NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

माओवादीले जितेको धुर्कोट गाउँपालिकाको विकासमा विपक्षी एमालेबाट प्रशंसा

विकासमा यसरी मार्‍यो फड्को

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा गुल्मीको धुर्कोट गाउँपालिका उत्कृष्ट पाँचभित्र परेको छ । सय पूर्णांकमा यो गाउँपालिका ७६ दशमलव ५४ अंक पाएर उत्कृष्ट पाँचमा परेको हो । कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट पाँचभित्र गाउँपालिका मात्रै छन् ।

गत चुनावमा यो गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेस मिलेर चुनाव लडेका थिए । अध्यक्षमा माओवादीका भूपाल पोखरेल र उपाध्यक्षमा कांग्रेसका शिवबहादुर खत्री निर्वाचित भएका थिए । गुल्मीको विकट मानिने धुर्कोट गाउँपालिकाले यो पाँच वर्षमा के–के काम गर्यो त ? जसले यसलाई उत्कृष्ट हुन सहयोग गर्यो । हेरौँ–

धुर्कोट गाउँपालिकाले गरेका राम्रा काम

– निर्वाचित भइसकेपछि सरोकारवाला निकायसँगको समन्वयमा पाँच वर्षीय आवधिक योजना निर्माण
– योजनामा आर्थिक विकास, सामाजिक विकास र पूर्वाधार विकास मुख्य प्राथमिकता
– स्थानीय सरकार सञ्चालन ऐन र स्थानीय सरकारलाई संविधानले दिएको २२ वटा एकल अधिकारअन्तर्गत रहेर समय अवधिभित्र आवधिक योजनाको काम सम्पन्न
– समयमा बजेट प्रस्तुत र कार्यान्वयन, लेखापरीक्षण, सुशासन, पारदर्शिता तथा प्रविधिको प्रयोग
– सेवा प्रवाहमा चुस्तता, विकास आयोजनामा पनि छिटो–छरितो काम
– कृषक दर्ता कार्यक्रम सञ्चालन, कृषि तथा पशुपक्षीसम्बन्धी तथ्यांक अद्यावधिक
– बाख्राको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन
– कृषि र पशुपालनमा उत्पादनमा आधारित अनुदान वितरण, बाँझो जमिन जोत्नेलाई पनि अनुदान, कृषि प्रविधि र सिँचाइमा अनुदान
– खसी र बोकाको मासुमा आत्मनिर्भर गाउँपालिका घोषणा, दूध र अन्डा उत्पादनमा आगामी दुई वर्षभित्र आत्मनिर्भर हुने लक्ष्य
– सामुदायिक विद्यालयको गुणस्तर विकासका लागि तालिमको व्यवस्था, भौतिक संरचना, शौचालय, खानेपानी व्यवस्थापन
– सरकारी स्कुलमा पाँच कक्षामुनि पढ्ने सबै बालबालिकालाई खाजाको व्यवस्था
– गाउँपालिकाको आफ्नै भवन निर्माण
– गाउँपालिकाका सातवटै वडाका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर, २४ सै घन्टा प्रसूति सेवा सञ्चालन
– ६ वटा वडामा एम्बुलेन्स सञ्चालन, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य सेवाको उपलब्धता
– मुख्य समस्याका रूपमा रहेको खानेपानीको उपलब्धता, लिफ्टिङ आयोजनामार्फत ३५ सय घरपरिवारमा पिउने पानी वितरण

गर्न नसकेका काम

– अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन सकेको छैन
– पालिकभित्रका सडक र बाटोको मर्मत भएको छैन
– सिँचाइका लागि पानी पु¥याउन सकिएको छैन
– निर्माण सम्पन्न भइसकेको कोल्डस्टोर प्राविधिक कारणले सञ्चालनमा आउन सकेको छैन
– फोहोरमैला व्यवस्थापन गर्ने भनेर गाडी किनिए पनि प्रशोधनको काम सुरु भएन, फोहोर नै अभाव रहेको गाउँपालिकाको तर्क

आम नागरिकको नजरमा गाउँपालिकाको काम

घोषणापत्र र जनप्रतिनिधिका भनाइ विश्वास नगरेका गाउँका बासिन्दा अहिले सन्तुष्ट देखिन्छन् । विदेश पलायन भएका कतिपय युवा पनि गाउँ फर्कंदै छन् । गाउँमै कृषि उद्योग र पक्की सडक पु र्‍ याउन सके सहर पसेका ४० प्रतिशत युवालाई गाउँ फर्काउन सकिने निष्कर्ष निकालिएको छ । गाउँपालिकाका ८० प्रतिशत नागरिक जनप्रतिनिधिको कामबाट सन्तुष्ट देखिन्छन् ।

सुशासनमा गाउँपालिकाको अवस्था

गाउँपालिकाले गर्ने प्रत्येक कामको विवरण सर्वसाधारणले जानकारी लिन सक्ने गरी सार्वजनिक गर्ने गरिएको छ । तीन–तीन महिनामा पुस्तकमार्फत गाउँपालिकाको गतिविधि सार्वजनिक गरिन्छ । सूचना अधिकारीले नागरिकले मागेका सूचना उपलब्ध गराउने र गाउँपालिकाले दिने सेवाका विषयमा आवश्यक परेका व्यक्तिलाई जानकारी दिने गरेका छन् । बोलपत्र आह्वान, उजुरीपेटिका, नागरिक वडापत्र, न्यायिक समितिका मुद्दा छिटो मिलाउनेदेखि हरेक सूचना पनि गाउँपालिकाको वेबसाइटमा राख्ने गरिएको छ । अनलाइन प्रणालीबाट सेवा विस्तार गरिएको छ । राजस्व तथा घटना दर्ता पनि अनलाइनबाटै गर्न सकिन्छ ।

अध्यक्ष–उपाध्यक्षको सम्बन्ध

काम र समन्वयका हिसाबमा सम्बन्ध राम्रो छ । एकाध पटक बाहेक हरेक काममा अध्यक्ष र उपाध्यक्षको समान राय देखिन्छ । राय नमिलेको विषयमा संवादद्वारा मिलापत्र गर्ने गरिएको छ । फरक–फरक दलका भए पनि अध्यक्ष र उपाध्यक्षबीच काममा समन्वय देखिन्छ ।

बजेटको अवस्था

यो गाउँपालिकाको बजेट ५० करोड हाराहारी छ । त्यसमध्ये आधाभन्दा बढी चालू खर्च हुने गरेको छ । गाउँपालिकाको पुँजीगत बजेटमध्ये ८५ प्रतिशतभन्दा धेरै खर्च हुने गरेको छ । बजेटको प्राथमिकतामा विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र खानेपानी छन् । गाउँपालिकाका घरबाट खरको छाना विस्थापित गरी जस्तापाता लगाउने काम सम्पन्न भएको छ । गाउँपालिकाको आन्तरिक स्रोत कमजोर छ । कार्यालयको सेवा दस्तुर, सवारी कर, व्यवसाय कर, दर्ता, नवीकरणजस्ता शीर्षकमा वार्षिक रूपमा ४०–४२ लाख मात्रै उठ्ने गरेको छ ।

अध्यक्ष र उपाध्यक्ष कामप्रति सन्तुष्ट
अध्यक्ष : भूपाल पोखरेल

पहिलोपटक जनप्रतिनिधि भएर आउँदा तहको संरचना थिएन । सबैभन्दा पहिले त भौतिक संरचनाको विकासका लागि धेरै बजेट खर्च भयो । कर्मचारी व्यवस्थापनदेखि ऐन, नियम, कानुनका विषयमा जानकार हुन समय लाग्यो । तैपनि गाउँपालिकाको दीर्घकालीन विकासका लागि सबैसँग समन्वय गरेर अगाडि बढ्यौँ । विश्वभरि महामारीको रूपमा देखा परेको कोभिड– १९ का कारण आर्थिक, सामाजिक, विकास निर्माणलगायत सबै क्षेत्रमा असर प¥यो । स्थानीय बासिन्दा तथा राजनीतिक दलको पनि सहयोग भएकाले धेरै काम गर्न सक्यौँ । चुनावअघि भनेका तर नगरेको एउटा पनि काम छैन । सबै सुरु गरेका छौँ । पूर्वाधार निर्माण, खानेपानी, स्वास्थ्य सेवा, सडक निर्माणको क्षेत्रमा फड्को मारेका छौँ ।

उपाध्यक्ष : शिवबहादुर खत्री

पहिलो कार्यकाल र नयाँ संरचना भएकाले सुरुवातमा केही अप्ठेरो भयो । तर, पछि हामीले धेरै राम्रो कामको सुरुवात गरेका छौँ । मुख्य कुरा गाउँपालिकाले गर्ने हरेक निर्णयमा स्थानीय बासिन्दासँग समन्वय गरेर हामी अगाडि बढ्न सक्यौँ । राजनीतिक एजेन्डाभन्दा पनि स्थानीय तहको विकासमा हामी प्रतिबद्ध भएर लाग्यौँ ।

दलहरूको नजरमा गाउँपालिकाको काम

कृष्ण घिमिरे, एमाले– गाउँपालिकाले सोचेभन्दा राम्रो काम गरेकै हो । तर, राजनीतिक दलका प्रतिनिधिसँग अलिक समन्वय भएन । कांग्रेस र माओवादीले धेरै प्राथमिकता पाए कि भन्ने आरोप लागेको छ । युवा अध्यक्ष भएकाले पनि धेरै राम्रा कामको सुरुवात भएको छ ।

महेन्द्र भण्डारी, कांग्रेस– धुर्कोट सुन्दर र शिक्षित गाउँपालिका हो । यहाँ गर्न सक्ने धेरै काम थिए । तीमध्ये धेरै राम्रा काम भएका पनि छन् । उपाध्यक्ष हाम्रै पार्टीको भएर पनि होला विकास निर्माणमा सबैको सहयोग मिल्यो ।