NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

दोस्रो खेलमा पनि नेपाल पराजित, पाहुना टोली पिएनजीको ‘क्लिन स्विप’

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) विरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा घरेलु टोली नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ ।

आज काठमाडौंको कीर्तिपुरमा भएको खेलमा नेपाल पिएनजीसँग ३ विकेटको झिनो अन्तरले पराजित भएको हो ।

यससँगै टोली पिएनजीले नेपालविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट सिरिजमा २ ० को जित निकाल्दै क्लिन स्विप गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा पिएनजीले नेपाललाई ६ रनले हराएको थियो ।

आज नेपालले दिएको २७९ रनको लक्ष्य पिएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका सोमपाल कामीले ३, पवन सर्राफले २ तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १÷१ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनाएको थियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक १०५ रनको शतकीय इनिङ खेले । उनी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने । तर, नेपाललाई जित भने दिलाउन सकेनन् ।

तेस्रो नम्बरमा आएका देव खनालले ७२, रोहित पौडेलले ३५, भीम सार्कीले २६ र कप्तान सन्दीप लामिछानेले २४ रन बनाए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा नेपालले जित निकाल्न सकेन ।