NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जेलेन्स्कीले आफ्नो स्वार्थका लागि विदेशी संसद्मा कसरी भाषण गरिरहेका छन् ?

काठमाडौं । आफ्ना सेनाले युक्रेनको रणभूमिमा दृढतापूर्वक लडिरहेकाे बेला युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी राष्ट्रका राजधानीहरुमा सूचना युद्ध सुरु गरेका छन् । उनले दुई सातामा १० वटा राष्ट्रका संसदमा सम्बोधन गरे । जताततै सांसदहरुले उनलाई ‘स्ट्यान्डिङ ओभिएसन’ दिएका छन् ।

रुसी सेनाले घेरेको राजधानी सहर किएभबाट भिडियो लिङकमार्फत लाइभमा हरियो टिसर्ट लगाएर उनी प्रायः मुट्ठीले सलामी दिएर बाह्य संसदमा बलियो उपस्थिति जनाउँछन् । आफ्ना कुरा राख्छन् र तालि बजिरहँदा नै उनी भिडियाेबाट देखिन छोड्छन् । उनी आफ्नो अस्तित्वकाे मामिलामा उपस्थित हुन हतारमा भएका व्यक्ति हुन् ।

रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका जोनाथल इयाल भन्छन्, ‘राष्ट्रको भावनालाई कसरी मूत रुप दिने भनेर उनलाई राम्रोसँग थाहा छ । उनको भाषणमा मात्र होइन, भिडियोमा देखा पर्ने तरिका, पृष्ठभूमिले पनि यसलाई राम्रोसँग चित्रण गर्छ ।’

मार्च ३ मा लन्डनमा सांसदहरुलाई सम्बोधन गरेर सुरु भएको उनको भाषण यात्राको एउटामात्रै उद्देश्य छ-‘ युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने ।’ यसका लागि राष्ट्रपति जेलेन्स्कीले आफ्ना सन्देशहरु श्रृङखलाबद्ध तरिकाले प्रस्तुत गर्छन् । बर्लिन पर्खाल भत्किएदेखि अमेरिकाको वासिंटन र न्युयोर्कमा भएको ९\११ आक्रमणका बारेमा उनले विभिन्न संसदमा उल्लेख गरेका छन् ।

सम्बोधन गर्ने देशका संसदमा उनले ती देशले विगतमा भोगेका भयानक युद्धका दृश्यलाई शब्दमार्फत ताजा गराउँछन् । अझ भनौं सांसदहरुलाई भावनात्मक बनाउन तिर लाग्छन् ।

राष्ट्रको भावनालाई कसरी मूत रुप दिने भनेर उनलाई राम्रोसँग थाहा छ । उनको भाषणमा मात्र होइन, उनी भिडियोमा देखा पर्ने तरिका, पृष्ठभूमिले पनि यसलाई राम्रोसँग चित्रण गर्छ ।’

उनले बुधबार फ्रान्सको पेरिसमा ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ लाई उच्चारण गरे । जापानमा आणविक हतियार प्रकोपको विषय उठाए । जापानले दोस्रो विश्वयुद्धमा आणविक हतियारकै कारण दुई सहर गुमाएको थियो । जेलेन्स्कीले प्रस्तुत गर्ने यी सन्दर्भहरु साना छैनन ।

उनले भाषणमा आफ्नो समय बर्बाद गर्दैनन । लन्डनमा एक वा दुई मिनेटको सम्बोधनमा उनले युक्रेनको १३ दिनसम्मको युद्धलाई दोस्रो विश्वयुद्धमा बेलायतको अवस्थासँग तुलना गर्दै थिए । सेक्सपियरको माध्यमबाट उनी विन्स्टन चर्चिलसम्म आइपुगे । उनले बेलायतको युद्धवेलाका नेताको नाम त लिएनन्, तर युक्रेनको भूगोलमा मिल्ने चर्चिलको ४ जुन १९४० को भाषणलाई सुक्ष्म रुपमा समायोजन गरे । ‘हामी जंगलमा, खेतमा, समुद्र तटमा, सहर र गाउँमा, गल्लीहरुमा लड्नेछौं, हामी पहाडहरुमा लड्नेछौं,’ उनले भने ।

विभिन्न संसद्मा जेलेन्स्कीले सम्बाेधन गर्दा

संसदीय यात्रामा अघि बढ्दै जाँदा जेलेन्स्की शान्त तरिकाले आक्रोश, दुख, अठोटहरु पोखिरहन्छन् । उनले रुसले आक्रमण गरेर देशलाई विक्षिप्त बनाउँदा पश्चिमेली मुलुकबाट पर्याप्त समर्थन नभएको भन्दै थप कडा टिप्पणी पनि गर्न डराउँदैनन् ।

पर्ल हार्बर, मार्टिन लुथर किंग र माउन्ट रसमोरको सन्दर्भमा भरिएर अमेरिकी कांग्रेसमा दिएको भाषणमा राष्ट्रपति जेलेन्स्कीले आफ्ना श्रोतालाई अकुटनीतिक भाषामा हप्काएका थिए ।

मंगलबार इटालियन चेम्बर अफ डेपुटिजलाई सम्बोधन गर्दै उनले इटालीमा अहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका व्यक्तिहरुले छुट्टी मनाइरहेको कुरा औंल्याउँदै त्यहाँ पनि आक्रोश पोखे । उनले भने, ‘हत्याराहरुका लागि सहारा नबन्नुहोस् ।’

अप्रत्याशित आक्रमणबाट पीडित देशको राष्ट्रपतिको रुपमा जेलेन्स्कीले विदेशी संसदमा गएर सांसदमाथि आक्रोश पोख्ने अधिकार पाएका छन् । तर अन्य देशको संसद प्रयोग गरेर सांसदलाई गाली गर्ने अधिकार कसैलाई हुँदैन ।

अर्काेतर्फ, उनी युक्रेनी भाषामा बोल्छन्, सामान्यतया यस प्रकारको गम्भीर राजनीतिक मुद्दामा सुटहरु नलगाएर सामान्य पहिरनमा देखिनु यो एक राजनीतिज्ञको लागि असाधारण रूपान्तरण हो ।

जेलेन्स्कीले सहानुभूति कमाउनका लागि मात्र विश्वका संसदहरुमा भर्चुअल भ्रमण सुरु गरेनन् । आफ्नो सहयोगीहरुबाट ठूलो दिगो सैन्य सहायताले मात्रै युक्रेन आफ्नो अस्तित्वका लागि लडिरहेका सन्देश पनि दिए ।

केही हप्तादेखि राष्ट्रपति जेलेन्स्कीले नेटोलाई युक्रेनमा नो फ्लाई जोन लागू गर्न आग्रह गर्दै आएका छन् । नेटोले नो फ्लाई जोन लागू गर्दैन भन्ने पनि उनलाई थाहा छ । तर यसकाे बदलामा युक्रेनलाई अन्य महत्वपूर्ण सहयोग मिल्ने अपेक्षा पनि गरिएको छ ।

मंगलबार जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री यर्माकले नो फ्लाइ जोनको विकल्पहरू अगाडि ल्याए ।

‘नो फ्लाई जोन लागू गर्नुहोस् वा हामीलाई भरपर्दो वायु रक्षा प्रणाली दिनुहोस्’ उनले भनेका थिए । अहिले युक्रेनको हवाई प्रतिरक्षा सुधार गर्ने प्रयासहरू गरिँदै छ र अमेरिकाले कथित रूपमा पुरानो तर अझै प्रभावकारी सोभियत निर्मित उपकरण युक्रेनलाई पठाउन विचार गरिरहेको छ ।