ब्युँताए । पुनः एमालेका फर्किउर उनी काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तसमेत बनेका थिए । हाल उनी प्रदेश सभा सदस्य छन् । राजनीतिक रूपमा दल परिवर्तनलाई बिर्सने हो भने स्थापित एमालेबाट मेयरका मुख्य दाबेदार हुन् । उनलाई चाहनेको ठूलो सङ्ख्या एमालेमा छ । तर, बीचमा पटक–पटक धोका दिएका कारण नेतृत्वले भने विश्वास गरिहाल्ने अवस्था बनेको छैन । यसपटक नेतृत्वलाई विश्वास दिलाएर मेयरको टिकट हत्याउन उनी लागिपरेका छन् ।

कांग्रेसबाट सम्भावित दाबेदार

महानगरपालिकाको मेयरका लागि सत्तारूढ कांग्रेसमा पनि आकाङ्क्षीको चर्चा सुरु भएको छ । मेयरका लागि दुईजना पूर्वमन्त्रीसहित एक दर्जन नेताले आकाङ्क्षा देखाएका छन् । यसपटक अन्य दलसँग गठबन्धन बन्ने र चुनाव जित्ने सम्भावना रहेकाले पनि कांग्रेसमा आकाङ्क्षीको सङ्ख्या बढी देखिएको छ । कांग्रेसका दाबेदार कस्ता–कस्ता छन्, हेरौँ–

भीमसेनदास प्रधान

रक्षामन्त्रीसमेत भइसकेका भीमसेनदास प्रधानले यसपटक काठमाडौं महानगरमा मेयर हुने चाहना राखेका छन् । नेता कृष्ण सिटौलानिकट मानिने प्रधानले कार्यकर्ताको दबाव आफूलाई मेयर बनाउनुपर्ने रहेको भन्दै दाबेदारी पेस गरेका छन् । ०२८ देखि राजनीतिमा प्रवेश गरेका प्रधान काठमाडौं कांग्रेसको सभापतिसमेत भइसकेका छन् । बौद्धिक व्यक्तित्व मानिने उनी प्राध्यापन पेसा छाडेर राजनीतिमा आएका हुन् । पार्टीको गत महाधिवेशनमा सिटौला समूहले शेरबहादुर देउवालाई सभापति बनाउन सहयोग गरेकाले प्रधानले मेयरको टिकट पाउने विश्वास गरेका छन् । यसअघि बागमती प्रदेश सभापतिको पहिलो चरणमा तेस्रो भएका नेता प्रधानले देउवा समूहका उम्मेदवार इन्द्र बानियाँलाई सहयोग गरेका थिए ।

तीर्थमान डंगोल

पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेका तीर्थमान डंगोलको नाम पनि मेयरको उम्मेदवारका लागि चर्चामा छ । कांग्रेस काठमाडौं जिल्लाको नेतृत्वसमेत गरिसकेका डंगोलले गत निर्वाचनमा समेत मेयरमा आकाङ्क्षा राखेका थिए । नेता डंगोल पार्टी सभापति देउवा र पूर्वमहामन्त्री सिटौलाको विश्वासपात्र मानिन्छन् । काठमाडौं कांग्रेसमा नेता प्रकाशमान सिंहसँग फरक मत राख्दै आएका नेता डंगोलले गत चुनावमा आफूलाई टिकट नदिएकाले यसपटक पाउनुपर्ने अडान राखिरहेका छन् ।

हरिप्रभा खड्गी

हाल उपमेयर रहेकी कांग्रेस नेत्री हरिप्रभा खड्गीले पनि यसपटक मेयरमा आकाङ्क्षा राखेकी छिन् । काठमाडौंको राजनीतिमा प्रकाशमाननिकट मानिने खड्गीको सभापति देउवासँग पनि राम्रै सम्बन्ध छ । गत निर्वाचनमा करिव २४ हजार मतान्तरले पराजित गरेर उपमेयर खड्गीले आफू अबको चुनावमा स्वतः मेयरको दाबेदार रहेको बताएकी छिन् ।

नीलकाजी शाक्य

नीलकाजी शाक्य कांग्रेस काठमाडौं महानगरका सभापति हुन् । वडाध्यक्षसमेत रहेका शाक्यले आगामी निर्वाचनमा मेयरको दाबेदारी पेस गरेका छन् । कलाकर्ममा पनि सक्रिय शाक्य प्रकाशमाननिकट मानिन्छन् । यद्यपि, सभापति देउवा समूहसँग पनि उनको राम्रो सम्बन्ध छ ।

राजुराज जोशी

गत निर्वाचनमा मेयरको प्रत्याशी बनेका नेता राजुराज जोशी पराजित भएपछि पनि स्थानीय तहमा सक्रिय छन् । स्वर्गीय नवीन्द्रराज जोशीका सदोहर दाइ राजुराज पनि प्रकाशमाननिकट मानिन्छन् । उनले पनि मेयरको उम्मेदवारीमा दोहोरिने आकाङ्क्षा राखेका छन् ।

अन्य दाबेदार

पूर्वमन्त्री एवं नेता स्व. नवीन्द्रराज जोशीकी पत्नी सपना जोशी, नेता प्रगतिमान रञ्जित, १६ नम्बरका वडाध्यक्ष मुकुन्द रिजाल, ११ का वडाध्यक्ष हिरालाल तण्डुकार, नेविसंघका निवर्तमान महासचिव मनोज वैद्यलगायतले पनि आगामी चुनावमा मेयरको उम्मेदवार हुने आकाङ्क्षा राखेका छन् ।

गठबन्धनका अन्य दलमा अलमल

चुनावमा तालमेल हुने सम्भावना रहेकाले एकीकृत माओवादी, एकीकृत समाजवादीलगायत दलमा भने उम्मेदवारीको खासै चर्चा देखिएको छैन । कांग्रेससँग तालमेल नहुने अवस्थामा मात्रै यी दलले उम्मेदवारी दिनेछन् । विवेकशील साझा पार्टीमा यसपटक चर्को आन्तरिक विवाद छ । त्यसैले यो दलमा पनि को उम्मेदवार हुने अझै अलमल नै देखिएको छ । यद्यपि, साझा पार्टीले गत चुनावकै उम्मेदवार किशोर थापालाई अघि सार्ने सम्भावना छ ।

चर्चित ¥यापर बालेन शाहले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हिपहपको दुनियाँमा युवा पुस्तामाझ चर्चित रहेका शाह स्ट्रक्चरल इन्जिनियरसमेत हुन् । आफू मेयरमा निर्वाचित भए काठमाडौंको जाम, प्रदूषणलगायत समस्या हल गर्ने र मेट्रो रेल सञ्चालन गर्ने उनले घोषणा गरेका छन् ।