NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रचण्डकै वडामा सुरक्षित छैन माओवादी केन्द्र

काठमाडौँ । चुनाव नजिकिदै जाँदा प्रमुख दलहरुले स्थानीय तह निर्वाचन परिणाम आफ्नो पक्षमा आउने दावी गरिरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टीको रुपमा आउने दावी गर्न थालेका छन् । आफ्नो पार्टीको पक्षमा देशभर चुनावी माहौल बन्दैछ भन्ने प्रचण्डले आफ्नै वडामा पार्टीको रक्षा गर्न सकेका छैनन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नं १४, शिवनगर उनको स्थायी ठेगाना हो । शिवनगरको प्रचण्ड टोल भन्ने ठाउँमा उनको नाममा आधा कठ्ठा जमीन र एउटा सानो घर छ । तर प्रचण्डले आफ्नै वडामा समेत माओवादी केन्द्रलाई सुरक्षित गर्न सकिरहेका छैनन् ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा प्रचण्ड भरतपुर महानगरपालिकामा कांग्रेसको सहयोगमा आफ्नो छोरी रेणु दाहाललाई मेयर बनाउन सफल भए । तर उनले आफ्नै वडामा पार्टीका वडाध्यक्षका उम्मेदवार खिमलाल भट्टलाई चुनाव जिताउन सकेनन् ।

प्रचण्डको वडामा अघिल्लो निर्वाचनमा ४ हजार ४७ मत सदर भएको थियो । त्यसमध्ये नेपाली कांग्रेसका उम्मेदवार ओमप्रसाद पोख्रेल एक हजार ५ सय ५२ मत पाएर निर्वाचित भए । माओवादीका उम्मेदवार खिमलाल भट्ट एक हजार १ सय १६ मत ल्याएर दोस्रो स्थानमा रहे । उक्त वडामा एमालेका उम्मेदवार हरिकृष्ण गुरुङ्गले एक हजार १ सय ५ मत पाएका थिए । एमालेले पाएको मत माओवादी केन्द्रको भन्दा ११ मत मात्र बढी छ ।

यसरी पुरानो तथ्यांक केलाउँदा भरतपुर महानगरपालिकाको वडा नं १४ मा एक्ला / एक्लै भिड्दा माओवादी केन्द्रलाई निर्वाचन जित्न मुस्कील छ ।

वडा सदस्यको मत झनै कमजोर

प्रचण्डको घर रहेको वडा नं १४ मा वडाध्यक्षमात्रै होइन, वडा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भए । वडाध्यक्षमा दोस्रो धेरै मत ल्याएको माओवादी केन्द्र वडा सदस्यमा तेस्रो स्थानमा खुम्चीएको अघिल्लो निर्वाचनको मत परिणामले देखाउँछ ।

वडाका सबै पदमा कांग्रेस निर्वाचित भएको छ । वडाअध्यक्षबाहेक सदस्यहरुमा एमालेका उम्मेदवार दोस्रो धेरै मत ल्याएका छन् । माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवारले भने मत संख्या घटाएका थिए ।

५ बर्षमा के भयो ?

यो ५ बर्षमा माओवादी केन्द्रका नेतृ रेणु दाहाल महानगरको मेयर थिइन । रेणु दाहाल प्रचण्डको माईली छोरी हुन् । यस वीचमा शिवनगरको विकासमा मेयर दाहालले करोडौँ लगानी गरेकी छिन् । हरेक गल्ली गल्लीका सडकहरु कालोपत्रे भएका छन् । तर यो सबै कामको नेतृत्व कांग्रेसका वडाध्यक्षले गरेका थिए । तसर्थ वडा नं १४ को विकासको जस कस्ले लिने भन्नेमा चुनावी मैदानमा दोहोरी चल्नेछ ।

यही वीचमा माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेकपा बन्यो । यस अवधिमा माओवादी र एमालेका कार्यकर्ता पनि एक भए । विभाजनपछि केही माओवादी कार्यकर्ता एमालेतर्फ र एमालेका केही कार्यकर्ता माओवादीतर्फ लागे ।

उता वडा नं १४ मा आफ्नो विजयको झण्डा फहराउन एमाले राप्रपासँग तालमेल गर्ने तयारीमा छ । उक्त वडामा राप्रपाको २ सय ४७ मत छ । यसकारण वडासम्म तालमेल नभए माओवादी केन्द्र प्रचण्डकै वडामा पनि पराजीत हुने अंक गणितले देखाउँछ ।

काठमाडौं महानगर : यी हुन् मुख्य दलका सम्भावित उम्मेदवार, एमालेमा भन्दा कांग्रेसमा दाबेदार धेरै