NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
प्रसंग

समकक्षी नै बर्खास्त भएको प्रधानमन्त्रीको त्यो भ्रमण

भट्टराईलाई सुनको पानदानी, प्रचण्ड लल्याकलुलुक

काठमाडौं । राष्ट्र प्रमुख, प्रधानमन्त्रीकाे विदेश भ्रमणको मुख्य उद्देश्य हो, कूटनीतिक सम्बन्ध मजबुत पारेर द्विपक्षीय हित प्रवद्र्धन गर्नु । यसका निम्ति नेपालका राष्ट्र प्रमुख, प्रधानमन्त्रीले विगतदेखि नै विदेश भ्रमण गर्दै आएका छन् । यसको आफ्नै लामो इतिहास छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारबाट थालेको भारत भ्रमण त्यसकै पछिल्लो कडी हो ।

प्रधानमन्त्री देउवा आफ्नो भ्रमण सफल बनाउन भगिरथ प्रयत्नमा छन् । राष्ट्र प्रमुख, प्रधानमन्त्रीबाट  हुने सबै भ्रमण सफल अनि यादगरचाहिँ हुँदैनन् । कतिपयचाहिँ यस्ता हुन्छन्, जुन वर्षौं बितिसक्दा पनि ताजै लागिरहन्छन् ।

निम्तो गर्ने समकक्षी नै बर्खास्त भएपछि…

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा देशमा पहिलो पटक कम्युनिस्ट सरकार बनेको थियो । यो सरकारले निकै जनप्रिय कामको श्रीगणेश गरेको थियो । तर एक वर्षसमेत पूरा गर्न नपाई ९ महिनामै यो ढल्यो ।

अधिकारीको सरकार ढलेपछि नयाँ सरकार गठनको सरगर्मी सुरु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गरेपछि सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवा २०५२ भदौ २६ मा प्रधानमन्त्री बने । ज्योतिषीले सात पटक प्रधानमन्त्री हुने भविष्यवाणीले पुलकित  भएर पाँचौं पटक सत्ताको नेतृत्व सम्हालेका देउवाको प्रधानमन्त्रीमा यो पहिलो इन्ट्री थियो ।

योपालि देउवाले विभिन्न देशको भ्रमण गर्ने अवसर पाएका थिए । यो क्रममा उनलाई पाकिस्तानी समकक्षीबाट समेत भ्रमणको निम्तो आएको थियो ।  तर त्यो भ्रमण निकै दुःखद् र अनपेक्षित रह्यो । जसलाई अहिलेसम्म पनि कूटनीतिक वृत्तमा चर्चा गर्ने गरिन्छ ।

त्यो समय बेनजिर भुट्टो पाकिस्तानमा प्रधानमन्त्री थिइन् । भुट्टोले नेपाली समकक्षी देउवालाई पाकिस्तान भ्रमणको निम्तो दिइन् ।

मित्र राष्ट्रबाट भ्रमणका निम्ति आमन्त्रण भएकाले देउवा नजाने कुरै थिएन । देउवा सन् १९९६ नोभेम्बर १ का दिन एक प्रतिनिधिमण्डलको नेतृत्व गरेर पाकिस्तान उडे । त्यहाँ उनी ५ तारिखसम्म रहने कार्यक्रम पहिले नै तय भइसकेको थियो ।

भ्रमणको दौरानमा देउवाले विभिन्न राजनीतिक भेटघाटका साथै राष्ट्रपतिलाई भेटे । विभिन्न स्थानहरूको अवलोकन गरे । पाकिस्तान पुगेको तीन दिनपछि देउवाको टोली विशेष विमानद्वारा लाहोरबाट कराँची पुगेको थियो । त्यहाँ क्वायदे आजम बजारसँगै आर्थिक तथा व्यापारिक केन्द्रको अवलोकन गरेका उनी साँझ सिन्ध प्रान्तका गभर्नरद्वारा आयोजित रात्रिभोजमा सरिक भएका थिए । त्यो रात देउवाको बसोबासको प्रबन्धचाहिँ सरकारी अतिथि गृहमा मिलाइको थियो ।

पाकिस्तानको मेजमानी खाएर सुतेका देउवा बिहान ब्युझँदा झलमल्ल घाम लागिसकेको थियो । तर त्यहाँको राजनीतिमा भने अँध्यारो बादल मडारिरहेको थियो । सडकमा सैनिकका बख्तरबन्द गाडी दौडिरहेका थिए । यी सबै गतिविधि देखेपछि बल्ल देउवाले पाकिस्तानका तत्कालीन राष्ट्रपति फारुक अहमद लेघारीले भुट्टोलाई बर्खास्त गरी मुलुकको कार्यकारी अधिकार आफ्नै हातमा लिएको चाल पाएका थिए । भ्रमणको दौरानमा लेघारीले देउवालाई पनि भेटेका थिए । सो क्रममा देउवाले तत्कालीन राजा वीरेन्द्रको पत्र उनलाई हस्तान्तरण गरेका थिए । तर लेघारी शासन सत्ता हत्याउन कति आतुर देखिए भने विदेशी देशको विशिष्ट अतिथि भ्रमणमा रहेकै बेला राजनीतिक ‘कू’ गरिदिए ।

भोलिपल्ट देउवालाई पञ्जाब प्रान्तका गभर्नर तथा मुख्य मन्त्रीले बिदाइ गर्ने कार्यक्रम थियो । तर ती कोही पनि नेपाली टोलीको बिदाइमा सरिक भएनन् । त्यहाँको सुरक्षा तथा विदेश मन्त्रालयका अधिकारीले सामान्य औपचारिकता निर्वाह गरेर देउवालगायतको टोलीलाई बिदाई गरेको थियो ।
पाकिस्तानी राजनीतिको कोपभाजनमा परेकी भुट्टोले पछि ८ वर्ष विदेशमै निर्वासित जीवन बिताइन् । पाकिस्तानी पिपुल्स पार्टीको अध्यक्षसमेत रहेकी उनको सन् २००७ को डिसेम्बर २७ मा बम आक्रमण गरी मृत्यु भइसकेको छ । जतिबेला उनी ५४ वर्षकी थिइन् ।

क्रान्तिकारी प्रचण्ड लल्याकलुलुक

०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो दल बन्यो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले केही ढिलो गरी सत्ता प्रचण्डलाई हस्तान्तरण गरे । उनी गणतन्त्र स्थापनापछिको पहिलो प्रधानमन्त्री बने ।

विद्रोही नेता प्रधानमन्त्री बनेकाले प्रचण्डप्रति देशभित्र मात्रै होइन विदेशमा समेत एक किसिमको चासो थियो ।  यो क्रममा विभिन्न मुलुकबाट उनलाई भ्रमणको निम्तो आयो । यसरी निम्तो पठाउनेको अग्रपंक्तिमा थियो, छिमेकी मुलुक भारत । भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले प्रचण्डलाई पठाएको बधाई सन्देशमा अनुकूल हुनेगरी सकेसम्म छिटो भारतमा स्वागत गर्न पाए आफू खुशी हुने उल्लेख गरेका थिए।

नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण भारतबाट हुने प्रचलन अद्यपि कायम नै छ । तथापि, यसमा केही तलमाथि नभएको चाहिँ होइन । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी झण्डै तीन दशकअघि पहिलो विदेश भ्रमणका लागि एउटा राष्ट्रसंघीय सम्मेलनमा भाग लिन डेनमार्क गएका थिए । तर नेपालका कुनै पनि सरकार प्रमुख आफ्नो पहिलो भ्रमणका निम्ति उत्तरी छिमेकी चीन भने गएका थिएनन् । तर भर्खरै शान्ति प्रक्रियामा आएका प्रचण्डले त्यसलाई ब्रेक थ्रु गरेर चीन जाने निर्णय लिए । ओलम्पिक खेलकुदको समापन समारोहमा तत्कालीन राष्ट्रपति रामवरण यादव नजाने भएपछि उनले त्यहाँ सहभागी हुने तय गरेका थिए ।

प्रचण्ड त्यतिबेला आफूलाई बढी नै क्रान्तिकारी देखाउनु पर्ने दबाबमा थिए सायद । यही बाध्यतामा हुनुपर्छ उनले पशुपतिमा भारतीय भट्ट हटाउनेदेखि प्रधानसेनापतिमा कुलबहादुर खड्कालाई नियुक्त गर्नेसम्मका निर्णय लिए । तर उनी कतै पनि सफल भएनन् । जहाँ–जहाँ हात हाल्थे, त्यहीँ–त्यहीँ धक्का खान्थे ।

पहिलो औपचारिक भ्रमण भारतको नगरेर चीन गर्नु पहिले नै त्यसले तरंग ल्याइसकेको थियो । भारतले त कूटनीतिक च्यानलमार्फत प्रचण्डलाई रोक्ने प्रयास मात्र गरेको थिएन, असन्तुष्टि नै जायर गरेको थियो । तत्कालीन नेकपा (माओवादी) नेता सिपी गजुरेलले उतिबेलै बिबिसीका सुशील शर्मा (दिवंगत) लाई भनेका थिए–यत्ति छिट्टै चीनको भ्रमण नगरेको नै राम्रो हुन्थ्यो भन्ने सुझाव दक्षिणबाट आएको छ ।’

अहिले कहिले उता त कहिले यता गर्दै स्वार्थको रेटी सेक्न उद्यत प्रचण्ड उतिबेला भने गलेनन् । आफ्नो निर्णयमा अडिग रहे र चीन भ्रमणमा गई छाडे ।

नेपालको प्रधानमन्त्रीले पहिलो औपचारिक भ्रमण भारतबाट नै गर्नुपर्ने कुनै बाध्यकारी नियम थिएन । तर खै किन हो, चीनबाट फर्किएपछि प्रचण्डको क्रान्तिकारिता लल्याकलुलुक भयो । उनी भन्न थाले, चीनको भ्रमण अनौपचारिक हो । औपचारिक भ्रमण भारतबाट नै हुन्छ ।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रचण्डलाई भारत भ्रमणको निम्तो आएको थियो । चीनबाट फर्किएको केही समयपछि नै उनी भारत भ्रमणमा गए, जस क्रममा उनले भारतसँगको सम्बन्ध सुधारका निम्ति भरमग्दुर प्रयास गरेका थिए ।

प्रचण्डले गरेका मात्र होइनन्, अन्तिममा स्थगित गरेको एउटा भ्रमण पनि निकै चर्चामा रह्यो । भलै त्यतिबेला प्रचण्ड प्रधानमन्त्रीचाहिँ थिएनन् ।
सन् २०१६ को जुन मा प्रचण्डलाई अस्ट्रेलियास्थित पार्टीनिकट प्रवास संगठनबाट निमन्त्रण आयो । शुभेच्छुकको निम्तो आएकाले प्रचण्ड नजाने कुरै भएन । उनले २३ जुनका लागि भ्रमण तय गरे । सहयोगीले यसको सम्पूर्ण तारतम्य मिलाए । तर अन्तिम घडीमा प्रचण्ड अस्ट्रेलिया उडेनन् । निर्धारित कार्यक्रम नै रद्द गरे ।

प्रचण्डले एकाएक भ्रमण रद्द गरेपछि त्यतिबेला निकै सोधीखोजी भएको थियो । तर प्रचण्डले सहमतिको सरकार गठनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सुझावमा भ्रमण स्थगित भएको बताए । तर केही समयपछि अष्ट्रेलियाको एक टेलिभिजन च्यानलले निकै गम्भीर मामलाका कारण प्रचण्डले भ्रमण स्थगित गरेको खुलासा गर्यो । उक्त टेलिभिजनका अनुसार, त्यहाँ प्रचण्डका विरुद्ध द्वन्द्वकालीन मुद्दाको उजुरी परेको थियो । त्यतिबेला सार्वजनिक समाचारअनुसार उनलाई अस्ट्रेलियाले हिरासतमा लिनसक्ने आधार तयार भइसकेको थियो । यदि उनी त्यहाँ जान्थे भने पक्राउ पर्ने थिए । जसले अन्तर्राष्ट्रिय चर्चा त पाउने थियो नै, नेपालको शान्ति प्रक्रियामा समेत प्रभाव पर्ने थियो । तर समयमै त्यो सूचना चुहिएकाले कुनै अप्रिय घटना हुन भने पाएन ।
०००

सन्त नेतालाई सुनको पानदानी

कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएकै बेला भारत भ्रमणमा गएका थिए । यो ०५६ सालको कुरा हो । त्यसबेला त्यहाँ भाजपाका नेता अटल बिहारी बाजपेयी प्रधानमन्त्री थिए ।

नेपालका प्रधानमन्त्री किशुनजीसँग बाजपेयीको पहिल्यैदेखि घनिष्ठ मित्रता थियो । किशुनजी पानका अम्मली हुन् भन्ने बाजपेयीलाई थाहा नहुने कुरै भएन । उनले भारत भ्रमणका क्रममा किशुनजीलाई पान राख्ने बट्टा उपहार दिएका थिए । बट्टा चानचुने भने थिएन । सुनको थियो, जसको एकातिर पानको पात र अर्कोतिर मसला र सुपारी राख्ने कोठा थिए ।

यसरी नेपाली प्रधानमन्त्रीको अम्मलको समेत सम्मान गरेर उपहार दिने परम्परा थियो, नेपाल र भारतबीच ।

भारत भ्रमणबाट फर्केपछि भट्टराईले ‘म भारतमुखी हुँ’ भनेर भनिदिए । यसले निकै विवाद खडा गरेको थियो । तर, किशुनजीले हामी दक्षिण फर्किंदा हाम्रो मुख भारततिरै फर्कन्छ, अनि हामी भारतमुखी भएनौं त ? भन्दै हँसीमजाक गरेर यसलाई टारिदिएका थिए ।

त्यो पानदानीको प्रसंग यतिमै सकिँदैन । स्वदेश फर्किएपछि भट्टराईले एक दिन आफूनिकटका राजेन्द्र खरेललाई बोलाएर भने, ‘राजेन्द्र बाबु, तपाईं मसँगै धेरै वर्ष जेल बसेको । राजनीतिमा लागेर धेरै दुःख पाउनुभयो । तपाईंका लागि केही गर्न सकिनँ । यो एउटा उपहार छ, त्यही तपाईंलाई दिन्छु ।’
स्वदेश फर्किएपछि भट्टराईले एक दिन आफूनिकटका राजेन्द्र खरेललाई बोलाएर भने, ‘राजेन्द्र बाबु, तपाईं मसँगै धेरै वर्ष जेल बसेको । राजनीतिमा लागेर धेरै दुःख पाउनुभयो । तपाईंका लागि केही गर्न सकिनँ । यो एउटा उपहार छ, त्यही तपाईंलाई दिन्छु

भट्टराईबाट पान राख्ने स्वर्ण बट्टा उपहार पाउँदा राजेन्द्र खरेल औधी खुसी भए । तर, ६ महिनापछि उनले त्यो बट्टा भट्टराईलाई नै फिर्ता दिए । किन त ?

‘मेरा तीनजना छोरा छन् । म बाँचुञ्जेल त किशुनजीको उपहार सुरक्षित होला । तर मेरो शेषपछि तीन भाइ छोरामा त्यो पान राख्ने बट्टा कसले लिने भन्ने हानथाप होला । तीन टुक्रा पारेर लिए भने त झन् नराम्रो हुने भो । त्यसैले आमासँग सल्लाह गरेर त्यो बट्टा मैले भट्टराईलाई नै फिर्ता दिएँ,’ बानेश्वरका कांग्रेसका पुराना नेता खरेलले पंक्तिकारसँग कुनै बेला भनेका थिए ।

कुरा त्यत्तिमै टुंगिएन । प्रधानमन्त्री भट्टराईले पानको बट्टा क्याबिनेट बैठकमै प्रस्तुत गरे । भने, ‘राजेन्द्रलाई उपहार दिएको यो चिज उसले फर्कायो, यसलाई के गर्ने ?’ त्यसपछि त्यसलाई म्युजियमतिर राख्ने निर्णय भएको थियो ।

‘पछि किशुनजीले राजा वीरेन्द्रसँगको भेटमा हाम्रो पार्टीमा राजेन्द्र खरेलजस्ता मूर्खहरू छन्, जो सुनको उपहार पनि फर्काउँछन् भनेर भन्नुभएछ,’ खरेलले भनेका थिए ।

र, यो पनि

प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न यसपालि विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री आए । हुन त, राजकीय भ्रमणमा विमानस्थलमा आउने राष्ट्राध्यक्ष या सरकार प्रमुखलाई स्वागत गर्न विदेशमन्त्री जाने चलन छ । पक्कै, नेपाललाई भारतले आफ्नो सुरक्षा छाताभित्रै हेर्ने भएकाले रक्षा राज्यमन्त्री पठाएको हुनुपर्छ ।

भारतमा राज्यमन्त्रीहरूले त्यहाँका विभिन्न राज्य (प्रदेश) हरूको मामिला हेर्ने गर्छन् । कतै नेपाललाई पनि भारतले आफ्ना कुनै प्रान्तसरह ठानेको त होइन ? प्रश्न उठेको छ ।

जे होस्, २०६२ को आन्दोलनपछि प्रतिनिधिसभा पुनःस्थापनासँगै जब गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा गए, त्यतिबेला उनको स्वागत गर्न तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह नै विमानस्थल पुगेका थिए । मनमोहनले गिरिजाबाबुलाई ‘तपार्इं एसियाकै नेता हो’ भनेर उच्च सम्मान गरेका थिए । यस्तो सम्मान भारत भ्रमणका क्रममा कमै नेताले पाएका छन् ।

नेताको कद र ओजले पनि भूमिका निर्वाह गर्छ । एकातिर भारतका प्रधानमन्त्री नै स्वागत गर्न आउने गिरिजाबाबुको कद, अर्कोतिर भारत पुग्नासाथ भाजपा कार्यालयमा हाजीर बुझाउन गएझैं गर्ने शेरबहादुर । यस्ता घटनाहरुले पनि नेताहरुको विश्व छवि झल्काउँछ ।