NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

पोखरा महानगरको मेयरका लागि राष्ट्रपतिकी मितिनीदेखि मन्त्रीसम्मको दौडधुप, माओवादीमा चर्को विवाद

काठमाडाैं । स्थानीय तह चुनावको मिति नजिकिँदै गर्दा पोखरा महानगरमा पनि उम्मेदवारबारे चर्चा हुन थालेको छ । अहिले राजनीतिक दलहरूले टोल भेला गर्नुका साथै गाउँ तथा नगरमा कार्यकर्ताबीच छलफल गरिरहेका छन् । क्षेत्रफलका हिसाबले देशकै ठूलो स्थानीय तह पोखरा महानगरमा मुख्यतः एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिन्छ ।

एमालेको संगठन बलियो रहेकाले कांग्रेस एक्लै भन्दा पनि सत्ता गठबन्धनकारी दलसँग मिलेर चुनावमा जाने रणनीतिमा छ । महानगरको मेयरका लागि दर्जनौँ नेताले दाबेदारी गरिरहेका छन् । केहीले पार्टीभित्र आन्तरिक लबिङ गरिरहेका छन् भने केहीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा नै गरेका छन् । मेयरका लागि बहालवाला मन्त्रीदेखि प्रदेश सांसद तथा व्यवसायीसमेत आकांक्षी देखिएका छन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेकी गुरुङ राष्ट्रपति भण्डारीकी मितिनी हुन् । त्यतिबेला पनि राष्ट्रपतिकै जोडबलमा उम्मेदवार बनाइएको चर्चा चलेको थियो । यसपटक पनि उनलाई मेयरको उम्मेदवार बनाउन राष्ट्रपतिबाटै दबाब हुने पोखराका एमाले कार्यकर्ताबीच चर्चा चल्न थालेको छ ।

एमालेबाट मेयरका आकांक्षी

महानगरका अहिलेका मेयर मानबहादुर जिसीले फेरि नउठ्ने सन्देश पठाइसकेका छन् । अघिल्लो चुनावमा गठबन्धनका उम्मेदवारलाई भारी मतले पराजित गरेका जिसीले स्वास्थ्य समस्याका कारण फेरि नउठ्ने बताएको उनीनिकट नेताहरूको भनाइ छ । त्यसैले अब एमालेबाट को उम्मेदवार बन्ला भनेर चासोका साथ हेरिएको छ । को–को छन् त एमालेबाट मेयरका आकांक्षी हेरौँ–

मञ्जुदेवी गुरुङ

एमालेबाट मञ्जुदेवी गुरुङ पोखरा महानगरको मेयरका लागि प्रमुख दाबेदार हुन् । हाल उपमेयर रहेका कारण पनि गुरुङलाई मुख्य दाबेदार मानिएको छ । उनी अघिल्लो निर्वाचनमै पनि सामान्य आकलनभन्दा बाहिरबाट आएकी थिइन् । एमालेले आन्तरिक प्रतिस्पर्धा गरेर उम्मेदवारको सिफारिस केन्द्रमा पठाएको थियो । तत्कालीन समयमा प्रभा कोइरालाले सबैभन्दा बढी मत ल्याएकी थिइन्, तर कोइरालाको सट्टा गुरुङले टिकट पाइन् । त्यसको कारण उनको राष्ट्रपति विद्यादेवी भण्डारीसँगको सम्बन्धलाई लिइन्छ ।

एमाले केन्द्रीय सदस्यसमेत रहेकी गुरुङ राष्ट्रपति भण्डारीकी मितिनी हुन् । त्यतिबेला पनि राष्ट्रपतिकै जोडबलमा उम्मेदवार बनाइएको चर्चा चलेको थियो । यसपटक पनि उनलाई मेयरको उम्मेदवार बनाउन राष्ट्रपतिबाटै दबाब हुने पोखराका एमाले कार्यकर्ताबीच चर्चा चल्न थालेको छ । गत निर्वाचनमा उनी कांग्रेसकी सरस्वती गुरुङलाई १२ हजार एक सय १० मतले हराएर उपमेयर बनेकी थिइन् ।

कृष्ण थापा

गण्डकी प्रदेशका एमाले सांसद कृष्ण थापा ०५४ सालमा पनि पोखरा उपमहानगरपालिकाको मेयर भइसकेका व्यक्ति हुन् । संविधानसभा निर्वाचनमा कास्की २ बाट कांग्रेसकी शारदा पौडेलसँग पराजित भएका थापा पछि प्रदेश सांसद निर्वाचित भएका थिए । उनी प्रदेश छाडेर फेरि स्थानीय तहमा जाने योजनामा छन् । त्यसैले यसपटक महानगरपालिकाको मेयरमा थापाले दाबी गरेका छन् । सांसद थापा भन्छन्, ‘मेरो आकांक्षाभन्दा पनि पोखरेलीले नै अब तपाईं आउनुपर्छ भन्नुभएको छ । पार्टीले टिकट दियो भने अगाडि सर्छु ।’ थापा एमाले केन्द्रीय सदस्य पनि हुन् ।

एमालेबाट अन्य आकांक्षी को–को ?

एमालेबाट अन्य धेरैजना मेयरका आकांक्षी छन् । होटेल व्यवसायीसमेत रहेका भरत पहारी, पुष्प अधिकारी, दीपक पौडेल, भीम कार्कीसहित प्रदेश सांसद राजीव पहारी पनि मेयरको चर्चामा छन् । कार्की एमाले केन्द्रीय सदस्य र कास्की जिल्ला इन्चार्ज हुन् । युवा संघको राजनीतिबाट आएका पहारी पनि एमाले केन्द्रीय सदस्य छन् ।

रूपाकोट रिसोर्टका सञ्चालक पुष्पले फागुन २३ गते केपी ओली पोखरा जाँदा आफ्नै रिसोर्टमा राखेका थिए । त्यहाँ उनले पोखरा बनाउने आफ्नो भिजनको भिडियो प्रिजेन्टेसन नै गरेर टिकटको दाबेदारी पेस गरेको चर्चा चलेको थियो । यसबाहेक प्रदेशका उपसचिव रहेका रश्मि आचार्य र वडाध्यक्षसमेत रहेका एमाले जिल्ला उपसचिव दर्शन लामाले पनि मेयरमा आकांक्षा राखेका छन् ।

मेयरमा कांग्रेसका आकांक्षी

कांग्रेसबाट यसअघि मेयरका उम्मेदवार रहेका रामजी कँुवरको निधन भएको छ । त्यसैले अबको चुनावमा मेयरमा टिकटका लागि कांग्रेसमा पनि दौडधुप चलिरहेको छ । गठबन्धन बन्दा चुनाव जित्न सकिने आकलनसहित नेताहरू नेतृत्व रिझाउन लागिरहेका छन् ।

सरस्वती गुरुङ

यसअघि उपमेयरमा पराजित सरस्वती गुरुङ अहिले कांग्रेसबाट मेयरका लागि प्रमुख दाबेदार हुन् । सभापति शेरबहादुर देउवानिकट मानिने गुरुङले मेयरको टिकटका लागि दौडधुप गरिरहेकी छिन् । चुनावमा हारेपछि पनि स्थानीय स्तरमा पार्टी काममा खटिइरहेकाले पनि उनीप्रति कार्यकर्ताको समर्थन देखिन्छ ।

कांग्रेसबाट हाल गण्डकी प्रदेशका सञ्चार तथा कानुनमन्त्री रहेका विन्दुकुमार थापाले पनि मेयरमा दाबेदारी पेस गरेका छन् । ‘मन्त्रीबाटै राजीनामा दिएर चुनाव लड्ने कुरा त्यति राम्रो त नहोला, तर पार्टीले उपयुक्त ठान्यो भने मेयरको आकांक्षी हुँ,’ उनले भने ।

पोखरामा गुरुङ समुदायको बाक्लो बसोवास रहेकाले पनि सरस्वतीको दाबेदारी कांग्रेसमा मजबुत देखिन्छ । गत निर्वाचनमा उनी एमालेकी मञ्जुदेवी गुरुङसँग १२ हजार एक सय १० को मतान्तरले पराजित भएकी थिइन् । ‘टिकटका लागि सबैले प्रयास गर्छन् र गर्नुपर्छ । उपमेयरमा पराजित भए पनि मैले सक्रियता छोडेको छैन,’ उनले भनिन्, ‘महिला पनि मेयर बन्न सक्छन् भन्ने उदाहरण पेस गर्न मन छ ।’

विन्दुकुमार थापा

कांग्रेसबाट हाल गण्डकी प्रदेशका सञ्चार तथा कानुनमन्त्री रहेका विन्दुकुमार थापाले पनि मेयरमा दाबेदारी पेस गरेका छन् । ‘मन्त्रीबाटै राजीनामा दिएर चुनाव लड्ने कुरा त्यति राम्रो त नहोला, तर पार्टीले उपयुक्त ठान्यो भने मेयरको आकांक्षी हुँ,’ उनले भने । उनले मेयरकै तयारीस्वरूप स्थानीय स्तरमा आफ्ना गतिविधि तीव्र पारेका छन् ।

व्यावसायिक पृष्ठभूमिका थापा गत निर्वाचनबाट कांग्रेसमा खुलेका थिए । उनलाई कांग्रेसबाट बलियो उम्मेदवारका रूपमा पनि हेरिएको छ । तर, मन्त्री नै छाडेर उम्मेदवार बनाउँदा गतिलो सन्देश नजाने भन्दै केहीले विरोध पनि गरेका छन् । ०७४ को प्रदेश सभा निर्वाचनमा उनी कास्की क्षेत्र नम्बर २ बाट माओवादीका राजकाजी गुरुङलाई हराउँदै प्रदेश सांसद बनेका थिए ।

कांग्रेसका अन्य आकांक्षी

भर्खरै कांग्रेस छिरेका व्यवसायी गणेशबहादुर भट्टराई, निवर्तमान जिल्ला सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा र महादेव गुरुङ, नेता वीरेन्द्रनारायण बिजुक्छे, पत्रकार गंगाधर पराजुलीलगायतले पनि कांग्रेसबाट मेयरमा दाबी गरिरहेका छन् । त्यसबाहेक बाबुराम आचार्य, बाबुराम गिरीको नाम पनि चर्चामा छ । कास्की कांग्रेसका निवर्तमान सभापति केसी जनतामाझ परिचित र राजीतिमा निकै सक्रिय छन् । प्रदेश अधिवेशनमा महामन्त्रीको इच्छा देखाए पनि उनी पछि हटेका थिए ।

बिजुक्छे विद्यार्थी राजनीति हुँदै कास्की कांग्रेसको जिल्ला सदस्य र ०५४ मा कांग्रेसको तर्फबाट वडानम्बर ८ को वडाध्यक्षमा निर्वाचित भएका थिए । बाबुराम आचार्य अहिले कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । नेपाल सरकारका पूर्वसचिव आचार्य अवकाशपछि कांग्रेस राजनीतिमा सक्रिय छन् ।

गिरी व्यवसायी हुन् । उनी लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् । गंगाधर पराजुली पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् ।

माओवादीका दाबेदार

माओवादीबाट विश्वप्रकाश लामिछाने, बखानसिंह गुरुङ, हरिनारायण गिरी र गोमा ढकालको नाम चर्चामा छ । महानगर कमिटीबाट भर्खरै सम्पन्न अधिवेशनमा निवर्तमान अध्यक्ष बनेका लामिछाने अहिले माओवादी प्रदेश सदस्य छन् । गुरुङ माओवादी कास्की जिल्ला अध्यक्ष हुन् । जनयुद्धदेखि माओवादीमा लागेका गुरुङ संविधानसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, माओवादीको महानगर कमिटीमा तीव्र विवाद भइरहेकाले उम्मेदवारी पनि ओझेलमा परेको छ । पोखरा महानगर कमिटीमा एकले अर्काको अस्तित्व नै स्वीकार नगर्ने अवस्था छ ।

एकीकृत समाजवादीको स्थानीय कमिटीले भागबन्डामा देशभरका महानगरमध्ये रोज्न परेमा पोखरालाई रोज्न केन्द्रीय नेतृत्वलाई दबाब दिइरहेको छ । माओवादीले उपमेयर पाउने सम्भावना छ ।

महानगर कमिटीको पदाधिकारीलाई अस्वीकार गर्दै बहुमत सदस्यले हस्ताक्षर गरेर केन्द्रदेखि प्रदेशसम्म पत्र नै बुझाएका छन् । पोखरा महानगरमा मुख्यतः केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ र केन्द्रीय सदस्य तथा पोखरा महानगर इन्चार्ज दीपक कोइरालाबीच प्रतिष्ठाको लडाइँ देखिएको छ । कोइराला समूहले हरिनारायण गिरीलाई महानगरको अध्यक्ष बनाएको छ । तर, त्यसलाई बहुमत सदस्यले स्वीकार गरेका छैनन् । पोखरामा सत्तागठबन्धनबीच तालमेल नभए लामिछाने नै माओवादीबाट मेयरको उम्मेदवार हुने सम्भावना छ ।

एकीकृत समाजवादीबाट को–को छन् दाबेदार ?

एकीकृत समाजवादीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्य मेयरका दाबेदार हुन् । गठबन्धनमा सहमति भएमा उनी समाजवादीबाट मेयर पदका लागि सम्भावित एक मात्र उम्मेदवार हुन् । उनी एमालेको राजनीतिमा सक्रिय थिए । पार्टी फुटेपछि उनी एकीकृत समाजवादीको जिल्ला नेतृत्वमा आएका हुन् । ०७४ को चुनावमा पनि एमालेबाट उनको नाम चर्चामा थियो ।

तालमेल भए कसले के पाउला ?

चुनावी तालमेल भएमा कांग्रेसले मेयर पद पाउने सम्भावना बढी छ । गठबन्धनका दलमध्ये कांग्रेस सबैभन्दा बलियो पार्टी हो । अन्य दलले सहयोग गर्दा कांग्रेस उम्मेदवार मजबुत हुनेछन् ।

त्यसो त एकीकृत समाजवादीको स्थानीय कमिटीले भागबन्डामा देशभरका महानगरमध्ये रोज्न परेमा पोखरालाई रोज्न केन्द्रीय नेतृत्वलाई दबाब दिइरहेको छ । माओवादीले उपमेयर पाउने सम्भावना छ ।

कांग्रेसले मेयरको पद नपाए गठबन्धनमा स्थानीय स्तरमा बागी उम्मेदवार पनि उठ्न सक्ने सम्भावना नकार्न सकिन्न । यसअघिको स्थानीय तह निर्वाचनमा कांग्रेस र माओबादीबीच मेयर र उपमयेरमा चुनावी तालमेल भए पनि कांग्रेसको स्थानीय स्तरमा सहमति नहुँदा कांग्रेसले उपमेयरमा पनि उम्मेदवारी दिएको थियो ।