NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आणविक प्लान्ट रहेकाे चेर्नोबिलमा रुस गैर-जिम्मेवार बन्योः युक्रेन

काठमाडौं । युक्रेनका उप-प्रधानमन्त्री इरिना भेरेश्चुकले रुसले चेर्नोबिलको पावर स्टेशनमा गैर जिम्मेवारी व्यवहार गरेको आरोप लगाएकी छन् ।

चेर्नोबिल विश्वको सबैभन्दा खराब आणविक दुर्घटनाको साक्षी रहेको छ ।

२४ फेब्रुअरीमा युक्रेनमा हमला गरेलगत्तै रुसले यो आणविक प्लान्ट कब्जा गरेको थियो । भेरेश्चुकले रुसले चेर्नोबिलमा भारी सैन्य उपकरण जम्मा गरेर खतरनाक आणविक दुर्घटना भएको ठाउँलाई अझ खतरनाक बनाएको बताइन् ।

उनले रुसलाई आणविक ऊर्जा केन्द्रमा अग्नि नियन्त्रकहरूलाई आगो निभाउन नदिएको आरोप पनि लगाएकी छन् ।

‘आणविक सुरक्षाको सन्दर्भमा यो अव्यवसायिक र गैरजिम्मेवार व्यवहार हो, जसले युक्रेन मात्र होइन लाखौं युरोपेलीहरूको जीवनलाई गम्भीर रूपमा खतरामा पार्न सक्छ,’ उनले भनेकी छन् । यसैबीच एक स्थानीय युक्रेनी अधिकारीले रुसी सेनाले चेर्नोबिल नजिकैको एउटा सानो सहर छोडेको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार स्थानीय मेयर युरी फोमिचेफले एक भिडियो सन्देशमा रुसी सेनाले स्लाभच छोडेको बताएका छन् ।

सन् १९८६ मा चेर्नोबिलमा भयानक आणविक दुर्घटना भएपछि त्यहाँ काम गर्ने मानिसहरूलाई स्लाभचमा पुनर्वास गरिएको थियो ।